ऊर्जा

विद्युत् उत्पादन कम्पनीमा डब्बल डब्बल प्रमोसन

इकागज |
असार २४, २०८० आइतबार २०:३५ बजे

काठमाडौँ- आफ्ना ‘कार्यकर्ता’लाई जागिर खुवाउने प्रमुख ध्येयका साथ तत्कालीन ऊर्जा मन्त्री जनार्दन शर्माले खडा गरेको विद्युत् उत्पादन कम्पनी (भीयूसीएल) मा केही कर्मचारीहरूको एक्कैचोटि डब्बल प्रमोसन (दोब्बर बढुवा) हुने गरेको छ ।

भीयूसीएलले गत वैशाख १ गते सात, आठ, नौ र दस तहमा ११ जनाको खुला विज्ञापन गर्यो । उक्त विज्ञापनमा रसुवागढी हाइड्रोपावरबाट आएर आठ तहमा कार्यरत सूर्यप्रकाश पाण्डेले ९ र १० दुवै पदमा आवेदन दिए । तर, उनलाई लघु सूची (सर्ट लिस्ट) निकाल्दा १० तहमा मात्र पारियो ।


दस तहको लघु सूचीमा पाण्डेसहित हीरामान बाइबा, नवीन पौडेल र विश्वकुमार श्रेष्ठ परे । गत वैशाख ३१ गते उक्त लघु सूची सार्वजनिक भएपछि गत जेठ ८ गते भीयूसीएलको छनौट समितिले अन्तर्वार्ता लियो । तर, नतिजा निकालेन । 

गत जेठ २६ गते उक्त विज्ञापनको नतिजासहित सञ्चालक समितिमा पेस भयो । उक्त नतिजाले सञ्चालक समितिभित्र हंगामा मच्चिएको एक सञ्चालकले बताए । हंगामा हुनुको कारणचाहिं सात तहकालाई नौ तह, आठ तहका लागि १० तहमा र कम्पनीका ९ तहका वरिष्ठलाई पाखा लगाई छनौट गरिनु थियो ।

नौ तहमा कार्यरत वरिष्ठलाई अन्याय भएको महसुस गरी सञ्चालक समितिले ती वरिष्ठलाई पनि १० तहमा लैजानुपर्छ भन्दै गत जेठ ३१ गते १० तहका लागि थप विज्ञापन गर्यो । बहाना बनाइयो—  भारतको एनएचपीसीसँग फुकोट कर्णालीको ‘नेगोसियसन’ (वार्ता) गर्न १० तहका वरिष्ठ इन्जिनियरको आवश्यकता ।

पछिल्लो पटक दोहोर्याएर गरिएको विज्ञापनमा आवेदन परेकामध्ये कम्पनीले चार जनालाई लघु सूचीमा राख्यो । पहिलो नम्बरमा भीयूसीएलमै कार्यरत नौ तहका वरिष्ठ सिभिल इन्जिनियर हीरमान बाइबा, यसअघि नै छनौटमा परिसकेका सूर्यप्रकाश पाण्डे, पहिलेको पनि लघु सूचीमा परिसकेका विश्वकुमार श्रेष्ठ र कम्पनीबाहिरका प्रकाश ढुंगाना परे ।

पहिलोपटक विज्ञापन गरिएको सात, आठ, नौ र दस तहको लघु सूचीमा परेकाहरूको अन्तर्वार्ताको नतिजा आज आइतबार (असार २४) बेलुकी पाँच बजे प्रकाशित भयो । दोस्रोपटक गत जेठ ३१ गते विज्ञापन भएको र असार १८ गते सार्वजनिक गरिएको लघु सूचीमा परेकाहरूको अन्तर्वार्ता भोलि (असार २५) बिहान साढे सात बजे हुने सूचना भीयूसीएलले प्रकाशन गरेको छ ।

यसरी आफ्ना मान्छेलाई डब्बल प्रमोसन दिनका लागि अन्तर्वार्तामा ४० नम्बरको अंकभार आफ्नो तजबिजमा दिने गरी भर्ना छनौट कार्यविधि बनाइएको छ । यस सम्बन्धमा भीयूसीएलका प्रबन्ध सञ्चालक सूर्यप्रसाद रिजालले आफ्नो मात्र भूमिका नभएको छनौट समितिले निर्णय गरेको बताए ।

हाल भीयूसीएलमा ३२ कर्मचारी कार्यरत छन् । २०७३ सालमा स्थापित भएको यो कम्पनीले हालसम्म तीनवटा आफैँ र अर्काे तीनवटा जलविद्युत् आयोजना सहायक कम्पनीमार्फत अघि बढाएको छ । यसमध्ये सबैभन्दा बढी प्रगति भएको फुकोट कर्णाली मात्रै हो । अन्य पाँच आयोजनाका डीपीआर बनेका छैनन् । नलगाडको डीपीआर र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार भइसकेको छैन ।

त्यसैगरी मुगु कर्णाली (१९०२ मेगावाट) सम्भाव्यता अध्ययन प्रतिवेदन तयारीको चरणमा पुगेको छ । त्यसैगरी किमाथान्का अरुण (४५० मेगावाट) को भने डीपीआर प्राप्त भइसकेको छ । जगदुल्ला (१०६ मेगावाट) आयोजनाको वित्तीय व्यवस्थापनको चरणमा छ ।

नियुक्तिकाे सूचना :


Author

थप समाचार
x