पर्यटन

नेपाल वायुसेवा निगमको अटेरीले कतार हैरान

२ महिनादेखि थन्किएकाे जहाज हटाउन कतारले गुहार्‍यो नेपाल सरकार (पत्रसहित)

विकास थापा |
फागुन ९, २०७८ सोमबार २०:१८ बजे

काठमाडौं – झन्डै दुई महिनादेखि कतारको हमाद इन्टरनेशनल एयरपोर्टमा अड्केको एउटा न्यारोबडी जहाज हटाउन नेपाल वायुसेवा निगमलाई अनुनय विनय गर्दा पनि अटेर गरेपछि कतारले नेपालको नागरिक उड्डयन प्राधिकरणलाई हस्तक्षेप गर्न आग्रह गरेको छ ।

गत पुस १३ गते कतार विमानस्थलमा निगमको एउटा न्यारोबडी (९ एन अल्फा किलो ह्वीस्की— एकेडब्लू) को देब्रेपट्टिको इन्जिन क्षतिग्रस्त (स्टल) भएपछि दोहामा थन्केर बसेको छ । 


नेपालको नागरिक उड्डयन प्राधिकरणका तत्कालीन निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरलाई मोहम्मद फलेह अल हर्जीले पत्र लेखी हस्तक्षेप गर्न आग्रह गरेका हुन् ।
डिसेम्बर २८ देखि बिग्रेर बसेको उक्त जहाजले हमाद इन्टरनेशनल एयरपोर्ट सञ्चालन गर्ने ठाउँ ओगटेर बसेको उल्लेख गर्दै कतार प्राधिकरणले यही माघ २४ गते (फेब्रुअरी ७ तारिख) नेपालको प्राधिकरणलाई लेखेको पत्रमा भनिएको छ, ‘सम्बन्धित ध्वजाबाहक (नेपाल वायुसेवा निगम) को इन्जिनियरिङ विभागलाई एयरपोर्ट व्यवस्थापनले नियमित रुपमा अद्यावधिक गराउँदा पनि वास्ता नगरेको जनाएको छ । 

‘एचआईएल (हमाद विमानस्थल) व्यवस्थापनले सम्बन्धित ध्वजाबाहकसँग नियमित रुपमा अनुगमन गरिरहेको छ,’ पत्रमा छ, ‘तर दुर्भाग्यवश प्रतिक्रियामा कुनै स्पष्टता छैन र अनुरोध गरिएको जानकारी प्रदान गर्न पनि सक्षम छैन ।’

एचआईएलले निगमले उक्त स्थानबाट जहाज नहटाउँदा आफ्नो पीक (अत्यधिक चाप) सञ्चालनको क्रममा एप्रोनको क्षमता अभावमा चुनौतीहरुको सामाना गरिरहेको पनि उल्लेख गरेको छ । ‘हामी तत्काल समाधानको लागि सम्बन्धित ध्वजाबाहक (निगम) लाई सञ्चार गर्न महामहिमको हस्तक्षेपका लागि अनुरोध गर्दर्छाैं,’ पत्रमा छ ।
यस मामिलामा संघीय गणतान्त्रिक नेपालको नागरिक उड्डयन प्राधिकरणलाई उच्चतम विचार गर्न पनि अनुरोध गरेको छ ।

यता निगमले उक्त जहाजमा के कति कारण इन्जिन बिग्रेको हो पत्तो लगाउन सकेको छैन । निगमले जहाज थन्केदेखि वास्ता नगरेको बरु बिग्रेको जहाजको इन्जिन प्रतिस्थापन गर्न भाडामा खरिद गर्ने प्रक्रिया अघि बढाइसकेको छ । 

पर्यटन मन्त्री प्रेम आलेले निगमबाटै सेवा निवृत्त भएका युवराज अधिकारीलाई कार्यकारी अध्यक्षमा नियुक्ति गरेदेखि निगममा विभिन्न समस्या उत्पन्न हुन थालेको हा । अधिकारी तिनै व्यक्ति हो, जो कार्य क्षमता अभावका कारण चार वर्षको अवधिमा निगमका पाँचवटा विभागमा सरुवा भएका थिए । 
निगमको नौवटा विभागमध्ये अधिकारीले एक वर्ष पनि टिक्न नसकेका विभागहरुमा वित्त, आन्तरिक लेखापरीक्षण, रिभ्यू डिभिजन, जनसाधन र सामान्य सेवा तथा प्राप्ति विभाग हुन् ।

मदन खरेल कार्यकारी अध्यक्ष भएका बेला वित्त विभाग प्रमुखका रुपमा काम गरेका अधिकारीले कर्मचारी सञ्चय कोषलाई किस्ता तिर्न रोकेका थिए । खरेल वित्त विभागबाट निस्केपछि निगमले एक, दुई किस्ता (न्यारोबडी) को सञ्चय कोषलाई तिरेपछि पछि बन्द गरिएको थियो । 

अधिकारी आएको चार महिना पूरा भयो । तर अहिलेसम्म सञ्चालक समितिको बैठक तीनपटक भन्दा बढी बस्न सकेको छैन । सञ्चालक समितिबाट पास गर्नुपर्ने प्रस्तावहरु करिब ७० वटा पुगिसकेको स्रोतले बतायो । अब बोर्ड बैठक कहिले बस्छ भन्ने पनि थाहा छैन । 

पर्यटन मन्त्री आलेले एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको ‘सिफारिस’ मा अधिकारीलाई कार्यकारी अध्यक्ष नियुक्त गरेका थिए ।  

झन्डै दुई महिनादेखि जहाज थन्किएपछि पार्किङ शुल्क र ड्यामरेज (विलम्ब शुल्क) गरी निगमले दैनिक २ सय डलर (दैनिक २४ हजार रुपैयाँ) जरिवाना तिर्नुपर्छ । निगम स्रोतका अनुसार उक्त न्यारो बडी थन्किदा उडान रद्द भएका कारण निगमलाई करिब ४० करोड घाटा परिसकेको छ । जहाजको इन्जिन मर्मतसमेत जोड्ने हो भने एक अर्ब रुपैयाँभन्दा बढी घाटा निगमले झेल्नुपर्ने स्रोतले बतायो ।


Author

विकास थापा

जलविद्युत तथा राजनीतिक विषयमा कलम चलाउने थापा प्रधान सम्पादक हुन्।


थप समाचार
x