ऊर्जा

निर्वाचन निर्देशिकालाई लिएर इप्पानमा टेबल ठोकाठोक

इकागज |
जेठ २९, २०८० सोमबार २०:४९ बजे

काठमाडौँ- आगामी जेठ ३२ गतेका लागि तय भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को निर्वाचन निर्देशिकाको विषयलाई लिएर अध्यक्ष उम्मेदवारका प्रत्यासी किरण मल्ल र संस्थापन पक्षबीच आज (साेमबार) टेबल ठोकाठोक भएको छ ।

चुनावका लागि उम्मेदवारी दर्ता गर्ने, मतदाता नामावली प्रकाशन गर्नेजस्ता प्रक्रिया सुरु हुन लागिसक्दा पनि निर्वाचन निर्देशिका नदेखाएको भन्दै अध्यक्षका प्रत्यासी मल्लले इप्पान कार्यालयमा गएर टेबुल ठोकेको बताए ।


उक्त निर्देशका इप्पानको विधानविपरीत भएकाले त्यसलाई सच्याउनुपर्ने माग गर्दै आएका मल्ललाई संस्थापन पक्षले उपलब्ध नगराएपछि कार्यालयमा एकछिन तनाव भएको थियो ।

निर्देशिकामा अध्यक्षको उम्मेदवारको योग्यता वरिष्ठ उपाध्यक्षकै सरह हुनुपर्ने राखिएपछि दुई पक्षबीच विवाद हुँदै आएको छ । वरिष्ठ उपाध्यक्ष हुन पदाधिकारी भई एक कार्यकाल सम्पन्न गरेको हुनुपर्ने गरी विधान संशोधन भएको थियो । यसैगरी पदाधिकारी हुन कार्य समितिको सदस्य भई कम्तीमा एक कार्यकाल सम्पन्न गरेको हुनुपर्ने विधान छ ।

वरिष्ठ अध्यक्ष अर्काे चुनावमा स्वतः अध्यक्ष हुने गरी संशोधित विधान अर्काे कार्यकाल (२०८३ साल) मा लागू हुने भन्दै विवाद हुँदै आएको हो । वर्तमान अध्यक्ष कृष्ण आचार्यले सकेसम्म आफूले सहमति गराउने र निर्वाचन नै गर्ने स्थिति आउन नदिन भरमग्दुर प्रयास गर्ने बताएका थिए ।

मल्लसहित हालका उपाध्यक्ष गणेश कार्कीले पनि आज इप्पानको अध्यक्षका लागि आफ्नो समूहसहितका टिमको उम्मेदवारी घोषणा गरेका छन् । कार्यालयमा गएर चर्काचर्की गरेपछि संस्थापन पक्षले पदाधिकारीसमेतको हस्ताक्षर भएको उक्त निर्वाचन निर्देशिका उपलब्ध गराएको मल्लले बताए ।

‘विधानविपरीत काम भएका छन्, त्यसको कानुनी उपचार खोज्न म कुनै कसर बाँकी राख्ने छैन,’ उनले सोमबार साँझ इकागजसँग भने । आजको घटनापछि सहमतिको प्रयास बिथोलिएको छ भने आगामी जेठ ३२ गते चुनाव हुनेमा संशय उत्पन्न भएको छ ।


Author

थप समाचार
x