शिक्षा

स्वास्थ्य मन्त्री बस्नेतले कोरोनाबाट पहिलो मृत्यु भएकी चालिसेको छोरालाई १२ कक्षासम्म निःशुल्क पढाइदिने

इकागज |
मंसिर ११, २०८० सोमबार १२:३८ बजे

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालमा कोरोना महामारीबाट पहिलो मृत्यु भएकी सावित्री तिमिल्सिना चालिसेको छोरालाई निःशुल्क पढाइदिने भएका छन् ।

विश्वका विभिन्न मुलुकसहित नेपालमा फैलिएको कोरोना महामारीबाट नेपालमा पहिलो मृत्यु भएकी सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका- ९ राम्चेकी सुत्केरी महिला चालिसेको छोरालाई मन्त्री बस्नेतले आफ्नै निजी खर्चमा निःशुल्क पढाइदिन लागेका हुन् ।


विस २०७७ जेठमा चालिसेको मृत्यु हुँदा छोरा सफल नौ दिनको मात्र थिए । अहिले तीन वर्ष नाघेसँगै मन्त्री बस्नेतले सोमबार काठमाडौँको टोखा नगरपालिका- ९ गोँगबुस्थित कान्तिपुर इङ्लिस एकेडेमीमा भर्ना गरिदिएका छन् । उनले चालिसेको छोरा सफलको पठनपाठनको खर्च स्वरुप आज रु ६० हजार नगद विद्यालयका प्राचार्य माधवप्रसाद अधिकारीलाई हस्तान्तरण गरे ।

रकम हस्तान्तरणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री बस्नेतले सफलको कक्षा १२ सम्मको पढाई खर्च आफूले बेहोर्ने बताए । मन्त्री बस्नेतले कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुनुपर्ने बताए । उनले कोरोनाको समयमा नेपाल सरकारले अक्सिजन सिलिण्डर ल्याउन नसक्दा आफूले चीनबाट ल्याएर निःशुल्क वितरण गरेको समेत दाबी गरे । 

मृतकका पति विमल चालिसेले कोरोनाबाट आफ्नो श्रीमतीको ज्यान जाँदा मन्त्री बस्नेतले छोराको पढाईको जिम्मा लिएर मानवीय सहयोग गरेको भन्दै आभार व्यक्त गरे ।


Author

थप समाचार
x