ऊर्जा

नेपाल-भारत १४ औँ संयुक्त प्राविधिक टोली बैठक भोलिदेखि नयाँ दिल्लीमा

मुख्य एजेण्डा ढल्केबर, सीतामढी र  टनकपुर सीमापार प्रसारण लाइन

इकागज |
असोज १, २०८० सोमवार १४:११ बजे

काठमाडौँ- नेपाल र भारतका ऊर्जा प्राविधिकहरुको बैठक भोलिदेखि नयाँ दिल्लीमा बस्ने भएको छ । सहसचिवस्तरीय संयुक्त प्राविधिक टोली (जेटीटी) को १४ औं बैठक र नेपाल विद्युत् प्राधिकरण तथा भारतको केन्द्रीय विद्युत् प्राधिकरणको बैठक पनि नयाँ दिल्लीमा सुरु हुन लागेको हो । 

बैठकको नेतृत्व ऊर्जा मन्त्रालयका सहसचिव सन्दीपकुमार देवले गर्दैछन् भने उनका समकक्षी केन्द्रीय विद्युत् प्राधिकरणका चिफ इन्जिनियर इशान सारानले गर्दैछन् । नेपालको ऊर्जा मन्त्रालय स्रोतका अनुसार बैठकमा मुख्यतया तीनवटा एजेन्डा समावेश छन् ।


पहिलो, ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनको थप क्षमता निर्धारण, दोस्रो अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवद्र्धक एसजेभीएनले निर्माण गरिरहेको ढल्केबर–सीतामढी प्रसारण लाइनको नेपाली पक्षबाट उपयोग र तेस्रो टनकपुर प्रसारण लाइनको क्षमता १३२ केभी भोल्टेज लेभलबाट २२० केभी लेभल बनाउने सम्बन्धमा अध्ययन ।

पछिल्लोपटक जेटीटीको सिफारिसमा सचिवस्तरीय बैठकले ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनको क्षमता ८ सय मेगावाट निर्धारण गरेको थियो । ४०० केभीको डबल सर्किटको प्रसारण लाइन भए पनि भारतले ‘एन माइनस वान’ सिद्धान्त लागू गराएर यसको क्षमता एक हजार मेगावाटमा सीमित गरिदिएको छ । यसको असली क्षमता २ दुई हजार मेगावाटको बिजुली प्रसारण गर्न सक्छ ।

एन माइनस वान भनेको एउटा प्रणाली बिग्रँदा अर्काेलाई कायम र सुरक्षित राख्ने पद्धति हो । दुईवटा तारमध्ये एउटा तारमा समस्या आयो भने अर्काे तारले निरन्तर काम गरिरहन्छ भन्ने उद्देश्यले भारतले ‘एन माइनस वान’ लागू गराएको हो । 

नेपाल विद्युत् प्राधिकरणले यसको प्रसारण शुल्कबापत वार्षिक एक अर्ब ८ करोड रुपैयाँ भारतलाई तिर्दै आएको छ । तर यसको क्षमता ८ सय मेगावाटमा मात्र सीमित हुँदा नेपालले थप विद्युत् निर्यात वा आयात गर्न सकिरहेको छैन । ‘यसको क्षमता एक हजार मेगावाट पुर्‍याउने हाम्रो उद्देश्य हो,’ मन्त्रालयका एक अधिकारीले सोमबार इकागजसँग भने । 

ढल्केबरमा ३१५ एमभीएका तीनवटा ट्रान्सफर्मर छन् । यसको क्षमता ९४५ एमभीए भए पनि ‘एन माइनस वान’ का कारण हाललाई ६३० एमभीए मात्र सञ्चालनमा छ । ‘एन माइनस वान’ नहुने हो भने तीनवटा ट्रान्सफर्मरको बिजुली प्रसारण क्षमता ११८१.२५ मेगावाट हुन आउँछ । 

यसैगरी १४ औं जेटीटी बैठकमा ढल्केबर–सीतामढी ४०० केभी प्रसारण लाइनलाई नेपालले भविष्यमा कसरी उपयोग गर्ने भन्नेबारे छलफल हुने मन्त्रालयका ती अधिकारीले बताए । हाल ढल्केदेखि सीतामढीसम्म सतलजले प्रसारण लाइन निर्माण गरिसकेको छ भने नेपाल खण्डमा जग्गा अधिग्रहणमा समस्या आएकाले पूरा भएको छैन । 

आगामी सन् २०२५ मा अरुण तेस्रो (९०० मेगावाट) जलविद्युत् आयोजना निर्माण सम्पन्न गर्न लक्ष्य सतलजले राखेको छ । यसको ४०० केभी प्रसारण लाइन संखुवासभाको दिदिङदेखि भारतको सीतामढीसम्म २५३ किलोमिटर लामो निर्माण गर्न लागिएको छ ।

दिदिङदेखि महोत्तरीको बथनाहसम्म २१७ किलोमिटर नेपालतर्फको भागमा मुआब्जा तथा जग्गा अधिग्रहणमा समस्या छ । भारततर्फ भने ३६ किलोमिटर मात्र पर्छ । यो प्रसारण लाइन संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सिराहा, धनुषा र महोत्तरीमा गरी जम्मा ५ सय ९७ वटा टावर बनाउनुपर्नेछ । सतलजले बनाउने प्रसारण लाइनले २ हजारदेखि दुई हजार २ सय मेगावाटसम्म बिजुली प्रसारण गर्न सक्छ ।

हाल सतलजले अरुण तेस्रो (९०० मेगावाट) निर्माणको अन्तिम चरणमा पुर्‍याइसकेको छ भने तल्लो अरुण (६६९ मेगावाट) निर्माणको क्रममा रहेको छ । त्यसैगरी नेपाल विद्युत् प्राधिकरणसँगको संयुक्त उपक्रममा अरुण–४ (४९० मेगावाट) निर्माण गर्न सहमति भइसकेको छ ।

बैठकको अर्को एजेन्डा हो— टनकपुर हुँदै थप विद्युत् निर्यात गर्ने प्रसारण लाइनको क्षमता विस्तार । हाल टनकपुरमा १३२ केभीको मात्र प्रसारण लाइन रहेको र त्यहाँबाट ७० मेगावाटभन्दा बढी बिजुली नजाने भएकाले नेपालले उक्त प्रसारण लाइनको क्षमता विस्तार गर्न भारतलाई अनुरोध गर्दै आइरहेकोमा यसपालिको बैठकमा छलफल गर्न भारत सहमत भएको हो । 

सूदूरपश्चिम र कर्णाली प्रदेशमा उत्पादन भएका र हुने बिजुली कोहलपुरदेखि पूर्व आउन सक्दैन । पूर्व–पश्चिम (बुटबल–कोहलपुर) प्रसारण लाइनको डिजाइन नै भएको छैन । टनकपुरमा २२० केभीको प्रसारण लाइन निर्माण भएमा पश्चिम क्षेत्रका जलविद्युत् आयोजनाहरुबाट उत्पादित बिजुली भारतीय बजार (इण्डियन इनर्जी एक्सेञ्ज र भारतीय राज्य सरकारहरु) मा सहज रुपमा निर्यात गर्न सकिने नेपालको अपेक्षा हो ।

उक्त प्रसारण लाइन निर्माणका गर्न भारतीय क्षेत्रमा के कस्ता प्राविधिक समस्याहरु छन्, तिनको अध्ययन गरिने विषयमा जेटीटीमा छलफल हुने तय भएको ऊर्जाका ती अधिकारीले जानकारी दिए । ऊर्जा मन्त्रालयका सहसचिव देवले नेतृत्व गर्ने जेटीटीको बैठकमा नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक दीर्घायू श्रेष्ठ, प्राधिकरणको विद्युत् व्यापार विभागका निर्देशक प्रबल अधिकारी, प्रणाली सञ्चालन विभागका निर्देशक सुरेशबहादुर भट्टराई र प्राधिकरणकै प्रणाली योजना विभागका सहायक प्रबन्धक रिशेषमान अमात्य सहभागी छन् । 

सोही बैठकमा विद्युत् विकास विभागका उपमहानिर्देशक सञ्जय ढुंगेल, ऊर्जा मन्त्रालयको विद्युतीकरण, विद्युत् व्यापार तथा प्रणाली विस्तार शाखाका सीडीई सञ्जीव राय छन् । 

यसैगरी नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतको केन्द्रीय विद्युत् प्राधिकरणका पदाधिकारीबीच छुट्टै बैठक हुनेछ । उक्त बैठकमा जेटीटी बैठकको नेतृत्व गरेका देव र विभागका उपमहानिर्देशक ढुंगेलबाहेक सबै सहभागी हुनेछन् । बैठकमा सहभागी हुन नेपाली टोलीका पदाधिकारीहरु आज नयाँ दिल्ली जाँदैछन् । 
 


Author

थप समाचार
x