ऊर्जा

विद्युत् गृह पूर्ण क्षमतामा चल्न पाएनन् : इप्पान

अधिकांश कोरिडोरमा सामान्य समस्या : कुलमान

इकागज |
साउन १, २०८० सोमबार १९:३५ बजे

काठमाडौँ- स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले अहिले कतिपय जलविद्युत् आयोजना कण्टिन्जेन्सी प्लान (पूर्ण क्षमता सञ्चालन गर्न नसक्ने अवस्था) मा विद्युत् गृहहरू सञ्चालन भइरहेको बताएका छन् ।

विद्युत् विकास विभागको ३० औं वार्षिकोत्सव कार्यक्रमलाई आज (सोमबार) सम्बोधन गर्दै अध्यक्ष कार्कीले भने, ‘प्रसारण लाइन नबनेकै कारण उत्पादित विद्युत् लैजानुपर्ने ठाउँमा पुर्याउन सकिएको छैन, यसले प्रवर्द्धकहरूले आफ्नो लगानी असुरक्षित अनुभव गरिरहेका छन् ।’


 यही अवस्थाका कारण धेरै पहिलेदेखि जलविद्युतमा लगानी गर्दै आइरहेका बैंकले समेत असुरक्षित महसुस गर्न थालेको अध्यक्ष कार्कीले बताए । यसका लागि परियोजनाको विद्युत् उत्पादनको अनुमतिपत्रको म्याद थप गर्नुपर्ने उनले उल्लेख गरे ।

‘आयोजनाको तयारीदेखि उत्पादन सुरु हुने बेलासम्म धेरै समयावधि लाग्ने भएकाले म्याद थप गर्नुपर्ने निजी प्रवर्द्धकको माग छ,’ उनले भने । उनले जलविद्युत् क्षेत्रको विकासका लागि संकटकाल घोषणा गरेर भए पनि काम गर्नुपर्नेमा जोड दिए ।

आन्तरिक र बाह्य रूपमा पनि बढ्दै गइरहेकाले तत्काल विद्युत् खरिद सम्झौता खोल्नुपर्ने कार्कीको जोड थियो ।

ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले आफ्नो सम्बोधनका क्रममा निजी क्षेत्रको मागप्रति सकारात्मक रहेको र मार्गचित्रमार्फत सम्बोधन गरिने उल्लेख गरे ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमा घिसिङले इप्पानले उठाएको विषयसँग सहमत रहेको उल्लेख गरे । कोशी, तामाकोशी, चिलिमे कोरिडोरमा सामान्य मात्र समस्या रहेपछि मर्स्याङ्दी कोरिडोर अन्तर्गतको दोर्दी कोरिडोरमा प्रसारण लाइनका कारण विद्युत् ‘इभ्याकुएशन’ मा समस्या रहेको स्वीकार गरे ।

अहिले बजारमा ५ सय मेगावाट विद्युत् खेर (स्पिल) भइरहेको भनेर हल्ला भएको तर, त्यो सत्य नभएको उनको भनाइ छ । ‘रातको समयमा ५० मेगावाट मात्र खेर गइरहेको छ, दिउँसो पूर्ण रूपले प्रयोग भइरहेको छ,’ कार्यकारी निर्देशक घिसिङले भने ।

विद्युत् विकास विभागका महानिर्देशक चिरञ्जीवी चटौतले विभागको काम थपिँदै गएकाले जनशक्ति र स्रोत व्यवस्थापनमा पनि ध्यान दिन मन्त्रालयलाई आग्रह गरे । ‘त्यसो भए मात्र जलविद्युत् प्रवर्द्धकका लागि सहजीकरण गर्ने भूमिकालाई प्रभावकारी रूपमा निभाउन सकिन्छ,’ उनले भने ।


Author

थप समाचार
x