सम्पादकीय

सम्पादकीय

इजरायलमा रहेका बाँकी नेपालीहरूलाई छिटो फर्काऊ

इकागज |
असोज २६, २०८० शुक्रबार १७:४२ बजे

इजरायल–हमास युद्धले उग्र रूप लिँदै जाँदा ठूलो मानवीय क्षति हुन पुगेको छ । युद्धको नियमानुसार सर्वसाधारण बसेको घरमा हान्न पाइन्न । तर, हमासले सुरुमा पाँच हजार थान रकेट इजरायलको मानव बस्तीमा दाग्यो । त्यसैको बदलास्वरूप अहिले इजरायलले गाजा पट्टिमा हवाई जहाजबाट आक्रमण थालेको छ र उसले त्यहाँका बासिन्दालाई २४ घण्टाभित्र खाली गर्न फरमान जारी गरेको छ । युद्धमा लडाकुहरू मारिनु र मर्नु अस्वाभाविक नभए पनि महिला, बालबालिका, गर्भवती, वृद्धवृद्धा बसिरहेको घरमा बम हानेर घरै उडाइदिनु चाहिं अपराध हो । मानवीय हिसाबले पनि यो अनैतिक हो । त्यसै पनि इजरायलले गाजा पट्टिमा नाकाबन्दी नै लगाएको थियो । युद्ध घोषणा भइसकेपछि त्यहाँ पानी, बिजुली र इन्धन पनि ठप्प पारिएको छ । पानी पिउन नपाएरै मार्ने अवस्था आइसकेको छ । यो २१ औं शताब्दीमा मानवताको विद्रूप रूप हो ।

ठूलो देशले सानोलाई हेप्न नपाओस्, सबै देशहरूका सार्वभौमिक अधिकार रक्षित होऊन् भनेर खडा गरिएको राष्ट्रसंघ रमिते बनेको छ । हिजो अमेरिकाले इराक हान्दा पनि राष्ट्रसंघ मौन रह्यो । अमेरिकालाई नटेरेकै कारण इराकी राष्ट्रपति सद्दाम हुसेन मारिए । करिब दुई वर्षअघि रुसले युक्रेनमाथि आक्रमण गर्दा पनि राष्ट्रसंघले केही गर्न सकेन । अहिले इजरायल–हमास युद्धमा पनि राष्ट्रसंघले केही गर्न सकेन । राष्ट्रसंघले भनेको कुनै देशले मानेन ।


इजरायल जन्मेदेखि नै विवाद थियो । इजरायल स्थापनाको ७५ वर्ष पुगिसक्दा पनि मध्य पूर्व तनावपूर्ण अवस्थामा छ । जर्मनीका तानाशाह हिटलरले लेखेका यहुदीहरू प्यालेस्टाइनको क्षेत्रमा आएर बसोबास गरी त्यहाँका आदिवासीलाई खेद्न थाल्दा अमेरिका, बेलायत र रुसले इजरायललाई सहयोग गरेका थिए । पछि कालान्तरमा प्यालेस्टाइनको ठूलो भूभाग इजरायलले कब्जा गर्दै गर्दा आफ्नो राज्य विस्तार गर्यो । कहाँसम्म भने इजरायलले गरेको अन्यायपूर्वक अवस्थालाई चित्रण गर्दा अल जजिराकी पत्रकारलाई इजरायली सेनाले गोली हानेर मारिदियो ।

हमासले अघिल्लो साता बिनाजानकारी एकाएक रकेट नहानेको भए आज यो अवस्था आउने थिएन । युद्धको सारा नियम उल्लंघन गरेर हमासले आतंककारी शैलीमा संगीत महोत्सवमा सरिक निहत्था विदेशीहरूको हत्या गर्यो । विभिन्न देशका नागरिकसहित महिला, बालबालिकाहरूलाई अपहरण गर्यो । हमासको आक्रमणबाट दस नेपाली मारिए । हमासलाई राजनीतिक संगठन वा आतंककारी समूह जे नाममा विवाद भए पनि उसले पछिल्लोपटक गरेको आक्रमण भने तालेबानी शैलीको आतंककारीकै थियो । त्यसको जति भर्त्सना र निन्दा गरे पनि कम हुन्छ ।

इजरायल, सिरया, लिबिया, सुडान, रुस, युक्रेन लगायतका देशहरूमा अहिले अशान्ति र तनाव छ, युद्ध छ । सैन्य होडबाजीका बीच उत्तर कोरिया मैमत्त छ । यसले विश्वलाई नै प्रभावित तुल्याएको छ । ठूलाले सानालाई जहाँ पनि पेलेकै छ, हेपेकै छ र हडपेकै छ । यस्तो अवस्थामा विश्व अशान्त बन्दै गइरहेको छ । रुस–युक्रेन युद्धको असर त नेपालले धेरैपटक भोगेकै हो ।

स्वदेशमा गरी खान सरकार र नेताहरूले नदिएपछि नेपालीहरू नपुगेको विश्वको कुनै देश नै छैन । अनि यस्तै आपत् विपत् पर्दा ज्यान जोगाउन कति मुस्किल हुन्छ र ज्यान कसरी गइरहेको छ भन्ने त हमास हमलाले नै देखायो । इजरायलमा विभिन्न पेसामा काम गर्ने नेपाली अझै धेरै छन् । २५३ जनालाई नेपालीलाई त परराष्ट्रमन्त्री आफैँ इजरायल पुगेर फर्काए । त्यहाँ रहेका नेपाली अझै पनि असुरक्षित नै छन् । पाँच हजारभन्दा बढी ‘केयर गिभर’ रहेको सरकारी तथ्यांकमै छ । तिनलाई पनि छिट्टै स्वदेश फर्काउन ढिलो गर्नु हुँदैन । किनभने अहिलेको अवस्था हेर्दा इजरायल–हमास युद्ध रुस–युक्रेनजस्तै लम्बिने छनक देखिएको छ ।


Author

थप समाचार
x