ऊर्जा

सीता हाइड्रोपावर आक्रमणबारे प्रधानमन्त्रीलाई अवगत

तोडफोड, आगजनी र आक्रमणकारीलाई कारबाही गर्ने आश्वासन

इकागज |
फागुन १८, २०७९ बिहीबार १७:३३ बजे

काठमाडौं- स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को एक प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीलाई भेटी सीता हाइड्रोपावरमा गत फागुन १५ गते भएको तोडफोड, आगजनी र आक्रमणमा संलग्नलाई कारबाही गर्न माग गरेको छ ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका-३ स्थित सीता हाइड्रोपावर प्रा.लिले निर्माण गरिरहेको ३५ मेगावाटको न्यासिम खोला जलविद्युत् आयोजनाको निर्माण स्थलमा एक आपराधिक समूहले गरेको आगजनी, तोडफोड तथा कर्मचारीमाथिको सांघातिक आक्रमणमा संलग्नलाई कडाभन्दा कडा कानुनी कारबाही गर्न र उक्त घटनाको छानबिन गर्न इप्पानले माग गरेको हो ।


विभिन्न बहानामा आयोजना प्रवर्द्धकलाई मानसिक र भौतिक भय, त्रास उत्पन्न गराएर अनुचित लाभ प्राप्त गर्न आयोजना स्थलमा यस्ता आपराधिक गतिविधि श्रृङ्खलाबद्ध हुन थालेपछि इप्पानले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको जनाएको छ ।

विद्युत् ऊर्जा उत्पादनमा निजी क्षेत्रले ठूलो योगदान नगरेको भए यति बेला मुलुकले चर्को लोडसेडिङको मार झेलिरहेको हुने कुरा प्रधानमन्त्रीसमक्ष स्मरण गर्दै इप्पानले निजी क्षेत्रले ऊर्जामा गरेको लगानीकै कारण आज मुलुक विद्युत् निर्यात गर्ने अवस्थामा पुगेको र ठूलो संख्यामा रोजगारी सिर्जना भएको बारेमा जोड दिएको थियो ।

विश्वव्यापी आर्थिक संकट आएको अहिलेको अवस्थामा मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन विद्युत् ऊर्जाको योगदान उच्च रहेको र यसरी अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको विद्युत् ऊर्जाको क्षेत्रलाई यस्ता आपराधिक, उद्दण्ड र अराजक गतिविधिले निरुत्साहित गर्नुको साथै मुलुकमा लगानीको वातावरण छैन भन्ने देश, विदेशमा सन्देश प्रवाह हुने कुरातर्फ इप्पानले नेपाल सरकारलाई गम्भीरतापूर्वक ध्यानाकर्षण जनाएको छ ।

आयोजना स्थलमा हुने यस्ता आपराधिक क्रियाकलाप हुन नदिन सरकारले आयोजना स्थलमा सुरक्षाको उचित प्रबन्ध गर्न र त्यस्ता क्रियाकलापमा संलग्न आपराधिक जमातलाई कडाभन्दा कडा कानुनी कारबाहीको दायराभित्र ल्याएर उनीहरूबाटै पीडक पक्षलाई उचित क्षतिपूर्ति भराउने व्यवस्था गर्न पनि इप्पानले सरकारसँग जोडदार माग गरेको छ ।

इप्पानले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार भेटका क्रममा प्रधानमन्त्री दाहालले जलविद्युत् आयोजनामाथि भएको त्यस प्रकारको आक्रमणबाट आफू दुखी भएको बताउँदै आक्रमणमा संलग्न जो कोही भए पनि तिनलाई कानुनी कारबाहीका लागि नेपाल सरकारले तत्काल कदम चाल्ने प्रतिबद्धता जनाएका छन् ।

प्रधानमन्त्री दाहालले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति निर्माण गर्ने जानकारी दिएको इप्पानले जनाएको छ ।

प्रधानमन्त्रीको कार्यालयमा इप्पानका उपाध्यक्ष गणेश कार्कीको नेतृत्वमा पूर्वअध्यक्ष शैलेन्द्र गुरागाई, सचिव राम आचार्य र सीता हाइड्रोपार कम्पनीका कार्यकारी अध्यक्ष सिताराम तिमल्सिनाको सहभागिता थियो ।


Author

थप समाचार
x