स्थानीय तह निर्वाचन २०७९

मतदान स्थलमा तयारी तीव्र, पर्व मनाउन लागेजस्तै उल्लास

सरिता दाहाल |
बैशाख २९, २०७९ बिहीबार ९:३ बजे

मकवानपुर । स्थानीय तह सदस्य निर्वाचन २०७९ को लागि मतदान गर्ने समय नजिकिएसँगै मतदान स्थलहरूमा तीव्र गतिमा तयारी भइरहेको छ ।  मतदानस्थलको तयारी र व्यस्तताले पर्व मनाउन लागेको जस्तो उल्लास देखिएको स्थानीयले प्रतिक्रिया दिएका छन् ।

मतदान स्थलमा कर्मचारीहरू मतदाता परिचयपत्र वितरणमा सँगै मतदाता शिक्षा दिन व्यस्त छन् भने मतदाताहरू आफ्नो मतदाता परिचयपत्र लिन लागिपरेका छन् ।  म्यादी प्रहरीहरू मतदान केन्द्र निर्माणमा जुटेका छन् ।  स्थानीय दलहरूको सर्वदलीय बैठक बसिरहेको छ ।  प्रहरीहरूले मतपत्र लगायतको सुरक्षामा पहरा दिइरहेको छ । मतदान स्थलमा आज साँझसम्म तोकिएका सशस्त्र प्रहरीहरू पुग्ने छन् ।  मतदान केन्द्र भित्र सुरक्षा प्रदान गर्न प्रहरी खटिनेछन् भने मतदान केन्द्र बाहिरा् सेना खट्नेछन् ।

मतदान स्थलमा खटिने विभिन्न संघसंस्थाका स्वयंसेवकहरू आफ्नो जिम्मेवारी वहनका लागि निर्देशनसहित फिल्डमा खटिने तयारीमा छन् । "सबैको चटारो र स्फुर्ती देख्दा पर्व नै मनाउने तयारीमा लागेजस्तो देखिन्छ" हेटौंडा ४ भुटनदेवी मावि मतदान स्थल नजिकैको किराना व्यवसायी सीता कार्कीले भनिन् ।

"५ वर्षका लागि आफूहरूले आफ्नो प्रतिनिधि छान्न पाउनु एउटा पर्व नै हो, उल्लाससँगै गम्भीर र सचेतपूर्वक प्रतिनिधि छान्नुपर्छ" युवा सन्चारकर्मी प्रकाश दाहालले भने ।

जिल्लाका सबै मतदान केन्द्रहरुमा आवश्यक सबै तयारी पूरा भईसकेको र स्थलगत तयारीमा जिम्मेवारी तोकिएका कर्मचारी तथा सुरक्षाकर्मीहरू खटिरहेको बागमती प्रदेश निर्वाचन आयोगका प्रमुख लुम्बनाथ पोखरेलले बताए ।

भोलि बिहान ७ बजेबाट मतदान कार्यक्रम सूरू हुने छ । निर्वाचनलाई व्यवस्थित तरिकाले सम्पन्न गर्न १ सय ६५ मतदान स्थलका लागि २ हजार ८ सय ३८ कर्मचारी खटाएको उनले बताए । जसमा १ हजार ७७० जनालाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले खटाइएको छ । भोलि एक दिनका लागि १ हजार ६८ जनालाई मतदान अधिकृृतहरूले स्वयमसेवकको रुपमा खटाउने तयारी भएको छ ।

निर्वाचन सुरक्षाका लागि सरकारले १ हजार ४ सय ७३ जना म्यादी प्रहरी, नेपाली सेना ५ सय जना, सशस्त्र प्रहरी ४ सय जना, नेपाल प्रहरी ९ सय जना खटाइएको मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।

निर्वाचनमा सहभागी हुँदा कसैको दबाब र प्रभावमा नपर्न मतदातालाई उनले आग्रह गरे । यदि त्यस्तो भएमा आयोगमा सम्पर्क गर्न उनले आग्रह गरेका छन् । आयोगको काम निष्पक्ष, भयरहित ढङ्गबाट निर्वाचन कार्यलाई सफल बनाउने र सम्पन्न गराउने रहेको उनले बताए ।

आँखाको समस्या र हात नचल्ने बृद्धाबृद्धा, अपाङ्गहरुले आफ्नो घरका सदस्यलाई लिएर मतदान गराउन सकिने छ। यदि विश्वास नलाग्ने सदस्यहरु भएमा निर्वाचन अधिकृतलाई सम्पर्क गरेर आफूलाई मन लागेको उम्मेदवारलाई मतदान गर्न सकिने कानुनी प्रावधान रहेको उनले बताए ।

मकवानपुरमा २ लाख ९ ४ हजार ९ सय १९ जना मतदाताहरु रहेका छन् । जसमध्ये १ लाख ४९ जना पुरुष , १ लाख ४४ हजार ९ सय ५९ जना महिला तथा ६ जना तेस्रो लिङ्गी रहेको निर्वाचन आयोग बागमती प्रदेश कार्यालय मकवानपुरको तथ्याङ्कमा उल्लेख छ ।

मकवानपुरको सबैभन्दा बढी मतदाता हेटौंडा उपमहानगर पालिका रहेका छन् ।  जसमा इन्द्र सरोवर गाउँपालिकामा सबैभन्दा कम र हेटौंडामा उपमहानगरपालिकामा सबैभन्दा बढि मतदाताहरू छन् ।

हेटौंडामा मात्र १ लाख ४ हजार ४ सय ५० जना मतदाता रहेका छन् । यस्तै, थाहा नगरपालिकामा ३२ हजार ३ सय ७ जना मतदाता रहेका छन् । बकैया गाउँपालिकामा २९ हजार ९ सय ४३ जना, बागमती गाउँपालिकामा २२ हजार ४० जना मतदाता रहेका छन् ।

यस्तै भीमफेदी गाउँपालिकामा १७ हजार ४ सय २८ जना, मकवानपुरगढी गाउँपालिकामा १९ हजार १ सय १८ जना, मनहरी गाउँपालिकामा २७ हजार ७ सय २१ मतदाता रहेका छन् । राक्सिराङ गाउँपालिकामा १५ हजार ८ सय ३२ जना, ईन्द्रसरोवर गाउँपालिकामा १२ हजार ४ सय ७१ जना र कैलाश गाउँपालिकामा १४ हजार ५ सय ४७ मतदाता रहेका छन् । 



Author

थप समाचार
x