सम्पादकीय
एक महिनादेखि कतारमा ‘ग्राउन्डेड’ जहाजमा मन्त्री आलेको आँखा पुग्यो कि पुगेन ?
फाइल फोटो
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको एउटा न्यारो बडी जहाज गत पुस १३ गतेदेखि कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा भूमिस्थ भयो । कतारको नागरिक उड्डयन प्राधिकरणले निगमलाई पटक–पटक ताकेता गरेर जहाज हटाउन आग्रह गर्यो । तर, निगमले केही सुनेन । कतारको उक्त प्राधिकरणले नेपालको नियामक निकाय नागरिक उड्डयन प्राधिकरणलाई पत्र लेखेर हस्तक्षेप गरिदिन अनुरोध गर्यो । उक्त पत्र इकागजले सार्वजनिक गरेपछि निगमका बेथिति र अव्यवस्थापन बाहिर आयो ।
निगमको कार्यकारी अध्यक्षमा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालको ‘आग्रह’मा विगतमा काम गर्न नसकेका निगमकै कर्मचारीलाई पर्यटन मन्त्री प्रेम आलेले नियुक्ति गरेदेखि त्यसै पनि तन्नम रहेको निगममा झन् बेथिति बढ्न थाल्यो । कार्यकारी अध्यक्षमा युवराज अधिकारी नियुक्त भएको दुई महिना बित्यो, तर निगम सञ्चालक समितिको बैठक जम्मा तीन पटक मात्र बस्यो । जबकि करिब पाँच दर्जनभन्दा बढी प्रस्ताव तथा एजेन्डा सञ्चालक समिति बैठकको प्रतीक्षारत छन् ।
कार्यकारी अध्यक्ष अधिकारी तिनै व्यक्ति हुन्, जो निगमको वित्त विभागमा आएपछि कर्मचारी सञ्चय कोषले न्यारो बडी जहाज खरिद गर्दा दिएको ऋणको किस्ता तिर्न बन्द गरिदिए । निगमका नौवटा विभागमध्ये उनले पाँचवटा विभागमा सरुवा भए, तर कुनै पनि विभागमा टिक्न सकेनन् । विगतमा काम गर्न अक्षम प्रमाणित भइसकेका व्यक्तिलाई कार्यकारी अध्यक्षजस्तो पदमा टीका लगाएर नियुक्त गर्दाको परिणाम निगमले भोग्दैछ । यो त सुरुआत मात्र हो ।
बिग्रेको उक्त न्यारोबडी जहाजको प्राविधिक पडताल गर्न कार्यकारी अध्यक्ष अधिकारीले जहाज उडाउने पाइलटको संयोजकत्वमा कमिटी बनाइदिए । जहाज उडाउनु एउटा कुरा हो, तर जहाजको इन्जिनियरिङ अर्कै विषय हो । असम्बद्ध व्यक्तिलाई छानबिन संयोजक बनाएका कारण पनि कमिटी प्रभावकारी भएन । अध्यक्ष अधिकारीमा के पर्दा कस्तो काम गर्नुपर्छ भन्ने सामान्य मेसो समेत नभएको यो कमिटी गठन गराईले पनि देखाउँछ । यस्ता अक्षम व्यक्तिले भोलि निगमलाई कति आर्थिक तथा प्राविधिक क्षति पुर्याउने हो, पत्तो छैन ।
कतार विमानस्थलमा थन्किरहेको उक्त जहाज के कारणले इन्जिन बिग्य्रो भन्ने निगमलाई अझसम्म पत्तो छैन । छानबिन गर्न गठित समितिले पनि ठम्याउन सकेन । बरु इन्जिन भाडामा ल्याउने प्रक्रिया सुरु गरेको निगमले उक्त भाडा प्रक्रिया पनि विवादास्पद बनेको छ । कतिवटा कम्पनीसँग कुन दररेटमा इन्जिन भाडामा ल्याउन लागिएको हो निगमले सार्वजनिक गरेको छैन ।
निगममा जहाज र इन्जिन भाडामा ल्याउँदा ठूलो अनियमितता हुँदै आएको छ । वाइड बडी खरिद गर्दा होस् कि चिनियाँ जहाज खरिद गर्दा ठूलो घोटाला भएकै हो । यस्तो घोटालामा देशका प्रधानमन्त्री जोडिएका हुन्छन् । चिनियाँ जहाज खरिद गर्दा सबै राजनीतिक दलका सबै प्रधानमन्त्री, पर्यटनमन्त्री र अर्थमन्त्री संलग्न भए । चिनियाँ जहाजले फाइदा दिन्छ र नेपालजस्तो भौगोलिक अवस्थिति रहेको मुलुकका लागि उपयुक्त छ भन्ने प्रतिवेदन बनाउन लगाएर निगमले चिनियाँ जहाज झेल्नुपरेको हो । यसरी मुलुक लुट्न सबै दलका नेताहरू उत्तिकै सक्रिय थिए र अझै पनि छन् ।
उक्त भूमिस्थ जहाजका कारण मात्रै निगमलाई दुई महिनाको अवधिमा ४० करोड रुपैयाँ घाटा परिसकेको छ । तर निगम व्यवस्थापनलाई यसतर्फ कुनै मतलब नै छैन । निजी क्षेत्रको जहाज भइदिएको भए के त्यसरी बेवारिसे हुन्थ्यो होला र ? जति घाटा भए पनि सरकारले भड्ताल हालिदिइहाल्छ भन्ने घीन मानसिकता व्यवस्थापनको ठेक्का लिएर बसेका व्यक्तिहरूमा हावी छ । नागरिकले तिरेको करको निगमको घाटा पूर्ति गर्नमा जाँदै आएको छ ।
अर्कातर्फ, कतार प्राधिकरणले हस्तक्षेप गरिदेऊ भनेर पत्रै लेख्नुपर्ने अवस्थाले निगमको व्यवस्थापन अन्तर्राष्ट्रिय क्षेत्रमा पनि निकम्मा रहेको पुष्टि हुन्छ । यो प्रकरणले विदेशमा नेपालको बेइज्जत गराएको छ । राजनीतिक ‘स्टन्ट’ देखाउन खप्पीस पर्यटन मन्त्री आलेलाई यसबारे पक्कै पनि थाहा नभएको होइन होला । तर यस मामिलामा आलेको मौनताले गम्भीर अर्थ लाग्छ ।
नेपालको इज्जत र प्रतिष्ठासँग जोडिएको विषयमा पर्यटन मन्त्रालय पनि केही नै भएको छैनजस्तो गरी बसेको छ । तसर्थ, जहाजको बिग्रेको इन्जिन मर्मत गर्ने वा प्रतिस्थापन गर्ने विषयमा विलम्ब गर्नु हुँदैन । र, केही नगरी बसेका अध्यक्ष अधिकारीमाथि पनि मन्त्रालयले छानबिन गर्नुपर्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया