स्थानीय तह निर्वाचन २०७९

'भरतपुरका अटेरी' जगन्नाथ अब के गर्लान् ?

'चुनावमा सबैले पैसा र शक्तिको प्रयोग गरे, प्रहरी-प्रशासन मूकदर्शक बन्यो'

अतिन आचार्य |
जेठ १०, २०७९ मंगलबार १३:४१ बजे

काठमाडौँ -  जगन्नाथ पौडेल चुनावभरि चर्चामा रहे । भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएपछि राष्ट्रिय राजनीतिमै उनको चर्चा भयो । सत्ता गठबन्धनको टाउको दुखाइकै विषय पनि बने । उनको उम्मेदवारी फिर्ता गराउन कांग्रेस सभापति शेरबहादुर देउवादेखि माओवादी अध्यक्ष प्रचण्डसम्मको प्रयास विफल रह्यो ।

विभिन्न प्रलोभन र आश्वासनको उनले वास्ता गरेनन् । पार्टी र शीर्ष नेताका निर्देशन उनले अटेर गरे । आफ्नो अडानबाट टसमस भएनन् । चुनावी प्रतिस्पर्धामा सामेल भएरै छोडे । 


भरतपुरको चुनावी नतिजामा उनले ठूलो प्रभाव पार्ने धेरैको आँकलन थियो । चुनावअघि उनी भन्थे, 'स्वतन्त्र उम्मेदवारले जितेका धेरै उदाहरण छन् । परिणाम नसोचेको पनि आउन सक्छ । मेरो पक्षमा मत आउँदा अचम्म नमान्नु होला ।' अर्थात उनी आशावादी थिए । 

तर, परिणाम उनले र धेरैले आँकलन गरेजस्तो आएन । भरतपुरमा गठबन्धनबाट उम्मेदवार बनेकी माओवादीकी रेनु दाहाल मेयरमा निर्वाचित भइन् । त्यो पनि ठूलो मतान्तरसहित । नेकपा एमालेका विजय सुवेदी दोस्रो भए । 

पौडेलले पनि सम्मानजनक मत ल्याए । उनले १४ हजार ७ सय २८ मत प्राप्त गरी तेस्रो स्थान हासिल गरे । तर, धेरैले आँकलन गरेजस्तो चुनावी नतिजामा खासै प्रभाव पार्न भने सकेनन् । 

अन्तिमसम्म प्रयास गर्दा पनि पौडेलले 'टेरपुच्छर' नलाएपछि कांग्रेसले उनको साधारण सदस्यसमेत खोसिदियो । लामो समय कांग्रेस राजनीतिमा सक्रिय उनी हाल पार्टीविहीन भएका छन् । 

पौडेलले अब के गर्छन् ? धेरैको चासो यसैमा छ । 

तर, उनी भने पार्टीमै रहने बताउँछन् । बरु जिल्लामा पार्टीलाई एक ढिक्का बनाएर लैजाने उनको भनाइ छ । 'जिल्लामा त अहिले पनि म कांग्रेसी हुँ । कांग्रेस नै रहन्छु,' चुनावी नतिजापछि इकागज उनले भने, 'कांग्रेसका दुई-चार जनाले कारबाही गर्दैमा केही हुँदैन ।'

औपचारिक रूपमा कांग्रेसले आफूलाई कारबाही नगरेको उनको दाबी छ । उनले जिल्लामा आफ्नो विचारलाई अगाडि बढाउन क्रियाशील रहने बताए । आफूलाई १४ हजार बढी मतदाताले भोट दिएको स्मरण गर्दै सबैलाई कारबाही गर्न उनले पार्टीलाई चुनौती दिए । उनी आफूले पाएको मतप्रति सन्तुष्ट छन् ।

'प्रचार-प्रसारको समयमा राम्रो थियो । मौन अवधि लागू भएपछि सबैले पैसा र शक्ति प्रयोग गरे । अनुगमन गर्ने सरोकारवाला निकायले बेवास्ता गर्दा अन्य पक्षले राम्रोसँग खेले,' उनी भन्छन्, 'साम, दाम र दण्ड भेदको प्रयोग गरी सबैले नैतिकता गुमाए । प्रहरी प्रशासन मूकदर्शक भयो । मानिसहरू हात-हातमा पैसा बाँड्दै हिँडे । सबैको रिपोर्ट जानकारी हुँदाहुँदै पनि सबले बेवास्ता गरे ।'

सच्चा इमान्दार मानिस हामीसँगै रहेकाले पनि यत्रो विश्वासको मत पाएको उनको भनाइ छ। राजनीतिक र सामाजिक जीवनमा उतिकै सक्रिय रहने उनले सुनाए ।

पार्टीले कारबाही गरिसकेको अवस्थामा अरु पार्टीमा जाने वा नयाँ पार्टीले खोल्ने सम्भावना के छ ? भन्ने इकागजको प्रश्नमा उनले नयाँ पार्टीको सम्भावना ठाडै अस्वीकार गरे । आफू अहिले पनि कांग्रेसी नै रहेकोले अरु पार्टीमा जाने वा नयाँ खोल्ने प्रश्नै नउठ्ने उनको जवाफ थियो । 'मैले माथि पनि भनेँ । दुई/चार जनाले कारबाही गर्दैमा केही फरक पर्दैन । मलाई हजारौ कार्यकर्ताको साथ समर्थन रहेको चुनावले पनि देखायो । म कांग्रेसी हुँ, कांग्रेसी नै रहनेछु । अरु प्रश्नै उठ्दैन ।'

 

 

 

 


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x