सम्पादकीय

सम्पादकीय

इतिहासको उपहास, मौलिकताको सत्यानाश

इकागज |
साउन २४, २०७८ आइतबार १०:४८ बजे

महाकवि लक्ष्मीप्रसाद देवकोटाको काठमाडौँ मैतीदेवीस्थित घर संग्रहालय बनाउने प्रयोजनका लागि भत्काइएको छ । देवकोटा परिवारबाट सरकारले यो घर किनेपछि नेपाल प्रज्ञा-प्रतिष्ठानको नेतृत्वमा कविकुञ्जको रूप बदलिएको छ । महाकविको घर जीर्णाद्धार गरेर संरक्षण गर्न सकिनेमा भत्काइएको भन्दै साहित्य-संस्कृतिप्रेमीले चित्त दुखाएका छ । सम्पदाविद् रवीन्द्र पुरीले महाकविको त्यो घर हेरेको र भत्काउनै नपर्ने सल्लाह दिएको स्मरण गर्दै सरकारले सम्पदा सम्भार हैन, संहार गरेको भन्दै दुःख व्यक्त गरेका छन् । 

उता नेपाल प्रज्ञा-प्रतिष्ठानले भने भुइँचालोपछि घर जीर्ण भएकाले जति बेला पनि दुर्घटना हुन सक्ने त्रास भएकाले बाध्यतावश भत्काउनुपरेको बताएको छ । उसले कविकुञ्जको बाहिरी खोल उस्तै हुने गरी पानीको फोहोरासहित आधुनिक सुविधाको संग्रहालय बनाउने बताएको छ । 


देवकोटा परिवारका प्राध्यापक डाक्टर पद्म देवकोटाले आफू जन्मे हुर्केको घर भत्काएको देख्दा मन दुखेको भन्दै चारवटा फोटोसहित फेसबुकमा पोस्ट गरेपछि त्यसले धेरै चर्चा पायो । उनको स्वाभाविक भावुकतालाई अर्थको अनर्थ पनि लगाइयो । उनले न त विरोध गरेका थिए, न त समर्थन । फेसबुकमा उनी अनेक भावना पोस्ट गरिरहन्छन् । उनले सिर्फ आफ्नो स्मृतिजन्य भावना व्यक्त गरेका थिए । आफ्नो अस्तित्व जोडिएको प्रिय घरप्रति भावुक अबिचुअरी पोस्ट गरेका मात्र थिए । 

यही विषयलाई लिएर उपकुलपति जगमान गुरुङले देवकोटा परिवार (पद्म देवकोटासमेत) प्रति रोष प्रकट गरेकामा पद्मले चित्त दुखाएका छन् । यहाँनेर पद्म देवकोटालाई लोभी र घमण्डी भनेर मिडियादेखि एकेडेमीसम्मले आँखी देख्नु न्यायोचित छैन । 

मिडियाले सधैँ अपूर्ण, अस्पष्ट र तोडमरोड छापेको अनुभव भएकाले मिडियामा नबोल्ने बताउने पद्म देवकोटालाई दोषी देख्नु आवश्यक छैन । दोष दिनुअघि कविकुञ्जको संरक्षणका लागि उनले कति भुक्तमान व्यहोरेका छन्, त्यो घर उनको नाममा पनि थिएन, पिताबारे उनले लेखेको संस्मरणात्मक पुस्तक पढेपछि यी कथाव्यथा सबै थाहा हुन्छ । 

भोलिका सन्ततिलाई हामीले कस्तो ज्ञान, कस्तो कला, कस्तो अनुभव, कस्तो संरचना, कस्तो पुस्तकालय, कस्तो संग्रहालय, कस्तो इतिहास, कस्तो सभ्यता दिने हो ? 

घर भत्काउनुपर्थ्यो वा पर्दैनथ्यो भन्ने बहस एकछिनलाई थाँती राखौँ । तर, हाम्रो सरकार मौलिक कला, सम्पदा, संस्कृति, अभिलेख, इतिहास, कागजपत्रप्रति संवेदनशील छैन भन्न कुनै आइतबार पर्खिनुपर्दैन । नारायणहिटी दरबार संग्रहालयमा अमूल्य कागजपत्रको बिजोगबारे केही पहिले कान्तिपुर दैनिकले रिपोर्टिङ-सम्पादकीय नै लेखेको थियो । इतिहासकार योगी नरहरिनाथको संकलनको पशुपतिनाथ परिसरमा उस्तै बिजोग छ । अमूल्य कागजपत्र धुलिएका छन् । 

नेपाली भाषाका संरक्षक कमल दीक्षित, शरद्चन्द्र शर्मा भट्टराईहरूले गल्लीमा फ्याँकिएका फोहोर उठाएको, बुइँगल खोतलेको हामीले बिर्सनु हुँदैन । इतिहास जगदीशचन्द्र रेग्मीसँग जंगबहादुरको पालाको गणना छ, उनले त्यसलाई बाहिर ल्याउन खोजे, तर अझै सकेका छैनन् । विश्वविद्यालयमा २० वर्षभन्दा बढी पढाए, अनुसन्धान गरे तर पनि उनी पेन्सन पाउँदैनन् । औषधि खानै गाह्रो छ, उनलाई । तर उनको घरमा पुराना कागजपत्र, पोकापुन्तुरा अहिले पनि असरल्ल छन् । नेपाल प्रज्ञा-प्रतिष्ठानमा जगदीशजस्ताले होइन, धेरैजसो त दलका बफादार कार्यकर्ताले नै प्राज्ञ पद पाउँछन् । 

राष्ट्रिय पुस्तकालयमा रहेका अमूल्य पुस्तक भूकम्पपछि स्याहारिएकै छैन । पुस्तकालय हाम्रो प्राथमिकतामा छँदै छैन ।  सर्वोच्च अदालतको पार्किङका लागि राष्ट्रिय अभिलेखालय सार्नेसम्मका फैसला गर्ने देश हो, यो हाम्रो ।
नेपाल जहाँ ढुंगाढुंगामा अभिलेख छन्, तिनको कुनै संरक्षण छैन । नेपाल जहाँ पुराना घरघरका भित्तादेखि झ्यालढोकासम्म इतिहास छ, तिनको व्यक्तिगत, सामुदायिक, सरकारी कुनै तवरबाट पनि संरक्षण छैन ।

भूकम्पपछि बनेका सम्पदामा मौलिकतालाई ख्याल नगरिएको भनेर इतिहासकार डा. महेशराज पन्तले लेखेको लेख्यै छन् । युनेस्कोले विश्व सम्पदा सूचीबाट हट्न सक्ने भनेर चेतावनी दिइरहेकै छ । तर, इतिहास जति निरन्तर उपहासको विषय अर्को छैन । 

भोलिका सन्ततिलाई हामीले कस्तो ज्ञान, कस्तो कला, कस्तो अनुभव, कस्तो संरचना, कस्तो पुस्तकालय, कस्तो संग्रहालय, कस्तो इतिहास, कस्तो सभ्यता दिने हो ? के नेपाल भनेको सिमेन्ट र रडको कंक्रिटको जंगल मात्र हो ? धमाधम बनिरहेका भ्युटावरबाट हेर्ने के हो— मौलिक नेपाल कि बिजोग र बेहाल नेपाल ? 

प्रज्ञा-प्रतिष्ठान संस्कृति मन्त्रालयअन्तर्गत पर्छ तर उसैले आफ्नो डबलीमा संस्कृतिको हरण गर्यो । डबलीको सम्भार गर्दा इँटा निकालेर दर्शक बस्ने ठाउँमा सिमेन्ट पो पोतियो । यस्ता विरोधाभाषका दृष्टान्त दर्जनौँ छन् । पर्सि साउन २६ गते इतिहासकार नयराज पन्तको जन्मदिन हो । यस दिन एउटा राष्ट्रिय संकल्प गरौँ- अब हामी इतिहासको उपहास गर्दैनौँ । नयराज पन्तले देखाएको बाटोअनुसार हामी संस्कृति, सम्पदा, अभिलेख, कला संरक्षण र सम्भार गर्छौँ । 


Author

थप समाचार
x