स्थानीय तह निर्वाचन २०७९

सफा र सुन्दर जनकपुरधाम बनाउने मेयर साहकाे प्रतिबद्धता

इकागज |
जेठ १०, २०७९ मगलवार १३:२१ बजे

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिका नवनिर्वाचित नगरप्रमुख मनोज साहले सफा र सुन्दर जनकपुरधाम बनाउने प्रतिबद्धता जनाएका छन् ।

साेमबार बेलुका निर्वाचित भए लगतै संचारकर्मीहरूसँग कुरा गर्दै नवनिर्वाचित मेयर साहले भने ‘हाम्रो जनकपुरधाम : राम्रो जनकपुरधाम नाराका साथ अघि बढेर सफा र सुन्दर जनकपुरधाम बनाउने बताए।


उनले उपमहानगरपालिकाभित्र फोहोर व्यवस्थापनका लागि सेनेटरी ल्यान्डफिल साइट निर्माण तत्काल सुरु गराउने र फोहोर व्यवस्थापनका लागि आवश्यक उपकरण तथा जनशक्ति परिचालन गर्ने बताए ।

साहले फोहोर व्यवस्थापन कार्यमा आधुनिक तथा वैज्ञानिक प्रणाली अपनाई यसबाट घरेलु कार्यमा प्रयोग हुने ऊर्जा तथा कम्पोस्ट मल उत्पादन गरी कृषि कार्यमा जैविक प्रविधिको प्रोत्साहन तथा जनस्वास्थ्यमा पर्ने नकारात्मक असरको जोखिम न्यूनीकरण गर्ने, आवश्यकताअनुसार सामुदायिक संस्था एवं निजीक्षेत्रको सहभागितामा समेत फोहोर व्यवस्थापनमा तीव्रता ल्याउने प्रतिबद्धता जनाए ।

नवनिर्वाचित नगरप्रमुख साहले सफा जनकपुरधाम उपमहानगरपालिकाका लागि प्रत्येक वडामा यथासम्भव हुने गरी सुरक्षित एवं साधन सम्पन्न फोहोर संकलन केन्द्र स्थापना तथा सञ्चालन गरिने, फोहोर संकलन केन्द्रबाट तत्काल फोहोर मैला ल्यान्डफिल साइटसम्म पुर्याउने व्यवस्था गरिने बताए ।

साथै उनले सडक पेटी व्यवस्थापन गरी व्यवसायी तथा पर्यटक मैत्री बनाइने, ऐतिहासिक, धार्मिक, पुरातात्विक तथा साँस्कृतिक सम्पदाको मर्मत सम्भार, नियमित रेखदेख तथा थप सौन्दर्यीकरण गरिने लगायतका प्रतिबद्धता गरेका छन् ।

यस्ताे छ नवनिर्वाचित मेयर साहकाे प्रतिबद्धता पत्र

जनकपुरधाम उपमहानगरपालिकाकाे सरसफाईका साथै ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक धरोहरहरूका विषयमा खोजीनीति, अध्ययन अनुसन्धान तथा तिनका विषयमा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरमा सूचना प्रवाह गरी जनकपुरधामको आर्थिक गतिविधिका एउटा प्रमुख स्रोतका रूपमा पर्यटन व्यवसाय प्रवर्द्धन गर्ने, जनकपुरधामस्थित ऐतिहासिक र धार्मिक महत्वका बाह्रविग्घा (रंगभूमि) मैदानलाई स्वच्छ, सफा, हराभरा बनाइने ।

विभिन्न पोखरीको सरसफाइ गरी डिलको सौन्दर्यीकरण मार्फत रमणीय ठाउँका रूपमा विकास गरिने, उपमहानगर क्षेत्रभित्र सुरक्षा प्रबन्धनका लागि आवश्यक ठाउँमा चौबिसौं घन्टा काम गर्नेगरी सिसिटीभी क्यामरा जडान गराइने तथा सबै वडालाई फ्री इन्टरनेट वाइफाइ क्षेत्र बनाइने ।

जनकपुरधाम विमानस्थलको स्तरोन्नतिका लागि सम्बद्ध निकायहरूसँग गम्भीर समन्वय गरिने तथा पर्यटकीय सहर वा क्षेत्रसँगजोड्न विमानसेवा सञ्चालन गराउन पहल गरिने, उपमहानगलाई महानगरपालिकामा स्तरोन्नति गर्न आवश्यक पूर्वाधारका रूपमा आउटर रिङरोडसँगै अन्य भौतिक तथा मानवीय पूर्वाधार तयारीमा आरम्भबाटै जुट्ने समेत प्रतिबद्धता पत्र जनाएकाे छ ।

उपमहानगरकाको कामकाज पारदर्शी बनाउन उपमहानगरपालिकाद्वारा गरिने कामबारे नियमित जानकारी प्रदान गरिने, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाई उपमहानगरपालिका र मातहतका कार्यालयमा प्रशासन यन्त्रलाई चुस्तदुरुस्त बनाई सेवा प्रवाहमा सरलता एवम् सहजता ल्याइनुका साथै कार्यालयलाई सेवाग्राहीमैत्री बनाउन, उजुरी र गुनासा सुन्ने तथा तत्काल समाधान गर्ने हटलाइनको व्यवस्था गरिने ।

जनकपुरधाम उपमहानगरपालिकाबाट लामखुट्टे नियन्त्रण गर्न दीर्घकालीन नीति बनाई कार्यान्वयन गर्ने, दलित, जनजाति, उत्पीडित तथा सीमान्तकृत समुदायको पहिचान गरी उनीहरूको आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक पहुँच बढाई आत्मनिर्भर बनाउन कार्ययोजना बनाइने ।

उपमहानगरपालिका क्षेत्रभित्र रहेका ग्रामीण वडाहरूमा किसानलाई कृषिउपज बढाउनका लागि आवश्यक मलखाद, बिउबिजन, सिँचाइ सेवा, कृषिउपकरण र कृषिउपजको बजार व्यवस्थापन गरिने तथा कृषकका लागि चाहिने प्रविधिजन्य ज्ञान विस्तारका लागि कार्यक्रम ल्याइने, आधुनिक फलमन्डी (फलबजार) निर्माण गराई फलफूलको व्यापार प्रवर्द्धन गरिने तथा फल व्यवसायीका लागि फलफूल आयातमा विशेष सहुलियतको व्यवस्था गरिने ।

अतिविपन्न नागरिकहरूको पहिचान गरी आवासबाट वञ्चित भएका व्यक्तिहरूलाई घर बनाई हस्तान्तरण गरिने, २५ वटै वडासम्म सडक सञ्जाल तयार पारी सार्वजनिक परिवहनको व्यवस्था गरिने, उपमहानगरपालिकाभित्र अत्याधुनिक बस स्ट्यान्ड निर्माण गर्न पहल गरिने ।

जनकपुरधाम उपमहानगरपालिका क्षेत्रभित्रका २५ वटै वडामा सुलभ शौचालय निर्माण गरिने, सामुदायिक विद्यालयहरूमा गुणस्तरीय शिक्षा प्रदान गर्न आवश्यक पूर्वाधार, जनशक्ति व्यवस्थापनका साथै सेमीबोडर्स लगायतका विशेष कार्यक्रमहरू ल्याइनुका साथै स्वास्थ्य संस्थाहरूको गुणात्मक तथा संरचनात्मक विकास गरिने कुरामाथि आफ्नो जोड रहने बताएका छन् ।


Author

थप समाचार
x