उद्यम

ब्यूँतिएला गोरखकाली रबर उद्योग ?

इकागज |
जेठ ११, २०८० बिहीबार १९:३६ बजे

गण्डकी- रूग्ण गोरखकाली रबर उद्योगलाई पुरानै स्थितिमा फर्काउने सरकारको घोषणा कार्यान्वयन होला त भन्ने प्रश्न फेरि सतहमा आएको छ । सरकारले हालै सार्वजनिक गरेको आउँदो आव २०८०/८१ को नीति तथा कार्यक्रममा बन्द अवस्थामा रहेको सो उद्योग पुनः सञ्चालनमा ल्याउने उल्लेख छ ।  

सरकारको उक्त निर्णयले आशा जगाएको भए पनि घोषणा कार्यान्वयन हुनेमा भने जनस्तरमा संशय छ । यसअघि पनि पटकपटक गोरखकाली रबर उद्योगलगायत बन्द तथा रूग्ण अवस्थामा रहेका स्वदेशी उद्योग चलाउने सरकारी प्रयासले सार्थकता पाउन सकेको थिएन । गोरखकाली देशकै एक मात्र टायर उत्पादन गर्ने उद्योग हो ।


विसं २०४९ साउनदेखि व्यावसायिक उत्पादन थालेको सो उद्योग व्यवस्थापनको कमजोरीका कारण विसं २०७२ देखि पूर्ण रूपमा बन्द छ । सरकारले उद्योगमा कार्यरत दुई सय ८० कर्मचारीलाई विसं २०७६ फागुनमा रु ९६ करोड दायित्वसहित अवकाश दिएको थियो । अहिले उद्योगको रेखदेखका लागि करारका कर्मचारी र सुरक्षागार्ड छन् ।

उद्योगका प्रशासन अधिकृत दिनेश कार्कीले सरकारले चाहेमा अहिले भएकै पूर्वाधारबाट उद्योग पुनः सञ्चालन गर्न सकिने बताए । '५०/६० वर्षलाई थेग्ने गरी उद्योगको भौतिक संरचना बनेको छ,' उनले भने, 'बिग्रेका उपकरण र प्रविधि फेर्न थप लगानी भने गर्नुपर्छ ।' 

अधिकृत कार्कीका अनुसार उद्योगबाट ‘बायस’ प्रविधिको टायर र ट्युब उत्पादन हुँदै आएको थियो । अहिले भारतीय बजारबाट ‘रेडियल’ अर्थात् ‘ट्युबलेस’ प्रविधिको टायर नेपाल भित्रिने गरेको छ । नेपालको भू–बनोट र सडकको स्तरअनुसार अझै केही दशक बायस प्रविधिकै टायर प्रयोगमा ल्याउन सकिने उनको भनाइ छ । 

'रेडियल प्रविधिमा जाने हो भने रु ५० करोडभन्दा बढी लगानी चाहिन्छ, यो प्रविधि महँगो छ,' अधिकृत कार्कीले भने । उद्योग बन्द हुनुपूर्व २५ वर्षसम्म उनले त्यहाँ कर्मचारीका रूपमा काम गरेका थिए । अहिले उद्योगको संरक्षण र रेखदेखका लागि उद्योग मन्त्रालयले उनलाई करारमा खटाएको छ ।  

'सहसचिवको नेतृत्वमा बनेको अध्ययन कार्यदलले पनि यो उद्योगलाई पुनः सञ्चालन गर्न सकिने भनेर औंल्याएको छ,' अधिकृत कार्कीले भने, 'सरकारको नीति तथा कार्यक्रममा पनि समावेश भएपछि उद्योग चल्नेमा आशा जागेको छ । मुख्य रूपमा उद्योग मन्त्रालयले नै यसमा पहल लिनुपर्छ ।'

गोरखाको गोरखा नगरपालिका–१३ मजुवा देउरालीको छ सय ६५ रोपनी क्षेत्रफलमा फैलिएको उद्योगमा झण्डै रु १० अर्ब बराबरको सम्पत्ति छ । उद्योगको जग्गा, भवन, वन सम्पदा, उपकरण आदिको संरक्षण प्रयास भए पनि लामो समयसम्म सञ्चालनमा नआउँदा जीर्ण बन्दै गएका छन् । 

गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरले सार्वजनिक–निजी साझेदारी अवधारणाबाट उद्योग चलाउनुपर्ने धारणा राखे । 'सरकारको मात्रै बाटो हेरेर हुँदैन । यसलाई थ्री पी मोडलमा लैजानुपर्छ,' उनले भने, 'उद्योग पुनः सञ्चालनबारे चीन र नेपालका विज्ञसँग छलफल भइरहेको छ । उद्योग चलाउन हामी लागिपरेका छौँ ।'

गुणस्तरीय टायर स्वदेशमै उत्पादन गर्नसक्ने उद्योग लामो समयसम्म बन्द हुनु दुर्भाग्य भएको उनको भनाइ छ । 'बजारमा रहेको भारतीय टायरको वर्चश्व तोड्न र नेपाली टायरलाई प्रतिस्पर्धी बनाउन पनि यो उद्योग सञ्चालन गर्नैपर्छ,' प्रमुख रानामगरले भने, 'स्वदेशी उत्पादनको प्रवर्द्धन र रोजगारी सिर्जनामा यसले ठूलो मद्दत पुर्याउँछ ।' 

राजनीतिक प्रभाव, कमजोर व्यवस्थापन, बजार प्रवर्द्धनको कमी जस्ता कारणले उद्योग बन्द हुन पुगेको उनको भनाइ छ । उनले लगानी र नयाँ प्रविधि भित्र्याएर भए पनि उद्योग सञ्चालन गर्नुपर्ने बताए । गोरखाका राजनीतिकर्मी, व्यवसायीलगायत जनसाधारणले लामो समयदेखि सो उद्योग सञ्चालनको माग गर्दै आएका छन् ।

गोरखा उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णकुमार श्रेष्ठले उद्योग चलाउने विषयमा गण्डकी प्रदेशका मुख्यमन्त्रीदेखि प्रधानमन्त्रीसम्मको ध्यानाकर्षण गराइएको बताए । 'सरकारले नीति तथा कार्यक्रममार्फत उद्योग पुनः सञ्चालन गर्ने घोषणा गरेपछि गोरखाका उद्योगी व्यवसायी खुसी छौँ, हामीले पटकपटक यो माग राख्दै आएका थियौँ । अब निर्णय कार्यान्वयनमा ढिलाइ नहोस्,' उनले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाबाट चुनाव लड्दा गोरखकाली रबर उद्योग सञ्चालनमा ल्याइने प्रतिबद्धता जनाएका थिए । गृहमन्त्री, गण्डकीका मुख्यमन्त्री, सभामुखलगायत उच्च पदमा गोरखाकै राजनीतिक नेतृत्वमा रहेकाले उद्योग सञ्चालनमा उचित पहलकदमी हुनेमा गोरखावासी आशावादी छन् । 

गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले गोरखकाली रबर उद्योग सञ्चालनका लागि संघीय सरकारसँग साझेदारी गर्न प्रदेश सरकार तयार रहेको बताए । 'हाम्रै प्रदेशमा पर्ने भएकाले प्रदेश सरकारको पनि यसमा स्वाभाविक दायित्व रहन्छ,' उनले भने, 'प्रदेशमा उद्योगधन्दाको विकास र स्थानीय उत्पादनको प्रवर्द्धन प्रदेश सरकारको प्राथमिकतामा छ ।'

मन्त्री थापामगरले रोजगारी वृद्धिसँगै राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ पार्न बन्द अवस्थामा रहेका सबै स्वदेशी उद्योग पुनः सञ्चालनमा ल्याउनुपर्ने उल्लेख गरे । 'अहिले अर्थतन्त्रमा जे समस्या देखापरेको छ । यसको समाधानका लागि आफ्नै स्रोत, सीप र प्रविधिमा आधारित उद्योगधन्दा खोल्नुपर्छ, रोजगारी सिर्जना गर्नुपर्छ,' उनले भने ।

सरकारले गोरखकाली रबर उद्योगसँगै हेटौँडा कपडा उद्योग र बुटवल धागो कारखाना पुनः सञ्चालनको घोषणा गरेको हो । लामो समयदेखि बन्द तथा रूग्ण अवस्थामा रहेका उद्योग सञ्चालन, खारेजी, एकीकरण वा व्यवस्थापनका विषयमा अध्ययन गर्न उच्चस्तरीय अध्ययन समितिसमेत गठन गर्ने सरकारको तयारी छ । रासस


Author

थप समाचार
x