शिक्षा

विश्वविद्यालय सुधारको माग गर्दै ‘विश्वविद्यालय सडक बहस’

इकागज |
पुस १३, २०८० शुक्रबार १२:४ बजे

फाइल तस्बिर

काठमाडौँ - विश्वविद्यालय सुधारको माग गर्दै विद्यार्थीहरूले विश्वविद्यालय सडक बहस शुरु गरेका छन् । 

शुक्रवार काठमाडौंमा नेपाल ल क्याम्पस अगाडि विद्यार्थीहरूले विश्वविद्यालयको सुधारका माग राख्दै विश्वविद्यालय सडक बहस सुरु गरेका हुन् । उनीहरूले विश्वविद्यालयमा राजनीतिक भागबण्डा अन्त्य हुनुपर्ने, शिक्षा प्रणाली गुणस्तरीय बनाउनुपर्ने, विश्वविद्यालयलाई डिजिटलाइजेशन गर्नुपर्ने लगायतका माग राखेका छन् । विश्व विद्यालय सडक बहस कार्यक्रममा बोल्दै नेपाल ल क्याम्पसका विद्यार्थी ओमप्रकाश सुनारले  विश्वविद्यालयहरूमा पठनपाठन गर्ने हरेक गतिविधि निराशाजनक रहेको बताए । उनले पठनपाठनको स्थिति, शिक्षा प्रणाली, समयमै परीक्षा र नतिजा प्रकाशन नहुनेलगायत विद्यार्थीका आशाअनुरुपको अध्ययन नहुने समस्या रहेको बताए । उनले विश्वविद्यालयहरु डिजिटलाइजेशन हुनुपर्ने बताए । उनले विद्यार्थीलाई रोजगार र गुणस्तरसँग जोड्न नसके विद्यार्थीहरू अझै धेरै विदेश जाने सम्भावना रहेको बताए । उनले विश्वविद्यालयमा राजनीतिका कारण शिक्षक र कर्मचारी नियुक्ति हुन नसकेको समस्यालाई हटाइ गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने मागसहित विश्वविद्यालय सडक बहस सुरु गरेको बताए । 


उनले भने, ‘अहिले विश्वविद्यालय बहस किन चलाएका हौँ त भन्दा पछिल्लो समय नेपालका जतिपनि विश्वविद्यालयहरू छन्, त्यहाँको विश्वविद्यालयहरूमा पठनपाठन गर्ने हरेक गतिविधि हेर्ने हो भने सबै निराशाजनक छ । पठनपाठनको स्थितिदेखि लिएर त्यहाँको शिक्षा प्रणाली निचोड रुपमा हेर्ने हो भने त्रिभुवन विश्वविद्यालयको कुरा गर्दा समयमै परीक्षा नहुने, परीक्षा भइसकेपछिको नतिजा समयमै प्रकाशित नहुने र यहाँका विद्यार्थीहरूले आशा गरेअनुरुप विश्वविद्यालयमा पढाइ भइरहेको छैन । प्रत्येक विश्वविद्यालय डिजिटलाइजेसन हुनुपर्छ । त्यसको शैक्षिक क्यालेण्डर निर्माण गरी सोअनुसार पढाइ हुनुपर्छ । नेपाली समाजले खोजेको शिक्षा प्रणाली अनुसार पढाइ हुन जरुरी छ । त्यो सुधारका लागि हाम्रो आन्दोलन हो । पछिल्लो ८ महिनामा ७१ हजार ६ सय विद्यार्थी अध्ययनका लागि बाहिरिएका छन् । यो तथ्यांक हेर्दा विश्वविद्यालयको अवस्था डरलाग्दो छ । यही गतिमा गयो भने हाम्रो विश्वविद्यालयमा अबको ५ वर्षमा विद्यार्थी टर्च बालेर खोज्नुपर्छ । अहिले धेरै विद्यार्थी रोजगारसँग जोडिएर बाहिर गएका छन् । हाम्रा विद्यार्थीलाई रोजगार र गुणस्तरसँग जोड्न सकिएन भने अझै पनि गुणस्तरीय शिक्षाका लागि बाहिर जाने सम्भावना हुन्छ । विश्वविद्यालयमा अहिले पनि राजनीतिको कारणले दलीयकरण र भागबण्डाका कारण शिक्षक र कर्मचारी नियुक्ति हुन नसकेको अवस्था छ । त्रिभुवन विश्वविद्यालयमा ३२ प्रतिशत प्राध्यापक र ३५ प्रतिशत कर्मचारीको नियुक्ति अभाव छ । राजनीतिका कारण विश्वविद्यालय कोमामा छ ।’

कार्यक्रममा सहभागी अन्य विद्यार्थीहरुले विश्वविद्यालय सुधारको बहस सडक र सदनमा पनि उठाउनुपर्ने आवश्यकता रहेको बताए । उनीहरुले विश्वविद्यालयहरुलाई छाता ऐन चाहिएको र अबको विश्वविद्यालय विषयगत विश्वविद्यालय हुनुपर्ने बताए । विश्वविद्यालय सुधारका लागि सबै विद्यार्थीहरु एक भएर अघि बढ्न र दबाब सिर्जना गर्न जरुरी रहेको बताए । विद्यार्थीको हक अधिकार र राजनीतिको नाममा विद्यार्थी राजनीतिक संगठनले सस्तो सम्झौता गरेर टार्नु नहुने बताए । 


Author

थप समाचार
x