ऊर्जा

ऊर्जा क्षेत्रको विकासका लागि सरकारले रोड म्यापसहित कार्ययोजना बनाउँदै छ : मन्त्री बस्नेत

इकागज |
साउन २३, २०८० मंगलबार १७:२५ बजे

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले सरकारले ऊर्जा क्षेत्रको विकासको रोड म्याप र कार्ययोजना बनाई रहेको बताएका छन् ।​​ मंगलबार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समिति बैठकमा बोल्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन् ।

मन्त्री बस्नेतले विद्युत् उत्पादक व्यवसायीहरू तथा सांसदहरूको समेत मागलाई व्यवस्थित रूपमा सम्बोधन गर्ने गरी मन्त्रालयले ऊर्जा विकासको कार्ययोजना बनाएर अन्तिम चरणमा पुगेको बताए । उनले मन्त्रालयले बनाएको ऊर्जा विकासको रोड म्याप र कार्ययोजना कार्यसँगै विद्युत् उत्पादन र खपतका समस्या सम्बोधन हुने जिकिर गरे ।


विद्युत् उत्पादकहरूले एउटा फाइल पास गर्नका लागि ७ वटा मन्त्रालय धाउनु पर्ने अवस्थामा समन्वय गरी काम गर्ने मन्त्री बस्नेतले जानकारी दिए । उनले ऊर्जा मन्त्रालयले फाइल पठाउँदा वन र विद्युत् विकास विभागले तयारी नपुगेको भन्दै फाइल केही समय होल्ड गर्न भन्ने जानकारी आफूलाई आएको बताए ।

मन्त्री बस्नेतले उत्पादन भएको विद्युतको आन्तरिक खपत हेर्दा नेपालको उत्पादन २ हजार ८६४ रहेको भन्दै आगामी एक वर्षमा ४ हजार माथि पुग्ने उल्लेख गरे । उनले मुलुकको अर्थतन्त्रको अवस्थाले विद्युत् उत्पादनको क्षमता निर्धारण गर्ने हुँदा सरकारको प्रक्षेपण र उत्पादन क्षमता बढाउने भनेर मात्रै नहुने अवस्था रहेको बताए ।

उनले मुलुकको कुल गार्हस्थ उत्पादन (जिडिपी)को वृद्धिलाई ७.२ मा स्थिर राख्न सक्यौं भने आगामी १० वर्षको १२ हजार विद्युत् उत्पादन गर्न सक्ने अवस्था रहेको बताए । यस्तै अर्थतन्त्रलाई स्टेबल बनाउन सक्यौं भने विद्युतको आन्तरिक खपतको क्षमता पनि १२ हजार पुग्ने दाबी उनले गरे । उनले आन्तरिक खपतभन्दा बढी भएको विद्युतलाई व्यापार गर्नुको विकल्प नरहेको बताए ।

मन्त्री बस्नेतले वर्तमान अवस्था, सम्भावना, आवश्यकताहरू र अहिले विकसित हुँदै गएको अवस्थाहरूलाई ध्यान दिएर यसको व्यवस्थापन गर्ने नीति र मोडालिटी बनाउन जरुरी रहेको उल्लेख गरे ।

सरकारले २५ हजार विद्युत् उत्पादन गर्ने गरी उर्जा विकासको रोड म्याप र एक्सन प्लान्ट बनाइरहेको पनि मन्त्री बस्नेतले जानकारी गराए । उनले सरकारले अब लक्ष्य मात्रै राख्दैन कुन–कुन आयोजनाबाट २५ हजार मेगावट विद्युत् उत्पादन हुन्छ त्यस्ता आयोजनाहरूको लिष्ट तयार पर्ने स्पष्ट पारे । उनले २५ हजार भार धान्न सक्ने पूर्वाधार, ट्रान्समीसन लाइन र सवस्टेशनहरूको निर्माण र विद्युत् उत्पादनका लागि लगानीको वातावरण बनाउने काम गर्ने बताए ।


Author

थप समाचार
x