रोजगारी

श्रमिकको हकहित संरक्षण गर्न दुबईलाई नेपालको आग्रह

इकागज |
फागुन ३, २०७९ बुधबार १६:१६ बजे

फाइल फोटो

 काठमाडौँ - श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले आप्रवासी नेपाली श्रमिकको हकहित संरक्षणका लागि सम्बन्धित देशको सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन् । 

संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा भएको सरकार प्रमुखहरुको ‘वल्र्ड गभरमेन्ट समिट’मा नेपालका तर्फबाट सम्बोधन गर्दै उनले नेपाली श्रमिकहरुले विभिन्न बहानामा समस्या भोगिरहेकाले उनीहरुको सुरक्षा र संरक्षणमा सम्बन्धित देशका प्रमुखहरुले ध्यान दिनुपर्ने बताएका हुन् । 


चार दिनसम्म सञ्चालन भएको सम्मेलनमा सचिव अर्यालले नेपालको नेतृत्व गरेको श्रम मन्त्रालयले जनाएको छ । मध्य एसियाली देशहरूमा केन्द्रित रहेर श्रम बजारको अवस्था तथा श्रमिकका हकहितका सम्बन्धमा समूहगत रुपमा भएको छलफल कार्यक्रममा सचिव अर्यालले दिगो विकास, सेवा प्रवाहमा नवीनतम् प्रयोग, श्रम बजार, नयाँ प्रविधि, जलवायु परिवर्तनलगायत विषयमा आफ्नो धारणा राखेका थिए । 

उनले आप्रवासी नेपालीहरूको हकहित संरक्षणमा जोड दिँदै नेपालले हालै वैदेशिक रोजगारका क्षेत्रको सेवा प्रवाहमा गरेको प्रविधिको प्रयोग, सामाजिक सुरक्षामा सबै नेपाली श्रमिकहरूको आबद्धता, न्यायोचित भर्ना, भर्ना प्रक्रियामा देखिएका अनियमितता हटाउने, नेपाली श्रमिकहरूको सामाजिक सुरक्षाका विविध विषयहरूमा गन्तव्य मुलुकका सरकारहरूले ध्यान दिनुपर्ने बताएका थिए । 

कार्यक्रममा सचिव अर्यालले नेपाली श्रमिकका समस्या र समाधानका लागि युएईका मानव संसाधनमन्त्री डा अब्दुलरहमान अल अवर र कतार सरकारका मानव संसाधनमन्त्री र सचिव र आइएलओका महानिर्देशक गिल्बर्ट होङबोसँग पनि भेटवार्ता गरेको मन्त्रालयले जनाएको छ ।
 
 यही फेब्रुअरी १२ देखि १५ सम्म सञ्चालन भएको वसो समिटमा ९० भन्दा बढी देशहरूको सहभागिता थियो । समिटमा नेपालका तर्फबाट श्रम मन्त्रालयका सचिव अर्यालको नेतृत्वमा युएईस्थित नेपाली राजदूत कृष्णप्रसाद ढकाल र मन्त्रालयका उपसचिव कविराज उप्रेतीको सहभागिता रहेको थियो । 

कार्यक्रममा स्रोत मुलुकहरूबीच श्रमिकहरूका समस्याका विषयमा साझा धारणा निर्माण गर्न बङ्गलादेश, पाकिस्तान, श्रीलंका, भियतनामका श्रम मन्त्रीहरू र नेपाल सरकारका सचिवबीच समेत बैठक भएको थियो ।
रासस


Author

थप समाचार
x