स्थानीय तह निर्वाचन २०७९

त्रियुगा नगरपालिकाको मतगणना गर्ने आयोगको निर्णय

बाबुराम भण्डारी |
जेठ १०, २०७९ मंगलबार ८:३८ बजे

विराटनगर - निर्वाचन आयोगले उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना सुरु गर्ने निर्णय गरेको छ । बैशाख ३० गते मतदान सकिनै लाग्दा अचानक आएको हावाहुरी र बर्षाका कारण त्रियुगा नगरपालिका वडा नम्बर १२ स्थित जनप्रेमी आधारभूत विद्यालयको मतदान प्रभावित भएको थियो ।

बर्षाका कारण केही मतदाताले मतदान गर्न नपाएको भन्दै नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनले त्यहाँ पुनः मतदान गर्नुपर्ने माग अघि सारेको थियो ।


नेपाली कांग्रेस र नेकपा एमालेले भने खसेको मतको गणना हुनुपर्ने माग राख्दै आएका थिए । उक्त विषय विवादित बनेपछि निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले स्थलगत रुपमै राजनीतिक दल, उम्मेदवार, नागरिक समाज र स्थानीय प्रशासनसँग विवाद भएको विषयमा राय बुझेका थिए ।

आयुक्त भण्डारीले सबै पक्षसँगको रायका आधारमा मतगणना सुरु गर्न आयोगका तर्फबाट मुख्य निर्वाचन अधिकृतको कार्यालय गाईघाटलाई निर्देशन दिएको जनाइएको छ । उदयपुरका मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले आयोगले मतगणना गर्न निर्देशन दिएका कारण गणनाको तयारी सुरु गरिएको बताए ।

‘अहिले गणनास्थल तयारीको काम अघि बढाएका छौं, दलहरूलाई बोलाउन काम पनि गर्दैछौँ’ मुख्य निर्वाचन अधिकृत सिलवालले भने, ‘अब केहीबेरमै दलहरूका तर्फबाट गणनामा खटिने एजेन्ट र गणना कर्मचारीहरूलाई ओरिन्टेशन दिएर अपराह्न २ बजेसम्ममा गणना सुचारु गर्छौं ।’

जनप्रेमी आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गर्ने मतदाताको संख्या ३ हजार १९२ रहेको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले उक्त मतदान केन्द्रमा खसेको मतप्रतिशत सार्वजनिक गरेको छैन ।

विवाद चर्किएका कारण पक्ष र विपक्षमा उभिएका उम्मेदवार र दलहरूले पुनः मतदान हुनुपर्ने र मतगणना तत्कालै सुरु गर्नुपर्ने अलग–अलग माग राख्दै उच्च अदालत विराटनगरमा दायर गरेको रिट सुनुवाइकै क्रममा रहेको छ ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x