सम्पादकीय
नाकाबन्दीलाई अवसरमा बदलेको कतारबाट केही त सिक्ने कि ?
कतार पश्चिम एसियाको सानो तर उदाउँदो शक्ति राष्ट्र हो । जहाँ सन् २०२२ मा २२ औं विश्वकप नै हुँदै छ । खाडी क्षेत्रमा नै पहिलोपटक उक्त विश्वकप हुन लागेको हो । अन्य खाडी मुलुकहरूले पनि प्रयास नगरेका होइनन् तर कतारले त्यसमा बाजी मार्यो । युरोपियन मुलुकलाई समेत पछि पारेर आफ्नोमा विश्वकप ल्याउनु चानचुने कुरा थिएन । त्यसका लागि कतारले आफ्नो लामो समयदेखि गर्दै आएको तयारी र सबल कूटनीति नै प्रमुख हो ।
कतारले विश्वस्तरको अमेरिकी र युरोपेली शिक्षा आफ्नो मुलुकमा उपलब्ध गराउँदै अन्तर्राष्ट्रिय विद्यार्थीलाई पनि आर्कषण गरेको छ । एअरलाइन्स र सञ्चारमा कतारले मारेको फड्को आश्चर्यजनक नै छ । पछिल्लो समय त कतार ‘नन आयल इकोनमी’ (तेल ग्यासमा आत्मनिर्भर नरहेको अर्थतन्त्र) बनाउन लागिपरेको छ । बन्दझैँ रहेको त्यो खाडी समाजलाई खुला गर्न पनि कतारको भूमिका देखिन्छ । कतारले अलजजिरा टेलिभिजनमार्फत त्यसमा भूमिका निर्वाह गर्दै आएको हो ।
सानो मुलुक थोरै जनसंख्या तर कतारको आँट र लगनशीलता विश्वमा नै प्रशंसा हुन थाल्यो । सायद त्यस क्षेत्रका मुलुकलाई सह्य भएन होला, फुच्चे मुलुकले गरेको प्रगति । त्यहीकारण कतार अन्य छिमेकीको आँखामा बिझ्न पुग्यो, उसलाई एक्लो पार्न खोजियो । खाडीकै किङ साउदी अरबको नेतृत्वमा चार मुलुकले नाकाबन्दी लगाए, २०१७ जुनमा ।
सभ्यताको मुलुक भनेर चिनिएको इजिप्टसहित शेखहरूले आलोपाले नेतृत्व गर्ने युनाइटेड अरब इमिरेट्स (युएई) र साउदीपछि अरब बादशाह मानिने बहराइनले साउदीलाई साथ दिएर कतारलाई एक्ल्याउने प्रयास भयो । खाडी सहकार्य परिषद् (जीसीसी) का यी मुलुकले नाकाबन्दी गरे पनि कुवेत र ओमान तटस्थ बसे । कुवेतले त अमेरिकासँग मिलेर नाका खुलाउन पहल नै गर्यो । नाकाबन्दीको सुरुवाती दिनमा केही अलमल भए पनि कतार गलेन । अन्तर्राष्ट्रिय समुदायमा आफ्नो कुरा राख्यो । अर्बौं डलर क्षति हुँदा पनि आफूलाई निश्छल राखेर अघि बढ्यो ।
आफ्नो आर्थिक हैसियतसँगै राजनीतिक भूमिका पनि विश्वमा बढाउँदै गयो । राजनीतिक भूमिका बढाउँदै जाँदा उसले परनिर्भरतामा मुलुक अघि बढ्न नसक्ने बुझ्यो । नाकाबन्दीपछि राष्ट्रवाद मात्र उर्लेन, परनिर्भरता शून्यमा झार्न नागरिक नै लागिपरे, जसले गर्दा मुलुकले पूर्णतः आत्मनिर्भर मात्र होइन, विकासको उचाइ लियो । निर्यातजन्य वस्तु अहिले आफ्नैमा उत्पादन गरेर आयात गर्न थालेको छ ।
नाकाबन्दीपछि राष्ट्रवाद मात्र उर्लेन, परनिर्भरता शून्यमा झार्न नागरिक नै लागिपरे, जसले गर्दा मुलुकले पूर्णतः आत्मनिर्भर मात्र होइन, विकासको उचाइ लियो ।
कतारले अर्बौं रुपैयाँ गुमाए पनि आत्मविश्वास गुमाएन । हुन त यो बन्दले कतारलाई आर्थिक रुपमा ठूलो क्षति भएको थियो । उसले ठूलो पोर्ट उपयोगमा ल्याउन सकेको थिएन । साउदी र युएईबाट सामान आयात गर्न पाएको थिएन । युरोपबाट सामान ल्याउँदा निकै महँगो परे पनि जनतलाई सहुलियतमा दिएर राष्ट्र रहेको अनुभूति गराएको थियो । आफ्नै मुलकमा विश्वकप हुँदा छिमेकबाट कोही आउन नपाउने अवस्थाले खल्लो महसुस गरिरहेको कतारले यतिबेला कूटनीतिक जीत हासिल गरेको छ ।
कतारसँग सहकार्य गरेर साउदीले फेरि एकपटक आफू खाडीको किङ रहेको साबित गर्दै जीसीसी एक भएको सन्देश दिएको छ । समुद्र होइन, जमिन नै जोडिएको मुलुक साउदीले नाकाबन्दी हटाएपछि कतारले पनि ठूलो राहत अनुभूत गरेको छ । चार मुलुकले नाकाबन्दी गर्दा इरानसँग कूटनीतिक सम्बन्ध तोड्नुपर्ने, अलजजिरा बन्द गर्नुपर्ने, टर्कीको सैनिक अखडा बन्द गर्नुपर्ने लगायतका तेह्र बुँदे ‘कठोर सर्त’ राखे पनि त्यो सेलाएको छ ।
कतारमा नाकाबन्दी भएपछि नेपाली पनि झस्केका थिए । कतारमा ठूलो संख्यामा नेपालीहरू कार्यरत थिए र छन् । नेपालमा भारतले त्यसको २०७२ सालमा लगाएको ६ महिने नाकाबन्दीको झल्को कतारले पनि दिएको थियो । संविधान जारी गर्ने समयमा लगाएको अघोषित नाकाबान्दी र त्यो पीडालाई नेपालीले नजिकबाट नियालेका थिए । नेपालीले नाकाबन्दी त भुलिसके । तर कतारले नाकाबन्दीको बीचमा आफूलाई निकै खारेर आत्मनिर्भर बनेको यो क्षणबाट नेपाल सरकारले कतारलाई शुभकामना दिएर मात्र पुग्दैन आफूले पनि आत्मनिर्भरताको लागि केही गर्न आवश्यक रहेको सन्देश दिन सक्नुपर्छ ।
साउदी अरबले अन्य तीन खाडी राष्ट्रसँग मिलेर कतारमाथि लगाएको नाकाबन्दी हटाउने निर्णयलाई नेपाल सरकारले स्वागत गरेको छ । बुधबार परराष्ट्र मन्त्रालयले जीसीसीमा साउदीले लिएको निर्णयले खाडीमा स्थिरता ल्याउने धारणा व्यक्त गरेको छ । योसँगै नेपालले पनि आफूलाई विगतमा पर्दा गरेका र थालेका काम अघि बढाउन सकेमात्र ‘साउदीले कतारसँगको सिमाना खोल्ने निर्णयले त्यस क्षेत्रलाई स्थिरता र सहकार्यतर्फ लग्नेछ । जीसीसीमा रहेका मुलुकहरूको यो निर्णयले हामी खुसी छौँ,’ भनेको सार यथार्थमा रुपान्तरित हुनेछ । हुनत नेपालको जीसीसीका सम्पूर्ण सदस्यहरूसँग मित्रवत सम्बन्ध छ, त्यसकारण त्यस क्षेत्रको शान्ति र समृध्दिको कामना नेपाल सरकारले गरेको हो ।
साउदी गठबन्धन र कतारबीचको समस्या हलउन्मुख हुँदै गएको संकेत मंगलबारबाट सुरु भएको जीसीसी सम्मेलनमा देखिएको हो । जहाँ साउदी राजकुमार मोमहम्मद बिन सलमानले कतारी अमिर शेख तामिम बिन अल थानीलाई अंकमाल गर्दै स्वागत गरेका थिए । कोभिड-१९ कहरबीच ‘हेल्थ प्रोटोकल’ आत्मसाथ गर्दै साउदी सहर अल उल्लामा सुरु जीसीसी सम्मलेनमा उनीहरू बीचको एकमात्र अंकमाल थियो । त्यो प्रकारको सहकार्य यस क्षेत्रमा कायम राख्न नेपालले पनि सार्कमा भूमिका खेल्दै आफूलाई सबल बनाउन सक्छ । तर, त्यसतर्फ हाम्रो नेतृत्वको सोच नै गएको छैन ।
र, यो पनि
- नाकाबन्दीलाई कतारले कुनै भाउ नदिएपछि पछि हट्यो ‘खाडी किङ’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया