शिक्षा

पोखरामा शिक्षाको ज्योति छरेका जोन सर

धनबहादुर गुरुङ |
भदौ १७, २०८० आइतवार ११:५७ बजे

पोखरा- सेताम्य कपाल, गोरो अनुहार, हसिलो मुहार लिएर बस्छन्, शिक्षाविद् जर्ज जोन । पोखरेली शैक्षिक इतिहासका धरोहर जर्ज जोन उमेरले ९२ वर्षमा लागे । उनी त्यसबेलाको पोखराको एक कालखण्डको साक्षीसमेत हुन् । सन् १९३२ सालमा भारतको केरलमा जन्मिएका उनी १८ वर्षको उमेरमा वि.सं २००९ सालमा पहिलो पटक नेपाल आएका थिए ।  ‘त्यो बेलाको नेपाल आउन अहिलेको जस्तो गाडीमा सररर आउनु कहाँ पाइन्थ्यो र ? पैदल नै हिँड्नुपर्थ्यो’, उनी पहिलो पटक नेपाल आउँदाको अनुभव सुनाउँछन् ।

नेपाल आएर काठमाडौँ बसेका उनले त्यही पढाईलाई निरन्तरता दिए । नेपाल नेशनल कजेल (अहिलेको शंकरदेव क्याम्पस)बाट 'एम.ए'सम्मको पढाइ सके । बसाइकै दौरानमा जागिर पनि आए । सोही समय उनी २०१३ सालमा पोखरा आए ।


पोखरा आउँदाको कथा भने बेग्लै उनको । पोखराको हावापानी, मौसम अनि सुन्दरताले त्यतिबेला नै उनलाई तानिसकेको थियो । एक रात पोखरा बसेर उनी काठमाडौँ फर्किए ।  तर धित मरुञ्जेल पोखरा घुम्ने उनको रहर भने पूरा भएको थिएन ।

केही समयपछि पोखराकै शिक्षक विमलबहादुर थापा काठमाडौँमा बीए पढ्न गए । उनले सर जोनसँग अंग्रेजी विषयको ट्यूसन पढेका थिए । २०१७ सालमा आफ्नै विद्यार्थी विमलबहादुर थापासँगै सर जोन फेरि पोखरा आए । काठमाडौँमा जागिर भएकाले उनी केही समय पोखरा घुमेर फेरि काठमाडौँ फर्किए ।

त्यसबेला विमलका दाजु शिवबहादुर थापा पोखरा नगरका अध्यक्ष थिए । तत्कालीन समयमा पोखरामा दुई वटा स्कुलबाट केही विद्यार्थीले एसएलसी पास गरेका थिए । अध्यक्ष थापालाई ती विद्यार्थी बाहिर पढाउन पठाउन चाहन्थेनन् । सोही कारण पोखरामा पनि क्याम्पस खोल्नुपर्छ भन्ने थियो । त्यो बेला शिक्षकको अभाव थियो । थापाले आफ्ना भाइ  विमललाई ट्युसन पढाएका जोनलाई पोखरा आउन निकै कर गरे ।

काठमाडौँमा जागिर त थियो, तर मन उनको पोखरामा थियो । पोखराबाट राम्रै जागिरको प्रस्ताव आएपछि उनी दोधारमा परे । जोनपछि नियुक्तिपत्र लिएर पोखरामै बस्ने गरी आए । पोखरामा बसभन्दा पहिले जहाज आएको हो । उनलाई त्यो बेला ९० रुपैयाँ पेश्कीसहित जहाज भाडा ६४ रुपैयाँ दिइएको थियो । उनका लागि पालिखे चोकमा कोठाको समेत व्यवस्था भइसकेको थियो । 

पोखरा आएको भोलिपल्टैदेखि उनले नदीपुरस्थित तत्कालिन कन्या प्रावि अहिलेको कन्या क्याम्पसको एउटा कोठामा एसएलसी पास गरेका १३ जनालाई पढाउन सुरु गरे, २०१७ साल भदौ १७ गते । अंग्रेजी विषयमा दख्खल राख्ने उनको भागमा अंग्रेजीसँगै राजनीति शास्त्र र अर्थशास्त्र पढाउने जिम्मा पर्‍यो । नेपाली पढाउनका लागि देवीरमश शास्त्री शिक्षकका रुपमा आए । सुरुमा २ जना शिक्षकबाट पढाइ सुरु भयो ।

त्यसबेलाको कन्या प्राविको एउटा कोठामा पढाइ राम्रै चल्दै थियो । कन्या प्राविको वार्षिकोत्सवको बेलामा बालिकाहरू पढ्ने स्कुलमा युवकहरू पढ्न केही असहज हुने भनाइ प्रहरीबाट आएपछि कहाँ जाने भन्ने समस्याले पिरोल्न थाल्यो । तर त्यो बेला पोखरा अहिलेको जस्तो भरिभराउ बस्ती भने थिएन ।

त्यसैले पनि केही सहजता प्रदान गर्‍यो । अहिलेको फूलबारी ब्यारेक भएको ठाउँ र नारायणस्थान गरी दुई ठाँउमा जग्गा हेरिसकेपछि नारायणस्थान उपयुक्त ठानेर नारायणस्थानबाट पढाइ सुरु गरिएको थियो । नारायणस्थानमा हुँदा नै तत्कालीन नेपाली कांग्रेसबाट गृहमन्त्री बनेका सूर्यप्रसाद उपाध्यायबाट २०१७ मंसिरमा औपचारिक रूपमा पृथ्वीनारायण क्याम्पसको नारायणस्थानमै उद्घाटन गरिएको थियो ।

२०१८ सालमा प्रवीणता प्रमाणपत्र तहको परीक्षा भएको जोन सम्झन्छन् । त्यसबेला दुई वर्षको परीक्षा एकैचोटि हुने चलन थियो । १८ सालमा विद्यार्थी बढेर १३ बाट १६ जना पुगेका थिए । १६ जनाले परीक्षा दिएकोमा १३ जना पास भएको उनले सम्झिँए ।

नारायणथानमा खुल्ला चौरमा जाडोको समयमा पढाउन कठिन भइसकेको थियो । त्यसपछि फेरि नयाँ ठाँउको खोजी हुन थाल्यो । नयाँ ठाउँको खोजी गर्दै बडाहाकिम र उनीलगायत अन्य व्यक्तिले भीमकालीन पाटन बगरमा जग्गा भेटे । त्यसपछि विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम गरी छाप्रो बनाए ।

२०१९ वैशाख १ गतेदेखि भीमकालीपाटनबाट पढाउन सुरु भयो । त्यो बेला प्रत्येक विद्यार्थीले घर–घरबाट खर ल्याएर आफैंले छाप्रो बनाएर पढाइ सुरु गरेको उनले सुनाए । ‘अहिले पनि बेला–बेलामा क्याम्पस पुगेकै हुन्छु’,  जोनले इकागजसँग भने, ‘भीमकाली पाटन (अहिलेको पृथ्वीनारायण क्याम्पस भएको ठाउँ) मा नयाँ नयाँ बिल्डिङ बने । तर त्यो चौरमा रहेका रुखहरू जुन विद्यार्थीहरूले एक–एक जनाले रोपेका हुन्, त्यो भने त्यस्तै छ ।’ 

दुई जना शिक्षकले १३ जना विद्यार्थी लिएर सुरु गरेको क्याम्पस अहिले ६४ औँ वार्षिकोत्सव मनाउँदै छ । अहिले क्याम्पसमा ११ हजार ६ सय ८४ विद्यार्थी अध्ययनरत छन् । जसमा ५ हजार ६ सय ५६ छात्र र ६ हजार २८ छात्रा रहेको पृथ्वीनारायण क्याम्पसका सूचना अधिकारी मीनराज लम्सालले जानकारी दिए ।

७ सय १५ रोपनी १२ आना ३ पैसा १ दाम क्षेत्रफल जग्मामा ठूला भवन ४० वटा रहेको उनले बताए । ‘यहाँ ४० ठूला भवन, ६८ साना भवन र ६९ वटा सटरहरू रहेका छन्,’ उनले भने । केही भवनहरू अझै बन्ने चरणमा रहेको उनले सुनाए ।

आर्टस् (मानविकी) संकायबाट पढाइ सुरु भएको क्याम्पसमा ४ वटा संकाय, एउटा अध्ययन संस्थान, ३४ वटा विभाग र विभिन्न विशेष शैक्षिक कार्यक्रम सञ्चालनमा रहेको क्याम्पस प्रमुख प्राडा सरोज कोइरालाले जानकारी दिए ।

‘दुई थरिका कार्यक्रमहरू छन् । एउटा पुराना नियमित विषयहरू छन्,’ उनले भने, ‘नयाँमा विशेष क्षैक्षिक कार्यक्रममा बिबिए, बिएएलएलबि, बिएस्सी सिएस आइटी, बिसिएहरू छन् ।’ केही नयाँ शैक्षिक कार्यक्रमका लागि स्वीकृत लिएर बसेको र केही प्रक्रियामा रहेको क्याम्पस प्रमुख कोइरालाले बताए ।


Author

थप समाचार
x