शिक्षा

अस्कलमा अनेरास्ववियुको दादागिरी, तालाबन्दीले परीक्षाको मुखमा फारम भर्नबाट विद्यार्थी वञ्चित

इकागज |
बैशाख ८, २०८१ शनिबार ८:२० बजे

काठमाडौँ- नेपालको पहिलो विज्ञान क्याम्पस अमृत साइन्स कलेज (अस्कल क्याम्पस) यतिबेला अस्तब्यस्त छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले चैत २५ गतेदेखि अस्कलको विभिन्न शाखामा जानकारी नदिएर तालाबन्दी गरेको छ ।

त्यस्तै चैत ३० गतेदेखि  प्रशासन शाखा, आर्थिक शाखा, परीक्षा शाखा र सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा अनेरास्ववियु तालाबन्दी गरेको कारण क्याम्पसका दैनिक प्रशासनिक र शैक्षिक गतिविधिमा गम्भीर असर परेको क्याम्पस प्रमुख डा. लोकबहादुर बरालले बताए । 


वैशाख १६ गतेदेखि स्नातक तह दोस्रो वर्षको परीक्षा सञ्चालन हुँदैछ । तर तालाबन्दी नखुल्दा स्नातक तह दोस्रो वर्षका विद्यार्थीहरू परीक्षा फारम भर्नबाट वञ्चित भएका छन् । त्यस्तै उनीहरूले आइडि कार्ड लिन पनि सकिरहेका छैनन् ।

कसरी भयो तालाबन्दी ?
अस्कल क्याम्पसमा तालाबन्दी हुनुको कारण दुई संगठनबीचको विवाद रहेको छ । २०८० चैत १८ गते स्वतन्त्र विद्यार्थी युनियन सभापति प्रेम जैशी, अखिल क्रान्तिकारी क्याम्पस कमिटी अध्यक्ष जितेन्द्र भण्डारी र उपाध्यक्ष विश्राम शर्मा पौडेलसहित क्याम्पसको क्यान्टिनमा चिया नास्ता खाइरहेका थिए । सोही समयमा अनेरास्ववियुका विद्यार्थीहरूसहित केही अन्य व्यक्तिले भौतिक आक्रमण गरी अखिल क्रान्तिकारीका अध्यक्ष भण्डारी र उपाध्यक्ष पौडेल दुवै जना सख्त घाइते हुनुका साथै स्ववियु सभापति जैशी उक्त आक्रमणको क्रममा भागेर ज्यान बचाउन सफल भएको क्याम्पस प्रमुख बरालले जारी गरेको अपीलमा उल्लेख छ ।

क्याम्पस प्रशासनलाई पक्राउ परेका र पक्राउ पर्न बाँकी रहेका विद्यार्थीहरूको विवरण सोह्रखुट्टे प्रहरी वृत्तबाट माग गरियो । क्याम्पस प्रशासनले माग गरिएको विवरण बुझाउँदा माग गरिएका मध्ये ४ जना अस्कलका विद्यार्थी रहेको र बाँकी १ जना व्यक्तिको विवरण क्याम्पसको रेकर्डमा नरहेको जानकारी क्याम्पसले दिएको थियो । सोह्रखुट्टे प्रहरी वृत्तलाई बुझाई सकिए पश्चात अनेरास्ववियु क्याम्पस कमिटीले पक्राउ परेका तर क्याम्पसको रेकर्डमा नरहेको व्यक्तिलाई भर्ना गर्न भनी दबाब दिएको प्रमुख बरालले बताए ।

'उक्त विषयलाई क्याम्पस प्रशासनले तत्काल अनुशन्धानको क्रममा रहेको व्यक्तिलाई भर्ना गर्न नसकिने भनि जवाफ दिइएकाले सोही भर्नाको विषयलाई लिएर गरिएको तालाबन्दीको कारण क्याम्पसका दैनिक प्रशासनिक र शैक्षिक गतिविधि गम्भीर रुपमा प्रभावित भएको हुँदा सम्बन्धित तालबन्दी गर्ने विद्यार्थी संगठनले बिना सर्त यथासिघ्र तालाबन्दी खोली क्याम्पसको दैनिक कार्य सञ्‍चालन गर्न सहज बनाउन अपिल गर्दछु' क्याम्पस प्रमुख बरालले जारी गरेको अपीलमा भनिएको छ 'साथै क्याम्पसका हरेक समस्याहरूको समाधान वार्ताद्वारा पूरा गर्न सकिने र वार्ता नै उत्तम विकल्प हुने भएकाले उक्त संगठनलाई जिम्मेवार भएर विद्यार्थीका जायज समस्याहरू मात्र लिएर वार्तामा आउन समेत अपिल गर्दछु ।'


Author

थप समाचार
x