ऊर्जा

मेवा खोलामा तीन बैंकहरूको साढे ३ अर्ब लगानी

इकागज |
असार १९, २०८० मंगलबार १८:५१ बजे

काठमाडौँ- युनियन मेवा हाइड्रो लिमिटेडले पूर्वको मेवा खोलामा निर्माण गर्ने २३ मेगावाटको मेवा खोला जलविद्युत् आयोजनाका लागि लगानी व्यवस्थापन भएको छ । आयोजनामा लक्ष्मी बैंक लिमिटेडको अगुवाइमा नबिल बैंक र हिमालयन बैंक लिमिटेडले लगानी गर्ने टुंगो लागेको छ ।

मंगलबार (असार १९ गते) प्रवर्द्धक कम्पनी र लगानीकर्ता बैंकहरूबीच सम्झौता भएको छ । लगानी सम्बन्धी सम्झौतामा कम्पनीका अध्यक्ष किरण मल्ल र सम्बद्ध बैंकहरूका प्रतिनिधिहरूले हस्ताक्षर गरेका थिए । करिब ४ अर्ब ७० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ३ अर्ब ५२ करोड रुपैयाँ बैंकहरूमार्फत र १ अर्ब १८ करोड रुपैयाँ सेयरधनीहरू मार्फत लगानी हुनेछ ।


७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानी रहने आयोजनामा अगुवा लक्ष्मी बैंकले १ अर्ब ५२ करोड, नबिल र हिमालयन बैंकले १–१ अर्ब रुपैयाँ लगानी गर्नेछन् । विद्युत् खरिद सम्झौता (पिपिए) अनुसार आयोजनाबाट वार्षिक १३६.७९ गिगावाट घन्टा (१३ करोड ६७ लाख ९० हजार युनिट) विद्युत् उत्पादन भई वार्षिक करिब ८१ करोड रुपैयाँ आम्दानी हुने कम्पनीले जानकारी दिएको छ ।

आयोजनाबाट उत्पादित विद्युत् विद्युतगृहदेखि करिब ५ किलोमिटर दूरीसम्म १३२ केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत निर्माणाधीन १३२/२२० केभी सबस्टेसनमा जोडिनेछ । कोसी प्रदेश ताप्लेजुङ जिल्लाको मिक्वा खोला गाउँपालिका–५ स्थित खेस्तेम्बेम्ँ बाँध निर्माण गरी १५३६ मिटर पेनस्टक पाइपमार्फत सोही गाउँपालिकाको छेरेक्मामा निर्माण हुने विद्युतगृहमा खसालिनेछ ।

अहिलेसम्म आयोजना निर्माण स्थलसम्म निर्माण गर्नुपर्ने १३ किलोमिटर पहुँचमार्ग मध्ये ११.५ किलोमिटर सम्पन्न भइसकेको हेडवर्क्स र विद्युतगृहमा आवास निर्माण भइसकेको कम्पनीले जानकारी दिएको छ । नेपाल विद्युत् प्राधिकरणसँग भएको पिपिए अनुसार २०८२ पुस १४ गतेका विद्युत् उत्पादन गर्नुपर्ने समय तोकिएको छ ।

कम्पनीका अनुसार ८९३ मिटर ग्रस हेट रहेको आयोजनाको डिजाइन डिस्चार्ज ३.१५ क्यूसेक रहेको छ । कम्पनीको सञ्चालकहरूमा अध्यक्ष मल्लसहित वृन्दावनमान प्रधानाङ्ग, विकेश प्रधानाङ्ग र अविज्ञा मल्ल रहेका छन् ।


Author

थप समाचार
x