ऊर्जा

कूल लगानीको ४० प्रतिशत लगानी ऊर्जामा भइरहेको छ : गभर्नर अधिकारी

इकागज |
साउन ४, २०८० बिहीबार २०:४२ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको नीतिमार्फत कूल लगानीको ४० प्रतिशत ऊर्जामा लगानी भइरहेको बताएका छन् । बिहीबार प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

उनले राष्ट्र बैंकले कुनै एउटा क्षेत्र र उद्योगमा र आयातमा मात्रै कर्जा नजाओस् भनि आन्तरिक उत्पादनमा कर्जाको प्रवाह गर्ने नीति बनाएको जिकिर गरे । उनले मौद्रिक नीति तयार गरी राख्दा राष्ट्र बैंकलाई महत्वपूर्ण चुनौती उत्पादनशील क्षेत्रमा उत्पादनकै लागि कर्जाको परिचालन देखिएको बताए । उनले ठूलै संख्यामा रोजगारी, धेरै उत्पादन, राजश्वमा योगदान गरी अर्थतन्त्र चलायमान बनाउने क्षेत्रमा लगानी बढाउनु पर्ने उल्लेख गरे ।


गभर्नर अधिकारीले सरकारले १० खर्ब रुपैयाँ एक वर्षमा राजश्व उठाउने गरेको भन्दै उक्त राजश्व निजी क्षेत्रबाट र उद्योगधन्दाबाट नै आएको बताए । उनले राष्ट्र बैंकले बनाएका तथ्याङ्क निश्चित प्रमाण र आधार भएर नै आएको भनाइ राखे । अर्थतन्त्र सुधार गर्नका लागि केही संरचनागत हिसाबले काम गर्नुपर्ने आवश्यकता उनले  औंल्याए । त्यसका लागि एक दुई वर्षमा सुधार गर्नसक्ने अवस्था रहेको उनकाे भनाइ छ ।


Author

थप समाचार
x