शिक्षा

अटिजम भएका विद्यार्थीलाई पढाउने शिक्षक र मनोपरामर्शदातालाई शिक्षण अनुमति पत्र आवश्यक: मन्त्री श्रेष्ठ

इकागज |
जेठ ६, २०८१ आइतबार १२:५४ बजे

फाइल तस्बिर

काठमाडौँ - शिक्षामन्त्री सुमना श्रेष्ठले गुणस्तरीय शिक्षाको आधार, ईसीडी शिक्षामा सुधार भन्ने नाराका साथ एकल प्रदर्शन गर्दै आएका नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईंसँग भेट गरेकी छिन् । 

माइतीघर मण्डलामा विगत पाँच दिनदेखि उभिएर विरोध जनाउँदै आएका चापागाईंसँग शिक्षामन्त्री श्रेष्ठले प्रदर्शनस्थलमै पुगेर आइतबार भेट गरेकी हुन् । 


मन्त्री श्रेष्ठले चापागाईंंको मागलाई ऐक्यबद्धता जनाउँदै उनले उठाएको माग जायज र निकै महत्वपूर्ण भएको भन्दै माग सम्बोधन गर्ने आश्वासन दिइन् । 

आन्दोलनरत चापागाईंले प्रारम्भिक बाल विकास (ईसीडी) तहलाई तीन तहको बनाउनुपर्ने, अटिजम भएका विद्यार्थीलाई पढाउने शिक्षक र कर्मचारीलाई तालिम दिनुपर्ने, विद्यालयको बजेटमार्फत सिकाई सामग्रीको ग्यारेन्टी गर्नुपर्ने र कुन सरकारले आधारभूत तहको शिक्षा हेर्ने भन्ने कुरामा स्पष्ट हुनुपर्ने आफ्नो माग रहेको शिक्षामन्त्रीलाई बताए । 

जवाफमा मन्त्री श्रेष्ठले अटिजम भएका विद्यार्थीलाई पढाउने शिक्षक र मनोपरामर्शदातालाई शिक्षण अनुमति पत्र आवश्यक रहेको बताइन् । उनले अनुमति पत्र भएपछि मात्रै विद्यालय खोल्नुको औचित्य हुने भएकाले सरकारले त्यस काममा आवश्यक कदम चालिरहेको पनि उल्लेख गरिन् । 

यस्तै चापागाईंले आधारभूत तहको शिक्षामा सरकारी तह र निजीको असमानतालाई हटाउनुपर्ने, विद्यार्थीको दिवा खाजा खर्च १५ रहेकोमा ५० रुपैयाँ बनाउनुपर्ने, शिक्षक कर्मचारीको तलब अन्तर्राष्ट्रिय मान्यताको आधारमा बनाउनुपर्ने मागसहित उभिएर विरोध जनाइरहेका छन् । 


Author

थप समाचार
x