शिक्षा

एयरपोर्टमा इडुरोम सञ्‍चालनमा ल्याइने

इकागज |
बैशाख १०, २०८१ सोमबार २०:३५ बजे

काठमाडौँ- काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (एयरपोर्ट) मा इडुरोम सञ्‍चालन गर्ने भएको छ । यसका लागि नागरिक उड्डयन कार्यालय र नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क (एनरेन) बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । हस्ताक्षरपछि अब सबैले विमानस्थलमा निर्वाध इडुरोम प्रयोग गर्न पाउने भएको हो । 

एनरेनले नेपालका सबै शिक्षण संस्था तथा अनुसन्धान गर्ने निकायहरूलाई वर्डलिङ्क मार्फत नि:शुल्क इडुरोम सेवा प्रदान गर्दै आएको जनाइएको छ । एनरेनले यो सेवा दिन थालेको धेरै वर्ष भइसक्दा पनि नेपालमा अनुसन्धानलाई दिइएको न्यून प्राथमिकता र अझैसम्म पनि पौराणिक शिक्षण विधि अपनाइएको कारण यो सेवाबारे धेरै संस्थाहरू अनभिज्ञ छन् । देश कोभिड महामारीले आक्रान्त भई भौतिक उपस्थितिमा कक्षा सञ्‍चालन गर्न असम्भव हुँदा एनरेनले शिक्षण संस्थाहरूलाई जूमको प्रयोग गरी अनलाइन कक्षा लिने सेवा दिन थालेपछि यस सञ्जालबारे उत्सुकता बढ्न सुरु भएको थियो । यसपछि एनरेनको सदस्य सङ्ख्यामा छोटो समयमै उल्लेख्य वृद्धि भएको थियो । कोभिड महामारीको प्रभाव घटेपछि पनि एनरेनले आफ्नो सेवा निरन्तर दिइरहेको छ । पछिल्लो समयमा एनरेनको सदस्य सङ्ख्यामा बिस्तारै वृद्धि भएको छ । तर, अनभिज्ञताकै कारण देशका अधिकांश शिक्षण संस्था तथा अनुसन्धान गर्ने निकायहरू एनरेनबाट पाउनसक्ने सेवाबाट अझै टाढा छन् ।


के हो इडुरोम ?

विश्वका शिक्षण संस्था तथा अनुसन्धान गर्ने निकायहरूको इन्टरनेट जस्तै एउटा छुट्टै सञ्जाललाई इडुरोम भनिन्छ । शिक्षण, अनुसन्धान तथा पेसागत रूपमा बढी प्रयोग हुने यस इडुरोम प्रयोग गर्दा आफ्नो कम्प्युटरमा भाइरस सर्ने सम्भावना न्यून रहन्छ । विश्वका सुपर कम्प्युटरहरूको अति शक्तिशाली क्षमतामा निर्बाध पहुँच हुने हुँदा शिक्षण तथा अनुसन्धानको लागि आफैँसँग ठूला सर्भरहरू आवश्यक पर्दैन । इडुरोम सेवा आफ्नो मोबाइल वा कम्प्युटरमा छ भने विश्वका कुनै पनि नाम चलेका विमानस्थल, विश्वविद्यालय र अनुसन्धान निकायमा जाने बित्तिकै लग–इन नगरिकनै आफैँ कनेक्ट हुन्छ ।

के हो एनरेन ?

विश्वका प्रतिष्ठित शिक्षण संस्था तथा अनुसन्धान निकायहरूको एउटा विश्वव्यापी सञ्जाल छ । हरेक देशमा उक्त सञ्जालसँग जोडिन एउटा छुट्टै निकाय स्थापना गरिएको हुन्छ । नेपालमा रहेको उक्त निकाय नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्क (एनरेन) हो । एनरेन एउटा विशुद्ध गैरनाफामूलक गैरसरकारी संस्थाको रूपमा दर्ता गरिएको छ । अन्य कयौँ देशहरूमा यस प्रकारका संस्था सरकार आफैले वा राष्ट्रिय स्तरका विश्वविद्यालयहरूले सञ्‍चालन गर्ने गरेका छन् । एनरेनका व्यक्तिगत तथा संस्थागत सदस्यहरूले यस सञ्जालको सबै सुविधाहरू प्रयोग गर्न सक्छन् । एनरेनमा अहिलेसम्ममा नेपालका कयौँ सरकारी, अनुसन्धान तथा शिक्षण संस्थाहरू आबद्ध छन् ।

एनरेनले आफ्ना सदस्यहरूलाई जूम प्रयोग गरी अनलाइन कार्यक्रम चलाउने सुविधा, इडुरोम प्रयोग गरी पेसागत सञ्जाल मार्फत नि:शुल्क इन्टरनेट प्रयोग, प्रतिष्ठित पेसागत जर्नलमा प्रकाशित शोध लेखहरूमा पहुँच, अन्तर्राष्ट्रिय शिक्षण तथा अनुसन्धान निकायहरूसँग आबद्ध रही ती निकायहरूसँग आर्थिक तथा प्राविधिक सहकार्य गर्ने र उनीहरूका शोध पूर्वाधारहरू प्रयोग गर्ने अवसर, र नेपालकै संस्थाहरूले आफ्ना शैक्षिक तथा शोधकार्यको नतिजा अन्तर्राष्ट्रिय क्षेत्रमा उजागर गर्न साझा डबली प्रदान गर्दछ ।
 


Author

थप समाचार
x