शिक्षा

प्रधानमन्त्री देउवाले गरे गण्डकीलाई साक्षर प्रदेश घोषणा

इकागज |
असोज २४, २०७८ आइतबार १२:२४ बजे

प्रधानमन्त्री शेरबहादुर देउवा पोखरामा आइतबार साक्षर गण्डकी प्रदेश स्तम्भ अनावरण गर्दै । तस्बिरः रासस

पोखरा - गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको छ । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेशलाई साक्षर प्रदेश घोषणा गरेका हुन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्ने प्रस्ताव राखेका थिए । प्रस्तावलाई स्वीकृत गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले साक्षर गण्डकी प्रदेश घोषणा गरेका हुन् ।

३० भदौमा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सबै जिल्ला साक्षर घोषणा भइसकेकोले साक्षर गण्डकी अवधारणापत्र स्वीकृत गरी साक्षर प्रदेश घोषणा गर्ने निर्णय गरेको थियो । प्राप्त तथ्यांकअनुसार नवलपुरमा सबैभन्दा बढी ९८ प्रतिशत नागरिक साक्षर छन् । सबैभन्दा कम लमजुङमा ९५.५ प्रतिशतमात्रै नागरिक साक्षर भएको तथ्यांक छ ।


यस्तै मुस्ताङ ९६.३५, स्याङ्जा ९६.१६, कास्की ९६, तनहुँ ९६.४, बागलुङ ९६.५७, मनाङ ९६.९, गोरखा ९७.२, म्याग्दी ९६.२७ र पर्वत ९६.९३ प्रतिशत नागरिक साक्षर भइसकेको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले जनाएको छ । जिल्लागत रूपमा सबै जिल्ला साक्षर घोषणा भइसकेका छन् । मुस्ताङलाई सबैभन्दा पहिलो साक्षर जिल्ला घोषणा गरिएको हो ।

३१ असार ०७१ मा मुस्ताङ साक्षर जिल्ला घोषित भएको हो भने सबैभन्दा अन्तिममा पर्वतलाई १८ माघ ०७४ मा साक्षर जिल्ला घोषणा गरिएको हो । लक्षित समूहका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भए साक्षर जिल्ला घोषणा गर्न मिल्ने प्रचलन छ । अघिल्लो नीति तथा कार्यक्रममा २ वर्षभित्र प्रदेशलाई साक्षर घोषणा गर्ने बताइएको थियो ।


Author

थप समाचार
x