ऊर्जा

इप्पानको उपाध्यक्षका प्रत्याशी विक्रम विष्टको प्रतिबद्धता : विद्युत् निर्यातमा निजी क्षेत्रको सहभागिता

इकागज |
जेठ २८, २०८० आइतबार १४:७ बजे

काठमाडौं– झन्डै दुई दशकदेखि नेपालको जलविद्युत् र वित्तीय क्षेत्रमा संलग्न रहेका भोजपुरका बिक्रम विष्टले आगामी जेठ ३२ गते हुने स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) को उपाध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

विष्टसँगै इप्पानको आगामी कार्यसमितिको पदाधिकारीहरुमध्ये उपाध्यक्षका प्रत्यासीहरुमा राम आचार्य, उत्तम भ्लोन लामा र आशिष गर्ग देखा परेका छन् ।


विष्टले निजी विद्युत् उद्यमीहरुको हक हितका लागि आवाज उठाउँदै आइरहेको र इप्पानको कार्य समितिमा बसेर विगतमा आफूले उठाएका, निजी क्षेत्रले भोगेका समस्याहरु समाधानका लागि लडिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले विद्युत् निर्यातमा निजी क्षेत्रको सहभागिताका लागि पनि आफूले आवश्यक पहल गर्ने बताए । ‘मेरो मुख्य चारवटा एजेन्डा छन्, जसलाई म पूरा गर्न सधैं लागिपरिरहनेछु,’ विष्टले आइतबार इकागजसँग भने, ‘पहिलो निजी क्षेत्रका समस्या समाधान, दोस्रो विद्युत् निर्यातमा निजी क्षेत्रको सहभागिता सुनिश्चितता र तेस्रो कार्बन क्रेडिटको रकम नेपालले पाउनुपर्ने र चौथो जलवायु बचाउ ।’

मुलुक जलविद्युत् उत्पादनको अधिक सम्भावनायुक्त देश भएकाले स्वच्छ ऊर्जा उत्पादन गरी कार्बन व्यापारको रकम नेपालमा भित्र्याउन आफ्नो विशेष ध्यान जाने उनले बताए । त्यसैगरी वैश्विक रुपमा जलवायु परिवर्तनको चपेटामा नेपाल पनि पर्न थालेको र आगामी दिनमा अझ बढी संकट आउने देखिएकाले अहिलेदेखि नै जलवायु बचाउलाई राष्ट्रव्यापी रुपमा अभियानै सञ्चालन गर्नुपर्ने उनको जोड छ ।

विगतमा इप्पानले विद्युत् निर्यातमा निजी क्षेत्रको सहभागिताका लागि निकै पहल गरे पनि राज्य पक्षले सुनुवाई नगरेको, संसदले प्रस्तावित विद्युत् विधेयकलाई वास्ता नगरेकाले मुलुकमा हिउँदयाममा जगेडा हुने बिजुली खेर फाल्नुपरेको उल्लेख गर्दै विष्टले भने, ‘यो एजेन्डालाई पनि मैले उच्च प्राथमिकता दिएको छु ।’
विष्टले २०६० सालमा सिन्धुपाल्चोकको बराम्ची (१ मेगावाट) को जलविद्युत् आयोजनाबाट यो क्षेत्रमा प्रवेश गरेका थिए । उनी उक्त आयोजनाको सफलतापूर्वक सञ्चालन गरी दुई वर्षसम्म रहेका थिए ।

हाल इसुवा इनर्जी प्रा.लि.को अध्यक्ष रहेका विष्टले संखुवासभामा ४०.१ मेगावाटको जलविद्युत् आयोजना निर्माण गरिरहेका छन् । यो आयोजनाको निर्माण कार्य करिब २० प्रतिशत पूरा भएको छ । उनले संखुवासभाकै क्यासकेड १० मेगावाट पनि निर्माण गर्दैछन् । भिजन टेस्लाका अध्यक्ष समेत रहेका विष्टले संखुवासभामै इन्दुवाखोला (२४ मेगावाट) पनि अघि बढाइरहेका छन् । 

कुनै समय एउटा विद्यार्थी संगठनको केन्द्रीय सदस्य समेत रहेका विष्ट हाल आफू कुनै पनि राजनीतिक दलसँग आबद्ध नभएको र विशुद्ध व्यवसाय मात्र सञ्चालन गरेको बताउँछन् । आईसीएफसी फाइनान्स लि.को संस्थापक सञ्चालकका रुपमा आठ वर्ष काम गरेका विष्ट कुमारी बैंकका संस्थापक लगानीकर्ता समेत हुन् ।
व्यवसायका अतिरिक्त समाजसेवा र साहित्यमा रुचि भएका विष्ट लायन्स ब्लड बैंक त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरका संस्थापक पनि हुन् । उनी लायन्स क्लब मार्गदर्शनका पूर्व अध्यक्ष र हाल नेपाल वाङमय फाउण्डेशनको विशिष्ट सदस्यसमेत रहेका छन् ।

दावाली मिलन क्लबको सदस्य रहेका विष्ट केबीएनआर इसुवा लिमिटेड, जसले ९७ मेगावजाटको जलविद्युत् प्रवद्र्धन गरिहेको छ, का लगानीकर्तासमेत हन् । 
 


Author

थप समाचार
x