स्थानीय तह निर्वाचन २०७९

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

इकागज |
जेठ १३, २०७९ शुक्रबार १३:३३ बजे

काठमाडौं– स्थानीय निर्वाचन सकिएर एकाध बाहेक अधिकांश पालिकाको मत परिणाम आइसकेको छ । निर्वाचन परिणाम अनुसार सात प्रदेशको राजधानी रहेका पालिकामा कांग्रेस र एकीकृत समाजवादीले समान २–२ प्रदेश राजधानी भएको पालिका जितेको छ । बाँकी ३ प्रदेश रहेका पालिका स्वतन्त्र सहित एमाले र माओवादीले जितेका छन् । 


कांग्रेसले प्रदेश १ को राजधानी भएको विराटनगर महानगरपालिका र सुदूरपश्चिम प्रदेशको राजधानी भएको गोदावरी नगरपालिका जितेको छ । विराटनगरको मेयर पदमा कांग्रेसका नागेश कोइराला विजयी भएका छन् । उनले एमालेका सागर थापालाई हराएर विजयी भएका हुन् । सुदूरपश्चिम प्रदेशको राजधानी भएको कैलालीको गोदावरी नगरपालिकाको प्रमुख पद कांग्रेसका वीरेन्द्र भट्ट विजयी भएका छन् । उनले एमालेका गोकर्ण भट्टलाई ४ हजार २ सय ७७ मतले हराएर  जितेका हुन् । 



यस्तै एकीकृत समाजवादीले बाग्मती प्रदेशको राजधानी रहेको हेटौँडा उपमहानगरपालिका र गण्डकी प्रदेशको राजधानी रहेको पोखरा महानगरपालिका जितेको छ । 
गण्डकी प्रदेशको राजधानी भएको पोखरा महानगरपालिका नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले जितेका हुन् । उनले एमालेका आफ्ना पूर्व सहकर्मी कृष्ण थापालाई हराउँदै जित हासिल गरे । अघिल्लो निर्वाचनमा पोखरा महानगर एमालेले जितेको थियो ।

यस्तै बाग्मती प्रदेशको राजधानी भएको हेटौँडा उपमहानगरपालिका पनि एकीकृत समाजवादीले जितेको छ । हेटौँडाको मेयरमा एकीकृत समाजवादीकी मीना लामा निर्वाचित भएकी छिन् । लामाले एमालेका अनन्तप्रसाद पौडेललाई हराएर हेटौँडाको नेतृत्व लिएकी हुन् । हेटौँडामा एमालेले तीन दशकदेखि निरन्तर जित्दै आएको थियो । यस पटक लामाको जितले एमालेको तीन दशक देखिको विरासत पनि भत्काएको छ ।  


मधेश प्रदेशको राजधानी भएको जनकपुरधाम उपमहानगरपालिकाको मेयर पद स्वतन्त्रका मनोजकुमार साह सुडीले जितेका छन् । सुडीले एमालेका शिवशंकर साहलाई हराउँदै  मेयर पद जितेका हुन् । उनले सत्ता गठबन्धनले जसपालाई मेयर पद दिएको भन्दै पार्टी परित्याग गरेर बागी उम्मेदवारी दिएका थिए । तर उनले जितेपछि विजय जुलुसमा भने कांग्रेसका कार्यकर्ताको उल्लासपूर्वक सहभागिता थियो । 


लुम्बिनीको राजधानी दाङको देउखुरीमा ३ वटा पालिका छन्  ।  दाङको राप्ती र गडवा गाउँपालिका र अर्घाखाँचीको सितगंगा नगरपालिका गाँसिएको राप्ती किनारको समथर क्षेत्र देउखुरी उपत्यका राजधानी हो । दाङको राप्ती र गढवा गाउँपालिका माओवादीले जितेको छ । राप्ती गाउँपालिकामा माओवादीका प्रकाश बिष्टले जितेका छन् । उनले एमालेका जगतप्रसाद पोख्रेललाई हराएर विजयी भएका हुन् ।

 यस्तै गढवा गाउँपालिकामा पनि माओवादीका यमनारायण शर्मा पोख्रेलले जितेका छन् । उनले कांग्रेसका सर्बजीत डिसीलाई हराएर विजयी भएका हुन् । अर्घाखाँचीको सितगंगा नगरपालिकाको मेयर पदमा कांग्रेसका छविलाल पौडेलले जितेका हुन् ।

हाल राजधानी भएको पालिका बुटवल उपमहानगरपालिका पनि कांग्रेसले जितेको छ । बुटवल उपमहानगरपालिकाको मेयर पदमा कांग्रेसका खेलराज पाण्डेय विजयी भएका छन् । 
कर्णाली प्रदेशको राजधानी भएको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा भने एमाले विजयी भएको छ । मेयर पदमा एमालेकी मोहनमाया भण्डारी विजयी भएकी हुन् । उनले कांग्रेसका उपेन्द्रबहादुर खड्कालाई पराजित गर्दै विजयी भएकी हुन् । 


Author

थप समाचार
x