सम्पादकीय

सम्पादकीय

धन्यवाद इजरायल सरकार

इकागज |
असोज २२, २०८० सोमबार १७:५१ बजे

प्यालेस्टिनी विद्रोही समूह हमासले गत शनिबार इजरायलको दक्षिणी भूभागमा गरेको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको छ । त्यहाँ फसेका नेपालीलाई उद्धार गर्न सरकारले गरेको पहलस्वरूप अहिले ३१ नेपालीलाई हमास नियन्त्रित क्षेत्रबाट तेल अभिभ सारिएको छ । अहिले उनीहरूले बल्ल राम्रोसँग सास फेर्न पाएका छन् ।

यस्तै आपत् विपत् परेका बेलामा हो कुशलतापूर्वक चुनौतीलाई पार लगाउनु । उद्धारका लागि निर्देशन दिन जति सजिलो छ, त्यसलाई कार्यान्वयन गर्न उत्तिकै चुनौतीपूर्ण । इजरायल सरकार आफैँमा अहिले सकसपूर्ण अवस्थामा छ । देशभित्र आक्रमण भइरहेको छ । ऊ आफू पनि युद्धमा होमिइरहेको छ । आफ्नै नागरिकको सुरक्षा गर्न नसक्ने स्थितिमा पुगेको इजरायली सरकारसँग समन्वय गरेर बन्धकमा परेका नेपालीहरूको उद्धार गर्न सकेर इजरायलस्थित नेपाली दूतावासका कर्मचारीहरूको खुबी र क्षमता देखाएका छन् ।


बंकरभित्र रहेका नेपालीहरूका लागि एक/एक सेकेण्ड महत्वपूर्ण थियो । उनीहरूले आज विहान प्रधानमन्त्री पुष्पकला दाहालसँग पनि भिडियोमा कुराकानी गरेर आफ्नो दर्दनाक अवस्था बताएका थिए । तर, पनि इजरायलस्थित नेपाली दूतावासका कर्मचारी र डिप्लोम्याटले मेलोमेसो नपाएको झैं भइरहेको थियो । किनभने अन्य देशका नागरिकहरूलाई उनीहरूका सरकारले तत्कालै उद्धार गरिसकेका छन् । उद्धारमा जति ढिलो हुन्थ्यो, त्यसले मानवीय संकट ल्याउने जोखिम उत्तिकै हुन्थ्यो ।

नेपाली नपुगेको र नभएको विश्वका सायद त्यति देश छैन होला । विशेष गरी कामका लागि नेपालीहरू प्रतिबन्धित मुलुकमा समेत पुग्ने गर्छन् । इराकमा वैदेशिक रोजगारीका लागि सरकारले प्रतिबन्ध लगाएको अवस्थामा पुगेका १० नेपालीको हत्या भएको थियो । हाम्रो अर्थतन्त्र पनि वैदेशिक रोजगारमा पुगेकाहरूले पठाएको आम्दानी अर्थात् रेमिट्यान्सले चलेको छ । दुर्भाग्यवश कृषिसम्बन्धी सीप सिक्न ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायलको कृषि फार्म पुगेका नेपाली विद्यार्थीहरू बिचल्लीमा परेका छन् । त्यसबाहेक पाँच हजारभन्दा बढी महिला ‘केयर गिभर’ को रूपमा इजरायलमा छन् । कुन मुलुकमा कति बेला के कस्ता आपत आइलाग्छ भन्न सकिने स्थिति छैन । तर, नेपालीहरू जहिल्यै जोखिममा हुन्छन् । स्वदेशमै बसेर काम गर्ने अवस्था नेताहरूले नदिएपछि घरमा चुल्हो बाल्नकै लागि बाध्य भएर विदेशिनुपरेको छ ।

इजरायल र हमासबीच यो युद्ध तत्काल रोकिएलाजस्तो छैन । इजरायलको जन्म भएदेखि नै यो अरबसँग परेको टक्कर र धार्मिक अतिवादले मध्यपूर्वमा जहिल्यै तनाव छ । त्यसमाथि पश्चिमा राष्ट्र र अरब राष्ट्रहरू विभाजित छन् । यसले अर्काे युक्रेन हमलाको रूप लिन बेर छैन । आगामी दिनमा पनि इजरायल अब जोखिमयुक्त राष्ट्रका रूपमा रहने निश्चित छ । त्यसैले सरकारले अब इजरायलमा विभिन्न पेसा गरी बसेका नेपालीहरूलाई स्वदेश फर्काउनुको विकल्प छैन । इजरायलबाट सरकारले के कुरो थाहा पाउनु पर्यो भने— वैदेशिक रोजगार स्थायी समाधान होइन । स्थायी समाधान यहीं हो स्वदेशमा । स्वदेशी माटोमा फलाउनुपर्यो । विदेश जानु पर्ने बाध्यता हटाउनु पर्यो । रेमिट्यान्समा भएको वृद्धि देखेर अर्थतन्त्र सुध्रियो भन्ने अर्थमन्त्रीमा चेत आउनुपर्यो । विश्वका जुनसुकै देशमा जति बेला पनि जे पनि हुन सक्छ भन्ने चेतना हुनुपर्यो ।

यो संकटको घडीमा जोखिममा परेका ३१ नेपालीलाई तेल अभिभ फर्काउन इजरायल सरकारले गरेको सहयोगका लागि सारा नेपालीको तर्फबाट धन्यवाद छ ।


Author

थप समाचार
x