शिक्षा

कैलालीमा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बन्ने कुरामा कुनै दुविधा नराखौंः शिक्षामन्त्री राई

इकागज |
पुस १७, २०८० मंगलबार १९:३६ बजे

फाइल फोटो

काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले कैलालीमा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने कुरामा कुनै दुविधा नराख्न आग्रह गरेका छन् ।

मन्त्री राईले शहीद दशरथ राष्ट्रिय विज्ञान प्रतिष्ठान चलाउने कि भन्ने छलफल भएपनि अब त्यसलाई अब विश्वविद्यालयकै रुपमा अघि बढाउने बताएका हुन् । मंगलबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना समितिको बैठकमा बोल्दै उनले यसअघि भने सो ठाउँमा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने कि स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने भन्ने विषयमा संघ र स्थानीय सरकारबीच अलमल भएपनि अब विश्वविद्यालयकै रुपमा अघि बढाउने विषयमा सरकार स्पष्ट रहेको बताए । उनले सो विश्वविद्यालयले वरिष्ठ चिकित्सक गोविन्द केसीसँग गरिएको सम्झौता अनुसारको ७ वटा मेडिकल कलेज सोही विश्वविद्यालयको मातहतमा राख्ने सोच सरकारले अघि बढाएको पनि बताए । मन्त्री राईले उनले बुटवल र बर्दिवासमा मेडिकल कलेज स्थापनाका लागि जग्गा प्राप्तीको काम सकिएको र उदयपुर र इलाममा सो प्रक्रिया सुरु गरिएको पनि समितिलाई जानकारी दिए । उनले विश्वविद्यालय स्थापनाका लागि स्वास्थ्य मन्त्रालयसँग आफ्नो मन्त्रालयको कुनै पनि खालको तानातानीको अवस्था नरहेको पनि दोहोर्याए । 


मन्त्री राईले भने, ‘अब यो प्रतिष्ठान होइन, स्वास्थ्य विज्ञान विश्वविद्यालयकै रुपमा जान्छ । र, डाक्टर गोविन्द केसीजीसँग सरकारले गरेको सम्झौता अनुरूप ७ वटा मेडिकल कलेजहरु चलाउनुपर्ने । अब ती कलेजमध्ये सम्भवतः केही कलेजहरू यो विश्वविद्यालय दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सम्बन्धन अन्तर्गत चल्ने सोचको बारेमा पनि छलफल चलेको छ । बुटवल, बर्दिवासमा जग्गा प्राप्तको काम सकिएर डिपीआर बन्ने प्रक्रियामा छ । उदयपुर र इलामको हकमा इलाममा अब जग्गा प्राप्ति गर्ने काम टुंगो लाग्ने अवस्था छ । उदयपुरमा चाहिँ जग्गा प्राप्तिको निम्ति छनौटको विभिन्न ८/९ वटा विकल्पहरू छनौट समितिले हामीलाई दिएको छ । त्यसलाई टुंगो लगाउन बाँकी छ ।’

मन्त्री राईले विश्वविद्यालय बनाउने कुराको स्वामित्व शिक्षा मन्त्रालयले लिने भएकाले त्यसमा स्वास्थ्य मन्त्रालयसँग विवाद छ भन्ने कुरा नगर्न पनि सांसदहरुलाई आग्रह गरेका थिए । 


Author

थप समाचार
x