शिक्षा

कर्णालीमा अनलाइन कक्षाको प्रभाव

अधिकांश विद्यार्थी इन्टनेटको पहुँचबाहिर

जितेन्द्र थापा |
साउन ३१, २०७८ आइतबार १३:१५ बजे

सुर्खेत - दैलेखको ठाटीकाँध गाउँपालिका–२ बासी सरस्वती नेपाली ६ कक्षामा अध्यानरत विद्यार्थी हुन् । उनलाई अनलाइन कक्षा भनेको के हो ? भन्ने थाहसम्म छैन । कोभिड महामारीले विद्यालय बन्द भएपछि कापी–किताब विद्यालय लिने झोला जहाँको त्यहीँ छ ।  विद्यालयलाई बिर्सदै गएकी छिन् । लामो समय विद्यालय बन्द रहँदा पढ्ने रुचि पनि घटिसक्यो ।  बरु सधैँजसो उनी मेलापात, गाई–भैँसीको गोठाला, खेतबारी गोडमेल र घाँस दाउरा काट्नमै दिन बित्छ ।

‘अनलाइन कक्षा हुन्छ कि नाइँ ?’ उनी उल्टै प्रश्न गर्छिन्, ‘अनलाइन कक्षा भनेको के हो ?’ ‘कोभिडका कारण विद्यालय बन्द भयो, किताब हेरौँ त सिकाइदिने कोही छैनन् घरमा कसरी पढ्ने, गाइभैँसी हेर्न र घाँस–दाउरा गर्न नै ठिक्क हुन्छ । दिनभरिको कामले गर्दा किताब हेर्ने फुर्सदसम्म हुँदैन’ ‘गोरु–गोठाला, खेतवारी गोड्मेल र घाँसदाउरा काट्न मै उनका दिनहरु बित्छन् ।


त्यस्तै, ठाटीकाँध–३ कै मनिशा भण्डारी पनि कोभिडका कारण परीक्षा नदिएरै उपल्लो कक्षा १० मा पुगिन् । विद्यालय बन्द छ । उनको पनि दैनिकी पनि प्रायः चुलोमा खाना बनाउनमै बित्छ । अनि बचेको समय गाइभैँसीलाई घाँसपात बित्छ । ‘विद्यालय जाऊँ त विद्यालय बन्द छ, अनलाइन कक्षा पढौँ त नेट इन्टनेटको सुविधा छैन, बिहान साँझको समय खाना बनाउँदै र दिउँसोको समय गाईभैँसीलाई घाँसपात काट्नै ठिक्क हुन्छ ।’

यता सुर्खेतको पञ्चपुरी नगरपालिका–२ का निर्मला थापा पनि तीन कक्षामा अध्यनरत विद्यार्थी हुन् । कोभिडका कारण उनी पनि विद्यालय नगएको महिनौँ भइसक्यो । विद्यालय बन्द भएदेखि अनलाइन कक्षा पढ्नु सपना जस्तै छ उनलाई । गाउँमा नेटको पहुँच नभएका कारण अनलाइन कक्षा छैन ।

अनलाई कलास पढ्नु त परको कुरा अनलाइन क्लासको न सम्म थाहा छैन उनलाई । विद्यालय बन्द भयो त्यही दिनबाट उनले किताब समाएका छैनन । उमेरले नौ वर्ष पुगेका उनको दैनिकी ढुंगा माटोको घर बनाउदै दिन बित्छ ।

घरमा साँझ–बिहान सिकाउने सम्झाउने कोही छैनन् उनले भनिन्, ‘विद्यालयको मुहार नदेखेको पनि लामो समय भइसक्यो, विद्यालय खुलेको भए साथीभाइसँग रमाइलो गर्दै विद्यालय पढ्न जाने मन हुन्छ विद्यालय खुल्दैन घरमा पढ्न मन लाग्दैन ।’

त्यस्तै सुर्खेतको वीरेन्द्रनगरमा बस्ने दैलेख भैरवी गाउँपालिकाकी ममता थापाको पनि ६ कक्षामा पढ्छिन्् । उनले अनलाइन कक्षा पढिरहेकी छिन् । अनलाइन कक्षा पढेपनि पत्यक्ष रुपमा कक्षामा पढेजस्तो नहुने बताउँछन् । ‘अनलाइन क्लासमा केही समय केही बुझेजस्तो हुन्छ पछि बिर्सिन्छु’, उनले भनिन्,’ ‘अनलाइन क्लासमा बस्दा बस्दै दिक्क लाग्छ आँखा दुख्छन् र टाउको समेत दुख्छ कक्षामा पढेजस्तो हुँदैन ।’

७७.८ प्रतिशत नागरिक विद्युतको पहुँचमा 
आर्थिक सर्वेक्षणअनुसार देशका जम्मा ७७.८ प्रतिशत नागरिक विद्युतको पहुँचमा छन् भने कूल जनसंख्यामध्ये ५८ प्रतिशत जनतामा मात्र इन्टरनेट सुविधा पुगेको छ । त्यस्तै, देशका २९ हजार ६ सय ७ सामुदायिक विद्यालयमध्ये कम्प्युटर सुविधा भएको विद्यालयको संख्या जम्मा ८ हजार ३ सय ६६ मात्र छ ।

जब उही कक्षामा पढ्ने विद्यार्थीमध्ये एउटाको घरमा सम्पूर्ण सुविधा छ र उसले लगातार शिक्षकसँग सम्पर्क गर्न सकिरहेको छ भने अर्कासँग यी कुनै पहुँच नभएका कारण शिक्षा लिनबाट वञ्चित छन् । यस्तो स्थितिमा कसरी सबै बालबालिकाले अनलाइन शिक्षाबाट लाभ लिन सक्छन ?

दुर्गमका विद्यार्थी छैनन् अनलाइन कक्षाको पहुँचमा 
नेपालजस्तो विकासोन्मुख देशमा इन्टरनेट तथा बिजुलीको सुविधा गाउँ–गाउँसम्म समान रूपमा पुग्न नसकेका कारण दुर्गम ठाउँका विद्यार्थीहरु अनलाइन क्लासको पहुँच बाहिर छन् । प्रविधिको सुविधा सम्पन्न भएको ठाउँका विद्यालयमा अनलाइन कक्षा संचालन भएपनि इन्टनेटको पहुँचबाहिर रहेका विद्यार्थीहरु पहुँच बाहिर रहेका छन् । 

नेट इन्टनेटको पहुँचमा नभएका दुर्गम क्षेत्र तथा सबैजसो सामुदायिक विद्यालयमा पठन–पाठन ठप्प छ ।  कोरोनाका कारण विद्यालय बन्द भएपछि दुर्गमका अधिकांश विद्यार्थीहरुको दिनचर्या गाईभैँसी, मेलापात, घाँसपात काट्नमै बित्छ । 

सुविधासम्पन्न क्षेत्रका निजी विद्यालयले भने अनलाइन पद्धतिको माध्यमबाट शिक्षण सिकाइ क्रियाकलापलाई निरन्तरता दिएका छन् । पढाइलाई निरन्तरता दिएपनि विद्यार्थीले मन लगाई नलगाई अनलाइन क्लास लिइरहेका छन् । 

अनलाइन कक्षाले दीर्घकालीन असर गर्ने 
अनलाइन कक्षाले केही समयका लागि राम्रो गरेपनि दीर्घकालीन रुपमा असर गर्ने कृष्ण माध्यामिक विद्यालय ठाटीकाँधका शिक्षक सुरेन्द्र थापा बताउँछन् । ‘भौतिक रूपमा कक्षा कोठामा उपस्थित भई शिक्षक विद्यार्थीबीचको अन्तक्र्रियाबाट सम्पन्न हुनुपर्ने शिक्षण सिकाइ क्रियाकलापको परिपूरक अनलाइन शिक्षण विधि हुन सक्दैन’ उनी भन्छन्, ‘तर महामारीको अवस्थाको सबैभन्दा भरपर्दाे र प्रभावकारी विधि भने अनलाइन कक्षा हो । तर, यसले दीर्घकालीन रुपमा असर गर्नसक्छ ।’ 

प्रविधिसँग अनुकूल हुने किसिमको शिक्षण विधि, आवश्यक किसिमको अनुगमन नियन्त्रणको व्यवस्था तथा विद्यार्थीमैत्री वातावरणको अभावले विद्यालय तहको अनलाइन शिक्षा पूर्ण प्रभावकारी भने हुन शिक्षकहरु बताउँदै आएका छन्  । 

उता कोरोनाका कारण विद्यालय बन्द भएर पठन–पाठन ठप्प भएपछि अभिभावक चिन्तामा भएको नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका केन्द्रीय उपाध्यक्ष तथा कृष्ण मावि ठाटीकाँधकी प्रधानाध्यापक इलामल्ल शाही बताउँछिन् ।  उनले भनिन्, ‘विद्यालय बन्दले अभिभावक निकै चिन्तामा छन्, कहीँ कतै बाटोमा भेट भएपनि विद्यालय कहिले खुल्ने हो भने सोधिहाल्छन् ।’ 

पहिले विद्यालयमा नियमित रुपमा गएर शिक्षा हासिल गर्ने विद्यार्थी कोही घरायसि काम र विभिन्न कुलतमा फस्दै गएकामा अभिभावकलाई पिरोलिरहेको छ । 
नेटइन्टनेट भएको ठाउँमा अनलाइन कक्षा पढेका छन् । तर हामी दुर्गममा बसेका छोराछोरीले कहिले अनलाइन कक्षा पढ्न पाउलान् दैलेख ठाटीकाँधका रातो सुजीे दुखेसो पोखे । ‘पहिले नियमित रुपमा विद्यालय जाने मेरो छोरा न त किताब हेर्छ न त भनेको नै मान्छ’ उनले भने, ‘जति सम्झाउँदा नि मान्दैन पढ् भन्दा विद्यालय खुल्दैनन् किन पढ्ने हो भन्छ ।’

विद्यालय बन्दले दुर्गमका विद्याथीहरुको दिनचर्या यसरि नै व्यतित भइरहेका छन् । उनले भनिन्, ‘दिनभरि साथीहरुसँग बरालिएर हिँड्छ । पढ न बाबु भन्दा कोरानाले गर्दा नपढे पनि पास भइहाल्छु चिन्ता नगर्नु बुबा भन्छ ।’


Author

थप समाचार
x