ऊर्जा

निर्माण थालेको १५ वर्षपछि हेटौंडा–भरतपुर प्रसारण लाइन सञ्चालनमा

इकागज |
साउन ४, २०८० बिहीबार १०:१४ बजे

मकवानपुर । निर्माण थालेको १५ वर्षपछि हेटौंडा–भरतपुर प्रसारण लाइन सञ्चालनमा आएको छ । हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत हेटौंडा–भरतपुर खण्ड सञ्चालनमा आएको हो ।

नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलियतपूर्ण कर्जामा आयोजना सन् २००८ मा सुरु गरिएको थियो । आयोजनालाई हेटौंडा–भरतपुर र भरतपुर–बर्दघाट दुई खण्डमा विभाजन गरी निर्माण सुरु गरिएको थियो ।

नेपाल विद्युत् प्राधिकरणले डबल सर्किट २२० केभी प्रसारण लाइनको ७३ किलोमिटर लामो एउटा सर्किटलाई तत्कालका लागि १३२ केभीमा चार्ज गरी सञ्चालनमा ल्याएको हो ।

हेटौंडा–भरतपुर खण्ड निर्माणका लागि भारतीय कम्पनी आईकम टेलबीच २०६५ फागुनमा ठेक्का सम्झौता भएको थियो । तर काम नगरि रणनीतिक महत्वको प्रसारण लाइनको काम अलपत्र पारेपछि प्राधिकरणले ठेक्का तोडी कम्पनीले कार्यसम्पादन जमानतबापत राखेको ३० लाख ५७ लाख अमेरिकी डलर पनि जफत गरेको थियो । यसैगरी प्राधिकरणले काम ढिला गरेबापत झन्डै १६ लाख डलर विलम्ब जरिवाना पनि लगाउने निर्णय गरेको थियो । त्यसपछि नयाँ टेन्डर आह्वान गरी २०७७ जेठमा नयाँ ठेक्का सम्झौता गरिएको थियो ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका चौकीटोलको पुरानो हेटौंडा सवस्टेशनबाट चितवनको भरतपुर महानगरपालिका आँपटारीको नयाँ भरतपुर सवस्टेशनसम्मको २२० केभी प्रसारण लाइनलाई १३२ केभीमा चार्ज गरिएको छ ।

हेटौंडा–भरतपुर खण्ड प्रसारण लाइन सञ्चालनमा आएपछि हेटौंडाबाट भरतपुरतर्फ र भरतपुरबाट हेटौंडातर्फ झन्डै १७० मेगावाट विद्युत् प्रवाह गराउन सकिन्छ । अहिले रहेको पुरानो १३२ केभी प्रसारण लाइनबाट झन्डै ९० मेगावाटमात्र विद्युत् प्रवाह हुँदै आएको थियो । हेटौंडा–भरतपुर खण्ड सञ्चालनमा आएसँगै त्यस क्षेत्रमा थप विद्युत् प्रवाहका लागि केही सहज हुने छ ।

नेपालभित्रको प्रसारण लाइन सुदृढ तथा विश्वसनीय बनाउन र पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि हेटौंडा–भरतपुर–बर्दघाट प्रसारण लाइन आयोजना सुरु गरिएको हो । प्रसारण लाइन निर्माणमा स्थानीयको अवरोध, जग्गा प्राप्तिमा समस्या, वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटानमा भएको ढिलाइ, ठेकेदार कम्पनीको कमजोर कार्यसम्पादनलगायतका कारणले आयोजनाको निर्माण प्रभावित भएको थियो ।

निर्माण कार्य नसकिदै विश्व बैंकले आयोजनाबाट २०७८ को कात्तिकदेखि हात झिकेपछि सरकार र प्राधिकरणको लगानीमा बाँकी काम अगाडि बढाइएको थियो ।
हेटौंडा–भरतपुर खण्डअन्तर्गत हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा निर्माणाधीन सबस्टेशनमा लाइन लैजानका लागि २२० केभी चार सर्किट (मल्टी सर्किट) का दुई वटा टावर निर्माण भइरहेको छ । यो काम आउँदो भदौभित्रमा सम्पन्न हुने आयोजना प्रमुख सन्तोष साहले बताए ।

यता भरतपुर–बर्दघाट खण्ड साउनभित्र पुरा हुने भएको छ । आयोजना अन्तर्गत चितवनको भरतपुरबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बर्दघाटसम्मको भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन खण्डलाई आउँदो साउनभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।

नवलपरासी विनयी त्रिवेणी गाउँपालिका–२ दुम्कीबासमा स्थानीयको अवरोध र सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण २०७७ चैतदेखि यस खण्डमा पर्ने दुई वटा टावर निर्माण रोकिएको थियो ।


जसले गर्दा प्रसारण लाइन निर्माण पूरा हुन सकिरहेको थिएन । सर्वोच्च अदालतले रिट खारेज खारेज गरिदिएसँगै स्थानीयसँग सहमति जुटेपछि टावर निर्माण अगाडि बढेको थियो । एक दशमलव सात किलोमिटर तार तान्न अहिले काम सुरु गरिएको छ ।


Author

थप समाचार
x