उद्यम

विदेशबाट फर्किएर स्वदेशमै उद्यम

इकागज |
असोज ४, २०७९ मंगलबार १५:२३ बजे

फाइल फोटो

कञ्चनपुर - भीमदत्त नगरपालिका–१८ जानकी टोलका ३१ वर्षीय सागर क्षेत्री आठ वर्षअघि स्नातक अध्ययन गर्दै गर्दा स्वदेशमै रोजगारी खोजे । स्वदेशमा उनले कुनै काम पाएनन् । उनीसँग आफ्नै काम गर्न लगानी पनि थिएन । निराश बन्दै सागर कामको खोजीमा वैदेशिक रोजगारीमा युएई हानिए । 

विदेशमा तीन वर्ष काम गरेर फर्किएका सागरले अहिले भने स्वदेशमै बेत, बाँसबाट फर्निचर तथा अर्मिसोको कुचो जस्ता सामग्री विन्ध्यावासिनी नामक लद्यु उद्योग खोलेका छन् । `युएइको पेट्रोलपम्पमा तीन वर्ष काम गरे, विदेशबाट फर्किएर अर्काको मुलुकमा काम गर्नुभन्दा स्वदेशमै उद्यम गर्ने सोच आयो`, उनले भने, `बुवा वन कार्यालयमा जागिरे हुनाले उनलाई यसबारेमा थाहा थियो, उनकै सल्लाहअनुसार बेत, बाँसको सामाग्री उत्पादन गर्ने उद्योग खोले ।`


भीमदत्त नगरपालिका–१८ जानकी टोलमा वार्षिक एक लाख ५५ हजार भाडामा उनले तीन कट्ठा जमिन भाडामा लिएर उद्योग खोलेका छन् ।  वैदेशिक रोजगारीको मोह छोडेर उनी अहिले स्वदेशमै आफ्नै उद्यममा जमेका छन् । वैदेशिक रोजगारीका क्रममा कमाएको करिब रु २० लाख लगानीबाट सुरु गरेको उद्योग उनको कमाइको मुख्य स्रोत बनेको छ ।

`सुरुमा सानो एउटा कोठाबाट सुरु गरेको काम अहिले विस्तार भएको छ, सुरुमा आफ्नो रु २० लाख लगानी गरेका थियौँ`, उनी भन्छन्, `अहिले बैंकबाट रु २६ लाख जति ऋण लिएका छौँ ।` सागरले आफूले स्वदेशमै मात्रै रोजगारी पाएका छन, स्थानीय १० जनालाई पनि उद्योगमा रोजगारी दिएका छन् । बेत, बाँसको फर्निचर तथा झाडु बनाउने उद्यममा सक्रिय सागर स्वदेशमै काम गरेर विदेशको जस्तै मनग्य आम्दानी हुँदा खुसी छन् । 

`फर्निचर बनाउने मिस्त्री तथा झाडु बनाउने गरेर १० जनाले उद्योगमा रोजगार पाएका छन्, वार्षिक रु ३० लाखसम्मको कारोवार हुन्छ`, उनले भने, `स्वदेशमै काम गरेर सात जनाको परिवार सुखका साथ पालिरहेको छुँ, विदेशमा परिश्रम बेच्नुभन्दा स्वदेशमै काम गर्नु राम्रो छ ।`

बेत, बाँसका फर्निचर तथा झाडुको माग धेरै आउने गरेको उनी बताउँछन् । सुदूरपश्चिमका नौवटै जिल्लामा आफ्नो उद्योगको उत्पादन ढुवानी हुने गरेको उनको भनाइ छ । `बजारमा माग बढी छ, हामी सुदूरपश्चिमका नौ वटै जिल्लामा उत्पादन पठाउँछौँ”, उनी भन्छन्, “बेत कैलालीबाट ल्याउने गरेका छौँ भने अर्मिसो डडेल्धुरा, पाल्ला तथा झापाबाट ल्याउँछौँ ।`

कामको खोजीमा विदेशिनेलाई स्वदेशमै उद्यमगर्न सागरको सुझाव छ । `विदेशमा अर्काको काम गर्नुभन्दा स्वदेशमै आफ्नै उद्यम गर्नु उपयुक्त छ`, उनले भने, `त्यहाँ गर्ने मेहनत आफ्नै ठाउँमा गरेमा विदेशको जस्तै कमाइ यहीँ गर्न सक्छौँ ।`

सरकारले तालिम, बजार व्यवस्थापन तथा स्वदेशमै उद्यम गर्ने युवालाई सहुलियत ब्याजमा ऋण उपलब्ध गराए लगानी नहुँदा आफ्नै उद्यम गर्न नसकेर विदेशिनुपर्ने अवस्थाको अन्त्य हुने उनी बताउँछन् । 

`लगानी नहुँदा बैंकबाट ऋण लिनुपर्छ, त्यसमा ब्याजदर चर्को हुनाले समस्या हुने गरेको छ`, उनले भने, `कम ब्याजमा ऋण पाइएमा युवा लगानी गरेर स्वदेशमै रोजगारीसँग जोडिन सक्थे ।`
रासस


Author

थप समाचार
x