सम्पादकीय

सम्पादकीय

सहिद मुकेश कायस्थप्रति हार्दिक श्रद्धाञ्जलि

इकागज |
वैशाख २८, २०८० बिहीबार १७:३२:२७ बजे

आज हाम्रा नेताहरू आलिशान महलमा बस्छन् । चिल्ला गाडी चढ्छन् । छोराछोरीलाई विदेश पढ्न पठाउँछन् । सरकारबाट तलब, भत्ता, सुविधा लिन्छन् । अनि माफिया र विदेशी दलालका एजेन्डालाई नीति, ऐन, नियमावली, कार्यविधि हुँदै कार्यान्वयन गराउँछन् । त्यसबापत भव्य रुपमा मोटो कमीसन हात पार्छन् । यो कुनै भाष्य होइन, यथार्थ हो । 

नक्कली भुटानी शरणार्थी प्रकरणले पनि दलका मुखियाहरूको वास्तविक छवि उतारिसकेको छ र अझै उतार्न बाँकी पनि छ । नेताहरूले अहिलेको यो आर्थिक, राजनीतिक र सामाजिक हैसियत त्यसै बनेको होइन । उनीहरुलाई सत्तामा पुर्‍याउन वीरगति प्राप्त गरेका सयौं सहिदहरुको बलिदानी छ । जुन कुरा सबैजसो राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले बिर्सिसकेका छन् ।


जनआन्दोलन, २०६२/६३ मा धेरै नेपालीहरुले शहादत प्राप्त गरे । त्यसमध्येका एकजना १४ वर्षीय किशोर मुकेश कायस्थ (जसलाई जीउँदो सहिदका रुपले पनि चिनिन्छ)को हिजाे साँझ निधन भयो । मुकेशजस्ता कयौं जीउँदा सहिद यद्यपि छ । माओवादीको कथित ‘जनयुद्ध’का घाइतेहरुमध्ये कतिपय अझै शरीरमा गोली लिएर बसेका छन् । उनीहरु पनि जीउँदो सहिद हुन् । दिवंगत भइसकेका सहिदको भावनाको कदर गर्ने भन्ने कुरा केवल गफ र सहिद दिवसमा नेताहरुले गाउने ओठेभक्तिसिवाह अरु हुन सकेको छैन । बनेपाचोकमा सुरक्षाकर्मीको गोली लागेर १७ वर्षदेखि जीवनसँग संघर्षरत मुकेशको देहावसानले तमाम ती सहिद र जनआन्दोलनका घाइते र उनीहरुका परिवारलाई एकपटक फेरि सम्झाएको छ ।

विश्वेश्वरप्रसाद कोइराला, पुष्पलाल श्रेष्ठजस्ता नेताहरूको सम्पूर्ण जीवन ‘प्रजातन्त्र’का लागि बित्यो । पञ्चायत र राजाको निरंकुशकालमा त्यो ‘प्रजातन्त्र’ कति दुर्लभ थियो। यसको पक्षमा लागेका राजनीतिक दलका नेता र कार्यकर्ताका उद्देश्य कति चोखा र पवित्र थिए । यसरी पटक–पटक बलिदानीपूर्ण संघर्षका गर्दै ल्याइएको लोकतन्त्र आज नेताहरूले लुटी खाने भाँडो बनाएका छन् । अनि मुकेश कायस्थहरुले आफ्नो शरीरमा धारण गरेको सरकारी गोली, उनीहरुको शहादतको अपमान हुन गएको छ । तैपनि हाम्रा नेताहरूलाई कुनै लाज, शरम छैन । केवल उद्देश्य छ-जसरी हुन्छ धन थुपार्ने ।

नेताहरूले जति ठग भए पनि, जनतालाई जति धोका दिए पनि, उनीहरूले भ्रष्टाचार गरेर जति सम्पत्ति कुम्ल्याए पनि आमनागरिकलाई लोकतन्त्र अझै प्यारो छ । त्यही भएर २०४६को आन्दोलनपछि गठित सरकारहरूले जुन हर्कत गरे, त्यसलाई समेत क्षमा दिएर जनताले अपहरित लोकतन्त्र पुनःबहाली गरेरै छाडे । त्यसका लागि सर्याैं नेपाली सहिद भए । उनीहरूको रगतमा नेताहरु सत्तामा पुगेर आफ्नो, आफ्ना शाखा सन्तानको आर्थिक र राजनीतिक स्वार्थ मात्र हेरे । मुकेशको निधनले यी दलका नेताहरूले आमनागरिकप्रति गरेको गद्दारीलाई पुनःस्मरण गराएको छ । 

गत मंसिर ४ मा सम्पन्न संघ र प्रदेशको निर्वाचनले यी दलहरूलाई सच्चिन भनेका थिए । आफ्नो क्षमता र हैसियत साँघुरो र ओह्रालो लाग्दै आए पनि यिनीहरु सच्चिने छाँटकाट छैन । अर्थात् जनताले अझै बढी दुःख पाउने निश्चित छ । जनताले अस्वीकार गरेका पात्रहरूलाई नै अनेक नाटक मञ्चन गर्दै सरकारमा सम्मिलित गराइए । तिनका विगतका कार्यशैली, पृष्ठभूमि सबै थाहा भएकै हो । त्यस्ता नालायकहरुलाई पुनः सरकारमा ल्याएर दलहरूले मुकेश कायस्थजस्ता सहिदहरूको अपमान गरी नै रह्यो । आज धेरै मुकेशहरूको बलिदानीले आफू धनाढ्य भएको, पार्टीको अध्यक्ष भएको, राजकाजमा हालीमुहाली चलाएको चाहिँ बिर्सिएका छन् । यिनीहरूको नियत यस्तै रहिरहने हो भने मुकेश कायस्थहरूको बलिदानीको अवश्य श्राप लाग्नेछ । सहिद मुकेश कायस्थप्रति हार्दिक श्रद्धाञ्जलि । 
 


Author

थप समाचार
x