ऊर्जा

साढे तीन महिनामा जलसरोकार टिभि कार्यक्रम बन्द

इकागज |
जेठ ८, २०८१ मंगलबार १२:४३ बजे

काठमाडौँ- इनर्जी नेपाल मिडिया हाउस प्रालिले सञ्‍चालन गरेको 'जलसरोकार टेलिभिजन कार्यक्रम' बन्द भएको छ । २०८० माघ १७ गतेदेखि सुरू भएको उक्त कार्यक्रम सोमबारदेखि बन्द भएको हो । 

आर्थिक अभावका कारण कार्यक्रम बन्द भएको कार्यक्रम सञ्चालक विकास थापाले सामाजिक सञ्जालमा लेखेका छन् । ऋण लिएर कार्यक्रम सञ्चालन गरेर निजी क्षेत्रका समस्या समाधान गर्नका लागि नसकिने सञ्चालक थापाले उल्लेख गरेका छन् ।


'आर्थिक अभावका कारण यो कार्यक्रम बन्द भएको जानकारी गराउँछु । ऋण लिएर देशको लागि, निजी क्षेत्रका समस्या समाधान गर्नका लागि गर्न सकिएन' सञ्चालक थापाले फेसबुकमा लेखेका छन् । उनले दर्शकहरूलाई माफी पनि मागेका छन् ।

सञ्चालक थापाले कतैबाट सहयोग नपाएको कारण कार्यक्रम बन्द भएको उल्लेख गरेका छन् । उनले धम्क्याएर र चाकडी गरेर विज्ञापन माग्‍ने आफ्नो स्वभाव नभएको उल्लेख गरेका छन् ।

'देशको लागि, निजी क्षेत्रको लागि जलसरोकार टिभि कार्यक्रम लिएर आएको थिएँ, तर कतैबाट सहयोग पाइनँ । नेताका चाकडी गरेर बनाएको भए सरकारी निकाय, सारा व्यापारीहरूका सहयोग पाइन्थ्यो होला' थापाले लेखेका छन् ।


Author

थप समाचार
x