सम्पादकीय

सम्पादकीय

सुन तस्करीमा नेतृत्वको संलग्नता छ कि छैन ? जिम्मेवारी लिनुपर्छ कि पर्दैन ?

इकागज |
साउन ४, २०८० बिहीबार १६:३९ बजे

एक जना पूर्वप्रशासकले भन्ने गर्थे, ‘जाने अधिकांश सबै मुग्लिङकै बाटो (त्यतिबेला अरु विकल्प थिएन) हो, दुर्भाग्यवश एकाध सवारी साधन त्रिशुलीमा खस्छन् ।’ उनको भनाइको तात्पर्य हो नेपालका अधिकांश कर्मचारीले अपनाउने बाटो पनि त्यही अर्थात् अनियमितता र भ्रष्टाचारको, कोही कोहीको दशा बिग्रेका बेलामा मात्र पक्राउ पर्ने वा मुद्दा लाग्ने गर्छ ।

ठीक यही भनाइ नियमितजसो चरितार्थ हुँदै आएको छ, हाम्रो राजस्व प्रणालीमा । अनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पनि । सय केजी सुन भन्सार चेकजाँचबाट सहजै कसरी उम्क्यो ? त्रिशुलीमा गाडी फसेजस्तै तस्करहरूबीच सेटिङमा कुरो नमिलेपछि यो प्रकरण बाहिर आयो । यसले के देखाएको छ भने एयरपोर्टबाट दिनहुँजसरी सुन आउँछ, एकाध दशा बिग्रेकाहरूको मात्र कुरो बाहिर आउँछ, पक्राउ पर्छन् ।


एयरपोर्टलाई निकै संवेदनशील स्थान मानिन्छ । तस्करीका हिसाबले मात्र होइन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई यात्रुको ज्यानको सुरक्षा, विश्व आतंकवाद, लागूऔषध, माफियागिरी साँध्ने आदि कारणले पनि अति संवेदनशील ठाउँ हो, एयरपोर्ट । त्यही भएर सिंगो बटालियन सुरक्षाकर्मी तैनाथ गरिन्छन् । अध्यागमन, राष्ट्रिय अनुसन्धान, प्रहरी प्रशासन, भन्सार, राजस्व अनुसन्धान लगायतका थुप्रै निकाय भन्सार चेकजाँच प्रक्रियामा चौबीसै घण्टा मौजुद हुन्छन् । त्यस्तो संवेदनशील ठाउँबाट एकाध ग्राम होइन, सय केजी सुन दिनदहाडै ‘सबै प्रक्रिया पूरा गरेर’ बाहिर निस्कन्छ भने त्यो मुलुक कर्मचारी प्रशासन र सरकारले होइन, कुनै माफिया र तस्करले सञ्चालन गरेको पुष्टि हुन्छ ।

कुनै बेला अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराजले नेपालको एयरपोर्टबाट हात्ती छिराइदिन सक्छु भनेका थिए । त्यसको अर्थ हो एयरपोर्टमा कार्यरत सकल दर्जाका कर्मचारीगण, सुरक्षा यन्त्र पैसामा बिक्छन्, पैसा पाएपछि उनीहरू आफ्नो धर्म, नैतिकता, मुलुकप्रतिको कर्तव्य सबैलाई तिलाञ्जलि दिन पछि हट्दैनन् । शोभराजले भन्नु र सुन प्रकरणहरू, दशा बिग्रेका बेलामा मात्र, बाहिर आउनु कदाचित् संयोग हुन सक्दैन । यो नियोजित नै हो ।

सय किलो सुन आउँदैछ भनेर पहिले नै जानकारी भएकै कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका कर्मचारीलगायत सुरक्षा निकायलाई जानकारी हुँदो हो । शरीरको पेटभित्रको आन्द्रामा क्याप्सुल बनाइ ल्याउने डलर, लागूऔषध एक्स रे मेसिनबाट थाहा हुन्छ । सुनलाई अरु जुनसुकै वस्तु वा पदार्थले लेपन गरे पनि त्यो थाहा हुन्छ । थाहा नहुने भन्ने प्रश्न नै हुँदैन । थाहा पाइएन भन्न पनि पाइँदैन । तसर्थ यो सेटिङमै भएको थियो, बाहिर निस्केपछि ‘कुरो नमिलेर’ ‘दशा बिग्रेको’ मात्र हो ।

अब प्रश्न आउँछ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपसचिव तहका भन्सार प्रमुख, थुप्रै शाखा अधिकृत, नासु र खरिदारहरूलाई सबैको आँखा एक साथ त छलिएन होला ? विदेशबाट आउँदा एउटा अतिरिक्त मोबाइल फोन नछाड्ने भन्सारले त्यति धेरै परिमाणको सुनलाई साइकलको पार्टस् भन्दै छाड्नुको रहस्य तलदेखि माथिसम्मको सेटिङ हो । अर्बको सुन तस्करी एउटा उपसचिव वा एउटा अधिकृत वा नासु वा भनौं खरिदारको मुटुले मात्र धान्न सक्ने विषय होइन । यी कर्मचारीलाई माथिबाट राजनीतिक संरक्षण वा ढाडसबिना किन यिनीहरूले यति धेरै ठूलो जोखिम लिए ? ‘परिआएमा म\ हामी छु\छौं’ भन्ने उच्च तहको आश्वासनबिना ती कर्मचारीहरूलाई दशाले कुतकुत्याएन होला ?

काठमाडौंका अधिकांश धनाढ्य र पैसावाल व्यापारीहरूको लघु इतिहास हेर्ने हो भने एयरपोर्टबाट सुन तस्करी नै उनीहरूको आर्थिक सफलताको भ¥याङ थियो । दरबारसँगको साँठगाँठमा आउने सुन दरबारलाई पनि भागबण्डामा सामेल गरेपछि सुनपानी छर्केसरह ‘पवित्र’ हुन्थ्यो । अहिले बहुदलका केही ठूला भनिएका नेताहरू पनि सुनकाण्डमा मुछिएकै हुन् । त्यही सुन तस्करी गरेर उनीहरूको आर्थिक र राजनीतिक हैसियत बढेको हो, सबैले बिर्सेका छैनन् । यहाँ मौका नपाउँदा मात्रै सबै नेता, मन्त्री, सचिव, महानिर्देशक, हाकिम ‘चोखा र इमान्दार’, मौका पाएपछि नियत र वृत्ति उही हो । आज यो मुलुक त्यसै कंगाल भएको छैन ।

यो त एयरपोर्टबाट बाहिर समातिएको सुनको कुरो भयो । अर्थमन्त्रीहरूले नीतिगत रुपमै बजेटमै भन्सार छुट दिने, बढाइदिने गरेर व्यापारी पोसेको घामजत्तिकै छर्लंग छ । डा. युवराज खतिवडा जस्ता मौद्रिक नीतिका विशेषज्ञ अर्थमन्त्रीलाई विशाल ग्रुपले आयात गर्ने चकलेटमा भन्सार छु्ट गराउन कुन कुराले प्रेरित गर्यो वा बाध्य पार्यो ? सेवा निवृत्त भन्सारका नासुलाई करका दर परिवर्तन गर्न लगाउन जनार्दन शर्मा र डा. प्रकाशशरण महतलाई कसले प्रेरणा दियो ? अनि भन्सारमा हाकिम साबहरूले गर्ने न्यून बिजीकरण कसैले अनुसन्धान गरेको छ अहिलेसम्म ? गरेको भए पनि त्यो बाहिर आएको छ ? सीमापारिबाट सय रुपैयाँभन्दा बढीको सामान किनेर गुजारा गर्ने नेपालीलाई भन्सार लगाउन फरमान जारी गर्ने अर्थ मन्त्री यो प्रकरणमा के भन्छन् ? उनैले जिम्मेवारी दिएर भन्सार पठाएको होइन ? कस्ता कर्मचारी पठाएछन्, त्यसको जिम्मेवारी लिने कि नलिने ? त्यसकारण भन्सारका कर्मचारीलाई मात्र बलीको बोको बनाएर हुँदैन, त्यो कृत्य गर्न लगाउने वा निर्देशन दिनेलाई पनि अनुसन्धानको दायरामा तानिनुपर्छ । 

कर निर्धारण गर्दा होस् वा भन्सारको मूल्यांकन गर्दा पाइलापिच्छे राजस्व चुहावट छ । देश त्यसै कंगाल भई आज २३ खर्ब रुपैयाँको ऋणको भार बोकेको होइन । राजस्व मार्न राणाकालदेखि लागेको बानी गणतन्त्रसम्म आइपुग्दा पनि छुटेन । अनि ३३ किलो सुनको मुख्य नाइके खोई ? पक्राउ पर्छन् एजेन्ट र भरिया, त्यसका मालिक जहिल्यै गोप्य राख्ने ? कहिलेसम्म देश लुटिरहने ?


 


Author

थप समाचार
x