रोजगारी

कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि होटल व्यवसाय प्रभावित

इकागज |
माघ १, २०७८ शनिबार १६:४५ बजे

चितवन- कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि यहाँका होटलमा विवाह, गोष्ठी, सेमिनारलगायतका लागि बुक गरिएका कार्यक्रम रद्द भएका छन् । माघ महिनामा धेरै कार्यक्रम हुने समय भए पनि सङ्क्रमण बढेका कारण कार्यक्रम रद्द भएका हुन् ।     
     
 पर्यटकीय नगरी सौराहामा रहेको होटल सेभेन स्टारका सञ्चालक माधव दुवाडीले आफ्नो होटलमा माघ महिनाका लागि भएका १२ वटा कार्यक्रम सबै रद्द भएको बताए। उनले राम्रो सिजनका समयमा सङ्क्रमण बढेपछि व्यवसाय प्रभावित बनेको बताए । होटल बेस्टउडकासमेत सञ्चालक रहनुभएका दुवाडीले भने, “माघ महिनामा मात्रै करिब एक करोड २५ लाख हाराहारीको कार्यक्रम रद्द भएका छन् ।” उनकाअनुसार स्वदेशी पर्यटक पनि आउनेक्रम घट्दै गएका छन् ।     
     
 सङ्क्रमणको पहिलो र दोस्रो लहरले ठूलो क्षति भएको पर्यटन व्यवसायमा पछिल्लो समय सङ्क्रमण बढ्दा झनै प्रभावित हुने देखिएको छ । जङ्गल सफारी लज सौराहाका सञ्चालक सुमन घिमिरेले बुक भएका कार्यक्रम क्रमशः रद्द हुँदै गएको बताए। उनले भने, “माघ महिनाका लागि बुक भएका चार वटा कार्यक्रममध्ये दुई वटा रद्द भइसकेका छन् ।” जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दा बढी सहभागी भएर कार्यक्रम नगर्न सूचना जारी गरेपछि धमाधम कार्यक्रम रद्द भइरहेको उनको भनाइ छ ।     
     
 क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्षसमेत रहनुभएका घिमिरेले भने, “व्यवसायीमा नयाँ आशा पलाएको थियो । माघ फागुनमा राम्रो व्यवासय हुने अपेक्षा गरिएको थियो ।” सपना भिलेजका सञ्चालक ध्रुव गिरीले जनवरी र फेब्रुअरीमा विदेशी पर्यटकले गरेका बुकिङ रद्द भएको बताए । उनको होटलमा यो दुई महिनामा ६० जना फ्रान्सका पर्यटकले बुक गरेका थिए । स्वदेशी पर्यटक न्यून मात्रै रहेको उनको भनाइ छ ।     
     
 होटल नेचर हेरिटेज सञ्चालक दामोदर रेग्मीको होटलमा यसै महिनाका लागि बुकिङ भएका छ वटा भारतीय समूह र दुई वटा गोष्ठी रद्द भइसकेका छन् । उनले भने, “सानातिना बुकिङ त धेरै रद्द भएका छन् ।” कोरोेना भाइरस सङ्क्रमणको दास्रो लहरपछि आशा पलाएको भए पनि पुनःसङ्क्रमण बढेसँगै यहाँका होटल व्यवसायीलाई निराश बनाएको उनको भनाइ छ । यस्तै अवस्था रहे पर्यटन क्षेत्र धरासायी बन्ने रेग्मीले बताए ।     
     
 पटिहानीमा रहेको होटल जङ्गल भिल्लामा चार वटा समूहको बुकिङ र तीन वटा गोष्ठी रद्द भएका छन् । सञ्चालक गणेश पौडेलले भने, “कार्यक्रम धमाधम रद्द हुन थालेका छन्, कहिलेसम्म हो यस्तै हुने ।” माघ, फागुन महिनामा गोष्ठी र ठूला समूह घुम्न आउने सङ्केत देखिएको भए पनि कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमका कारण बुकिङ रद्द हुन थालेको उनको भनाइ छ । 
 



Author

थप समाचार
x