सम्पादकीय

सम्पादकीय

डाक्टर र बिरामीबीचको बढ्दो अविश्वास

इकागज |
भदौ ३१, २०८० आइतबार १७:५२ बजे

हाम्रो कानुनले कुनै व्यक्तिमाथि गालीगलौज र अपशब्द बोल्नसमेत रोक लगाएको छ । हात हाल्ने, कुट्ने, पिट्ने र सांघातिक आक्रमण गर्नेलाई त फौजदारी मुद्दै लाग्छ । मानव सभ्यतासँगै समाजलाई मर्यादित र व्यवस्थित बनाउन अनि शान्ति सुरक्षा कायम राख्न कानुनतः यस्तो व्यवस्था गरिएको हो । तर हेटौंडास्थित एक अस्पतालका चिकित्सकमाथि सांघातिक आक्रमण हुनु र चिकित्सकहरुले आकस्मिकबाहेक सबै सेवा ठप्प पार्नुचाहिं दुबै अशोभनीय र अमर्यादित छन् । 

उपचारका क्रममा चिकित्सकको लापर्वाहीका कारण कुनै बिरामीको मृत्यु हुनुको पीडा परिवारलाई मात्र थाहा हुन्छ । तर लापर्वाही भएको हो कि होइन भन्ने कुरा बिरामीका आफन्तले भन्ने होइन, त्यसको मेडिकल छानबिन हुनुपर्छ । यसका लागि मेडिकल काउन्सिल छ । सरकारी तथा अर्ध सरकारी निकायहरुप्रति विश्वास नभएकै कारण मृतकका आफन्तहरुले धैर्य गर्न नसकेको भन्न मिल्दैन । किनभने कुटपिट र त्यसमाथि सांघातिक आक्रमण त फौजदारी अपराधअन्तर्गत पर्छन् ।


चिकित्सकका लागि हजारौं बिरामी उनीहरुका ‘पेसेन्ट’ मात्र होइनन्, त्यो परिवारको लागि त सर्वस्व नै हुन्छ । तर उपचारका क्रममा सबैको उपचार सफल हुन्छ भन्ने पनि छैन । चिकित्सक र बिरामीका आफन्तबीचको अविश्वासको खाडल बढ्दो छ । प्रायःजसो उपचारका क्रममा बिरामीको मृत्यु हुँदा निजका आफन्तहरु तोडफोड र सांघातिक हमलामा उत्रन्छन्, यो दुःखद कुरा हो ।

मृतकका आफन्तलाई चिकित्सक वा अस्पतालको लापर्वाहीले उपचारका क्रममा मृत्यु भएको हो भन्ने लागेमा गलत उपचार गर्ने वा लापर्वाही गर्ने चिकित्सक वा अस्पतालउपर कारबाही हुन्छ । कुनै पनि बिरामीको उपचारका क्रममा कुनै पनि चिकित्सकले लापर्वाही गर्नु हुँदैन । कुनचाहिं चिकित्सकले उपचार गर्दा आफ्नो बिरामीको छिटो निको होस् भन्ने चाहँदैन र ? तर समय, परिस्थिति र आफ्नो वशभन्दा बाहिरको अवस्थामा बिरामीको मृत्यु हुन सक्छ । त्यही भएर सामान्य शल्यक्रिया गराउँदा पनि बिरामीको आफन्तको मञ्जुरीनामा लिइन्छ । तर बिरामीका आफन्त र अस्पतालका डाक्टरहरुबीचको बढ्दो अविश्वास भने चिन्तनीय छ । यसले न बिरामी र उनका आफन्तलाई राम्रो गर्छ, न त चिकितसहरुलाई नै ।

हेटौंडा अस्पतालमा चिकित्सकको लापर्वाही भन्ने आरोपउपर मेडिकल काउन्सिलले स्वतन्त्र छानिबन गर्नुपर्छ । गल्ती देखिएमा दण्ड दिनुपर्छ । कतिपय चिकित्सकको ज्ञान वा अनुभव अभावका कारण गलत उपचार गर्दा मृत्यु भएका पनि छन्, जिन्दगीभर स्वास्थ्य खराब भएर नारकीय जीवन व्यतीत गर्नुपरेका उदाहरण पनि छन् । यस्तोमा मेडिकल काउन्सिलले जिम्मेवार भएर छानबिन नगर्दा चिकित्सकमाथि सांघातिक आक्रमणका घटना हुन पुग्छन् ।

चिकित्सकहरु संगठित रुपमा हडतालमा उत्रिएका छन् । सरकारलाई दबाब दिन । बिरामीहरुले उपचार गर्न पाउने संवैधानिक र कानुनी हक उनीहरुले खोसेका छन् । हामीकहाँ हडतालै गर्नुपर्ने, आक्रमणै गर्नुपर्ने नत्र सरकारी संयन्त्रले नसुन्ने प्रवृत्ति छ । त्यही प्रवृत्तिका कारण अविश्वास पैदा हुन्छ र कानुन हातमा लिने काम हुने गर्छ, जुन दुःखद हो । 

सम्बद्ध चिकित्सकको उपचार प्रक्रियाको छानबिन गर्ने, दोषी देखिएमा कारबाही गर्ने र चिकित्सकमाथि सांघातिक आक्रमण गर्नेलाई कानुनी दायरामा ल्याएर कानुनी राज्यको अनुभूति नदिलाएसम्म यस्ता घटनाहरुको पुनरावृत्ति भइरहन्छ । चिकित्सकहरुले तत्काल हडताल बन्द गरी काममा फर्कनुपर्छ । बिरामीले उपचार गर्न पाउनुपर्छ । चिकित्सकमाथि आक्रमण गर्नेलाई पनि कानुनी दायरामा ल्याउनुपर्छ । अनि गलत तवरले बिरामीको उपचार गरे÷नगरेको छानबिन पनि हुनुपर्छ । 
 


Author

थप समाचार
x