शिक्षा

सुदूरपश्‍चिममा १५ लाख थान पाठ्यपुस्तक बिक्री

इकागज |
चैत २९, २०८० बिहीबार १५:३० बजे

फाइल तस्बिर

कैलाली- जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले हालसम्म सुदूरपश्‍चिममा १५ लाख ११ हजार थान पाठ्यपुस्तक बिक्रीवितरण गरेको जनाएको छ । 

नयाँ शैक्षिकसत्र २०८१ का लागि प्रदेशका नौवटै जिल्लामा स्थानीय पुस्तक बिक्रेतामार्फत केन्द्रले पुस्तक बिक्रीवितरण गरेको हो । उक्त पुस्तक बिक्रीवितरणबाट रु १८ करोड बराबरको कारोबार गरिएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख रामबहादुर कुँवरले जानकारी दिए ।


उनका अनुसार केन्द्रले आगामी शैक्षिकसत्र २०८१ का लागि प्रदेशभर १९ लाख १५ हजार एक सय ८५ थान पाठ्यपुस्तक बिक्रीवितरण गर्ने लक्ष्य लिएको छ । प्रदेशका सबै जिल्लामा पाठ्यपुस्तक पुगिसकेको कार्यालय प्रमुख कुँवरले जानकारी दिए ।

'सात पहाडी जिल्लाका सबै ठाउँमा पाठ्यपुस्तक पुगिसकेको छ । केही छुटेका ठाउँमा पनि शैक्षिकसत्र सुरु हुनुअगावै पाठ्यपुस्तक पुर्‍याउँछौँ,' उनले भने, 'हामीसँग पाठ्यपुस्तक पर्याप्त छ । कैलाली र कञ्चनपुरमा पनि अधिकांश ठाउँमा पाठ्यपुस्तक पुगिसकेको छ । बाँकी पाठ्यपुस्तक शैक्षिक सत्रअगावै पुग्छ ।' 

केन्द्रले यही चैत १३ गतेदेखि पाठ्यपुस्तक बिक्रीवितरण सुरु गरेको थियो भने सबैभन्दा पहिले प्रदेशको विकट हिमाली जिल्ला बाजुरामा पाठ्यपुस्तक ढुवानी सुरु गरेको थियो । कक्षा १ देखि ४ सम्मका पाठ्यपुस्तक निजी क्षेत्रले बिक्रीवितरण गर्दै आएकामा आगामी शैक्षिकसत्रका लागि भने जनक शिक्षाले कक्षा ३ र ४ को पाठ्यपुस्तक २० प्रतिशत छुटमा बिक्रीवितरण गरिरहेको कार्यालय प्रमुख कुँवरले जानकारी दिए ।

चालु शैक्षिकसत्रमा केन्द्रले यस प्रदेशमा कक्षा ६ देखि १२ सम्मका १७ लाख ४१ हजार थान पाठ्यपुस्तक बिक्री गरेको जनाइएको छ ।


Author

थप समाचार
x