सम्पादकीय

सम्पादकीय

चाडपर्वमा सार्थक अनुगमन तीव्र बनाऊ

इकागज |
असोज १६, २०८० मंगलबार १७:४६ बजे

कोभिड–१९ महामारीपछि प्रभावित बनेको हाम्रो अर्थतन्त्र उठ्नै नसक्ने अवस्थामा पुगेको छ । आर्थिक वृद्धिदर दुई प्रतिशतमा पनि टिक्न नसकेर ओरालो लागेको छ भने सर्वसाधारणको भान्सा झन् झन् महङ्गिदै गएको छ । उपभोगमा आधारित हाम्रो अर्थतन्त्रलाई चलायमान गराउन दसैँ–तिहार–छठ जस्ता चाडपर्व महत्वपूर्ण छन् । मुलुकको कुल गार्हस्थ उपभोग (हाउसहोल्ड कन्जम्सन) को एक तिहाई यिनै पर्वमा उपभोग हुन्छ, बाँकी दुई तिहाई वर्षभरमा ।

तर, आर्थिक मन्दीले रोजगारी, आयआर्जनका अवसर बन्द हुँदा दैनिक ज्यालादारी गर्ने न्यून र निम्न–मध्यम आय हुनेहरू नराम्ररी प्रभावित बनेका छन् । गरिबी बढेको छ । यस्तोमा कमभन्दा कम खर्चमा दसैँ मनाउनुपर्ने बाध्यता आइलागेको छ ।


गरिबलाई कसरी चाडपर्व टारौँ भन्ने भइरहेका बेला केहीले भने यिनै चाडपर्वलाई कमाउने अवसरको रूपमा लिने गरेका छन् । यसैले उनीहरूले चाडपर्वलाई कमाउ धन्दाका रूपमा लिएर ठगी गर्ने, कमसल र गुणस्तरहीन सरसामान, खाद्यवस्तुको बिक्री गर्ने गरेका छन् । दसैँमा सरकारले स्थापना गर्ने सहुलियत मूल्यका पसल पनि बजारका लागि हस्तक्षेपकारी भन्दा पनि देखावटी र सरकारी हाकिम, मन्त्रीकहाँ बन्दोबस्ती गर्ने माध्यम मात्र भएका छन् । बजारको अनुगमन, गुनासो सुनुवाइ प्रणाली र दण्डको प्रभावकारी व्यवस्थाको अभावमा बजारले सर्वसाधारणमाथि ठगी गरिरहन्छ । 

सरकार मात्र होइन अहिलेको समयमा व्यापारीहरूले सदासयता राख्नुपर्ने अवस्था छ । यसका लागि चेम्बर अफ कमर्ससँगै थोक तथा खुद्रा बिक्रेताले पनि अगुवाइ गर्न सक्छन् । तर, गर्दैनन् किनकि सर्वसाधारणको यहाँ कसैलाई मतलब नै छैन ।

उल्टै सरकारले  ठगी गर्ने र कमसल मालवस्तु बेच्नेलाई कारबाही गर्दा विज्ञप्ति जारी गरी त्यसको विरोध गर्छन्, तर बजार मर्यादित बनाउन अपिल र पहल दुवै गर्दैनन् । 

चाडपर्वमा जनतालाई सरकारको भर हुनपर्ने हो । तर, यो समयका सरकारी कर्मचारी झन् डरलाग्दा हुन्छन् । यो अवसर उनीहरूका लागि उल्टै कमाउने अवसर बन्छ । बजार अनुगमनको नाममा उल्टै असुली धन्दा चलाउँछन् । 

खाद्य सामग्री बाहेक चाडपर्वको समयमा एक ठाउँबाट अर्को ठाउँमा जाने यात्रुले पनि उत्तिकै पीडा खप्नुपर्छ यहाँ । खासगरी यतिबेला काठमाडौँबाट बाहिरिनेको ताँती ठूलो हुन्छ । तर, यही समयमा यातायात व्यवसायीले मनलाग्दी हिसाबले भाडा बढाउने र गुन्द्रुक कोचेझैँ मान्छे कोचेर सर्वसाधारणको जीवन जोखिममा पार्छन् । यही समयमा हुने सडक दुर्घटनाले मात्र पनि सयौँको ज्यान लिने गरेको छ ।

दसैँलाई दशाजस्तो बनाउने र गरिबलाई ऋण बोकाउने पर्व बनाउनु हुन्न । ‘आयो दसैँ ढोल बनाई, गयो दसैँ ऋण बोकाइ’ भन्ने नियति नेपालीहरूमाझ आजपर्यन्त कायम छ । यो नियति बदल्न सबै क्षेत्रको सार्थक पहल होस्, बजारमा सुशासन कायम होस् । 


Author

थप समाचार
x