ऊर्जा

अब भारतको ‘रियल टाइम मार्केट’ मा पनि नेपालको बिजुली पहुँच

इकागज |
साउन १६, २०८० मंगलबार ११:४५ बजे

काठमाडौं- भारतले नेपाललाई एक दिनअघि बिडिङ गरी बिजुली बेच्न (डे अहेड) दिंदै आएकोमा अबदेखि आधा घण्टा अघि विडिङ गर्न पाउने (रियल टायम मार्केट) सुविधा दिएको छ ।

भारतले सीमापार विद्युत् आयात÷निर्यात कार्यविधिमा पहिलो संशोधन गर्दै उसको ऊर्जा बजारमा डे अहेडको साटो वास्तविक समयमै प्रतिस्पर्धा (विडिङ) मा भाग लिन पाउने गरेको हो । सीमापार विद्युत् आयात-निर्यात निर्देशका अन्तर्गत गत २६ फेब्रुअरी २०२१ मा लागू गरेको कार्यविधिमा पहिलोपटक संशोधन गरेको हो ।


यो संशोधनबाट भारतसँग विद्युत् व्यापारको सम्झौता गरेका देशहरुले दुवै प्रकारको बजारमा बिडिङ गर्न पाउनेछन् । यसअघि उसको ऊर्जा विनियमय (आईईएक्स) मा डे अहेड (एक दिनअघि नै कबोल गर्नुपर्ने) प्रावधान थियो । 

नेपाललाई रियल टाइम मार्केटमा प्रवेश सहज गरे पनि भारतले थप नयाँ निर्यातका लागि अनुमति भने अझै दिएको छैन । नेपाल विद्युत् प्राधिकरणले एक वर्षदेखि १० वटा जलविद्युत् आयोजनाका कुल ६७१.११ मेगावाटको बिजुली निर्यातका लागि प्रस्ताव पठाएको छ । मध्य वर्ष सुरु भइसक्दा पनि भारतले यी दस आयोजनाको बिजुली निर्यातका लागि अनुमति दिएको छैन ।

प्राधिकरणले २०७९ जेठ १९ देखि भारतको इण्डियन इनर्जी एक्सचेञ्ज (आईईएक्स) मा विद्युत् निर्यात गर्न सुरु गरेको हो । बिजुली निर्यातका लागि पटके अनुमति दिंदै आएको भारतले हालसम्म ४५२ मेगावाट मात्रै छ । 

यसअघि नेपाल विद्युत् प्राधिकरणलाई निर्यात गर्न दिइएको कोटाको परिघिभित्र रही बिहान १० बजे नै कबोल गर्नुपथ्र्याे । ‘हिजोबाट अन्तर्देशीय विद्युत व्यापार कार्यविधि पहिलो संशोधन गर्दै छिमेकी देशलाई डे अहेडको साथसाथै रियल टाइम मार्केटमा बिजुली खरिद बिक्री गर्न मार्ग प्रशस्त गरेको छ,’ प्राधिकरणका एक अधिकारीले पुष्टि गरे । 

‘राति १२ बजेबाट बिजुली कारोबार गर्नका लागि अघिल्लो दिनमै बन्दोबस्ती गर्नुपथ्र्याे,’ ती अधिकारीले भने, ‘अब १२ बजे बेच्नु प¥यो भने एक घण्टा अघि जानकारी दिए पनि हुन्छ । हरेक दिन एक घण्टामा आधा–आधा घण्टामा नयाँ बिड हाल्न पाइन्छ ।’

कार्यविधिमा भएको संशोधनअनुसार अब एक दिनमा ४८ वटा विड हाल्न पाइनेछ । योभन्दा अगाडि २४ घण्टा अघि नै काबुल गर्नुपर्नेमा अब हरेक आधा–आधा घण्टामा बिजुली किन्न वा बेच्न बिडिङ गर्न पाइने भएकाले वास्तविक खपत, माग र उत्पादन थाहा पाउन सकिन्छ । 

भारतले रियल टाइम मार्केट खुला गरे पनि अन्य स्वीकृति र अनुमति प्राप्त गर्ने विधिमा पनि कुनै परिवर्तन गरेको छैन ।

प्राधिकरणले डे अहेडमा बिडिङ गर्दा भोलि वास्तविक जगेडा (सरप्लस) कति हुने हो थाहा पाउन सक्दैनथ्यो । कुनै ठाउँमा प्रसारण लाइन वा सवस्टेशन बिग्रेर तत्काल मर्मत गर्न सकिने अवस्था नहुँदा जगेडा बिजुली बिड गर्न पाउँदैनथ्यो । 

‘हामीलाई भोलि सरप्लस हुने बिजुली आज बिहान १० बजे बिड गर्नुपथ्र्याे । राति डिमान्ड घट्यो, यहाँ बढी बिजुली उपलब्ध भयो भने त्यो बेच्न सकिंदैनथ्यो । डिमान्ड घट्यो, हामीले बिड गरिसक्या हुन्थ्यौं, अनि त्यो खेर जान्थ्यो, अब तुरुन्त बिड गर्न पाइन्छ,’ प्राधिकरणका ती अधिकारीले भने । 

यसबाट के फाइदा हुन्छ भने रियल टाइम भएकाले २४ घण्टाअघि गरेको पूर्वानुमान (फोरकास्ट) भन्दा एक घण्टा अगाडि गरेको अनुमान ठ्याक्कै मिल्ने भयो । 

उदाहरणका लागि अघिल्लो दिनमै बिड गर्दा भोलि पानी पर्ने÷नपर्ने टुंगो हुँदैन । साँझबाट पानी पर्न थाल्यो र राति बेपत्ता उत्पादन हुन थाल्यो भने अब तुरुन्तै बिड गर्न पाइने भएको छ । 

यसले गर्दा वास्तविक विद्युत् माग र वास्तविक उत्पादन अनुसार बिड गर्न सकिने भयो । भोलिका लागि अघिल्लो दिनमै प्राधिकरणले बिड पठाउँथ्यो, त्यसको कारोबार राति १२ बजे सुरु हुन्छ ।  एलडीसले बिहान १० बजे बिड पठाउँछ । त्यसको कारोबार राति १२ बजे सुरु हुन्छ । १२ बजे सुरु हुनका लागि यति उत्पादन हुन्छ, यति माग छ भन्दै बढी भएको बिजुली मात्र निर्यात हुँदै आएको थियो ।

भारतको बजारमा बिजुलीको माग र आपूर्तिको आधारमा छिमेकी देशहरुले बिजुली निर्यात भने पाउने छैन । भारतले जति परिमाणको कोटा (मेगावाट) दिएको हो, त्यति मात्र निर्यात गर्न सकिन्छ । हाल भइरहेको प्रक्रिया र उसका ढिलासुस्तीजन्य समस्याहरुको भने सम्बोधन गरेको छैन । 

 

 


 


Author

थप समाचार
x