उद्यम

हेटौंडा सिमेन्ट उद्योग तिहारपछि पुनः सञ्चालनमा आउने

लिलाम बिक्री गरेर पूँजीको जोहो गर्ने प्रक्रिया

इकागज |
कात्तिक १६, २०८० बिहीबार १९:२४ बजे

मकवानपुर- नेपाल सरकार र एसियाली विकास बैंकको लगानीमा २०३३ सालमा स्थापना भएको हेटौंडा सिमेन्ट उद्योगले कोइला खरिद गर्न नसकेपछि उत्पादन बन्द भएपछि अब तिहारपछि सञ्चालनमा आउने भएको छ । 

सरकारको स्वामित्वको यो उद्योग निरन्तर घाटामा सञ्चालन हुँदै आएको छ । पटक-पटक उत्पादन बन्द गर्ने, आंशिक मात्रामा मात्रै उत्पादन गर्ने गरिएको उद्योग पछिल्लो पटक फेरि कोइला किन्न नसकेकै कारण बन्द भएको हो । वि.स २०४२ देखि व्यावसायिक उत्पादन सुरु गरेको यो उद्योगले निजी क्षेत्रमा स्थापित उद्योगहरूसँग प्रतिष्पर्धा गर्न नसकेकै कारण घाटामा छ । हेटौंडा सिमेन्ट उद्योगले भने आर्थिक कारण नै समस्या झेल्दै आएको छ । उद्योगले आर्थिक वर्ष २०७५/७६ देखि हालसम्म करिब ९० करोड घाटा बेहोरेको पाइएको छ । 


निजी क्षेत्रको लगानी रहेको उद्योगसँगको प्रतिस्पर्धा र उद्योगको पुरानो उपकरण नै समस्या रहेको छ । सिमेन्ट उत्पादकका लागि आवश्यक कच्चा पदार्थको निरन्तर मूल्य वृद्धि, उत्पादन लागतभन्दा कम मूल्यमा सिमेन्ट बिक्री वितरण गर्नुपर्ने बाध्यताबीच उद्योग दिन प्रतिदिन टाट पल्टने स्थितिमा पुगेको उद्योग व्यवस्थापनले जनाएको छ ।

दैनिक ७ सय ५० टन सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको उद्योगले केही समयअघिदेखि आधा मात्रै उत्पादन गर्दै आएको थियो । तर, अहिले कोइला अभावका कारण उत्पादन नै बन्द गरिएको हो । कोइला खरिदको बाँकी बजेट उपलब्ध नगराएकै कारण उद्योगले सम्झौता अनुसारको कोइला नपाएको हो । उद्योगले अहिले कोइलाबापतको १९ करोड बजेट तिर्न बाँकी छ । मौज्दात सिमेन्ट बिक्रीपछि केही बजेट तिरेपछि कोइला ल्याउन सकिने र उद्योग केही समय सञ्चालनका लागि बाटो खुल्ने छ । यसका लागि कम्तीमा तिहार वा छठपछिबाट उद्योग चल्ने अनुमान कर्मचारीको छ । उद्योगलाई दैनिक १५० मेट्रिक टन कोइला आवश्यक पर्छ । हाल उद्योगसँग ३ लाख बोरा मौज्दात सिमेन्ट छ ।

उत्पादन लागत प्रतिबोरा ७ सय हुँदा सिमेन्ट बिक्रीबाट ६ सय १० रुपैयाँ मात्र उद्योगले प्राप्त गर्ने गरेको उद्योगका महाप्रबन्धक बसन्तकुमार पाण्डे बताउँछन् । 'पुरानो मेसिन र औजारको प्रयोग हुँदा लागत बढ्छ, विद्युत् धेरै लाग्छ,' उनले भने, 'उद्योगको स्थापनासँगै तत्कालीन समयमा नयाँ उपकरण थियो भने उत्पादन क्षमता पनि बढी थियो, अब त्यस्तो छैन ।' ४० वर्ष पुरानो उत्पादनमा प्रयोग हुने उपकरणहरू नै प्रयोग भइरहेका छन् ।

आर्थिक वर्ष २०६६/६७ देखि २०६७/६८ दुई वर्ष नाफामा रहेको उद्योग आर्थिक वर्ष २०६८/६९ देखि २०७०/७१ सम्म तीन वर्ष पुनः घाटामा गएको थियो । उद्योगले आर्थिक वर्ष २०७१/७२ देखि आ.व २०७४/७५ को ४ वर्ष नाफामा रहेको थियो तर त्यसयता निरन्तर घाटामा उद्योग सञ्चालन हुँदै आएको छ । अहिले घाटा बजेट ९० करोड पुगेको महाप्रबन्धक पाण्डेले बताए ।

आर्थिक वर्ष २०६६/६७ मा ८४ हजार ९ सय ६ मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने गरेको थियो । हुँदा १६ लाख ९८ हजार १ सय ३७ बोरा तयार हुन्थ्यो । जसमा पुरानो स्टकसहित १७ लाख ६० हजार ९ सय ६८ रुपैयाँ बराबरको सिमेन्ट बिक्री गरेर उक्त आर्थिक वर्षमा ११ करोड ७० लाख १६ हजार ८ सय ८६ रुपैयाँ नाफा गरेको उद्योगको तथ्यांकले देखाउँछ । यस्तै आर्थिक वर्ष २०६७/६८ मा ७० हजार १ सय ९७ मेट्रिक टन सिमेन्ट उत्पादन भएकोमा १४ लाख ३ हजार ९ सय ५२ वटा बोरा उत्पादन गरेको थियो । जसमा १४ लाख ३५ हजार १६ रुपैयाँ बराबारको सिमेन्ट बिक्री गरेर उक्त आर्थिक वर्षमा ३ करोड ९५ लाख ४ हजार २ सय १५ रुपैयाँ बराबरको नाफा गरेको उद्योगका महाप्रबन्धक बसन्तकुमार पाण्डेले बताए । 

आर्थिक वर्ष २०६८/६९ मा ९८ हजार ५ सय ७४ मेट्रिक टन सिमेन्ट उत्पादन भएकोमा १९ लाख ७१ हजार ४ सय ९२ बोरा सिमेन्टको बिक्रीबाट १८ लाख ५० हजार ४ सय ९ रुपैयाँ उद्योगले प्राप्त गरेको थियो । उक्त आर्थिक वर्षमा ६ करोड ९१ लाख ५० हजार २४ रुपैयाँ घाटा बेहोर्न बाध्य भएको थियो । यस्तै आर्थिक वर्ष २०६९/७० मा ९५ हजार ९ सय ५३ मेट्रिक टन सिमेन्ट उत्पादन गरेकोमा १९ लाख १९ हजार ७७ बोरा बिक्रीबाट पुरानो स्टकसहित २० लाख १३ हजार ५ सय ५७ रुपैयाँ उद्योगले प्राप्त गरेकोमा ९५ लाख ५५ हजार ६९९ रुपैयाँ घाटा बेहोरेको थियो । 

आर्थिक वर्ष २०७०/७१ मा ९८ हजार ४ सय ३५ मेट्रिक टन सिमेन्ट उत्पादन गरेकोमा १९ लाख ६८ हजार ७ सय ९ बोरा बिक्रीबाट पुरानो १९ लाख ४ हजार ९ सय २५ रुपैयाँ उद्योगले प्राप्त गरेको छ । उक्त वर्ष उद्योगले ३ करोड ४२ लाख २८ हजार १६ रुपैयाँ घाटा बेहोरेको थियो । यस्तै आर्थिक वर्ष २०७१/०७२ देखि आर्थिक वर्ष २०७४/७५ को ४ वर्षको अवधिमा पुनः उद्योगले नाफा कमाएको थियो । 

यस्तै आर्थिक वर्ष २०७१/७२ मा १ लाख ४ हजार २८४ मेट्रिक टन सिमेन्ट उत्पादन गरेकोमा २० लाख ८५ हजार ६ सय ९८ बोरा बिक्रीबाट २० लाख ९० हजार ९ सय ६८ रुपैयाँ उद्योगले प्राप्त गरेको थियो । उक्त वर्ष ५ करोड ३२ लाख ४६ हजार ९८० रुपैयाँ नाफा कमाएको उद्योगको तथ्यांकले देखाउँछ । यस्तै आर्थिक वर्ष २०७२/७३ मा ७७ हजार २ सय ८३ मेट्रिक टन सिमेन्टबाट १५ लाख ४५ हजार ६ सय ६३ बोरा उत्पादन र बिक्रीबाट ४ करोड ६५ लाख ५० हजार ३ सय २० रुपैयाँ नाफा गरेको थियो । आर्थिक वर्ष २०७३/७४ मा १ लाख ३९ हजार ३ सय ९८ मेट्रिक टन सिमेन्टबाट १५ करोड ४८ लाख ७७ हजार ५ सय ६२ रुपैयाँ नाफा गरेको थियो । 

आर्थिक वर्ष २०७४/७५ मा १ लाख ९ हजार ७९६ मेट्रिक टन सिमेन्टबाट २१ लाख ९५ हजार ९ सय २६ बोरा सिमेन्ट उत्पादन गरेकोमा उक्त सिमेन्ट बिक्रीबाट उद्योगले करिब १६ करोड ३६ लाख ३ हजार ४ सय ९९ रुपैयाँ नाफा गरेको उद्योगका महाप्रबन्धक पाण्डेले बताए । त्यसयता २०७५/७६ देखि हालसम्म लगातार उद्योग घाटामा सञ्चालन भएको छ । 

आर्थिक वर्ष २०७५/७६ मा १ लाख ९ सय ६९ मेट्रिक टन सिमेन्ट उत्पादबाट २० लाख १९ हजार ३ सय ८९ बोरा उत्पादन भएकोमा उक्त सिमेन्ट बिक्रीबाट २० लाख ८६ हजार ६ सय ६७ रुपैयाँ उद्योगले प्राप्त गरेको थियो । यस अवधिमा १ करोड ५ लाख ४१ हजार १ सय ३६ रुपैयाँ घाटा भएको उद्योगको तथ्यांकमा देखिन्छ । यस्तै २०७६/०७७ मा ८१ हजार ९ सय ८९ मेट्रिक टन सिमेन्ट उत्पादन भएकोमा १६ लाख ३९ हजार ७ सय ९५ बोरा सिमेन्टको बिक्रीबाट १४ लाख ५५ हजार ९ सय ६ रुपैयाँ सिमेन्ट बिक्रीबाट प्राप्त गरेको भए तापनि २३ करोड ८२ लाख २४ हजार ८ रुपैयाँ उद्योगले घाटा बेहोरेको उद्योगका महाप्रबन्धक पाण्डेले बताए ।

आर्थिक वर्ष २०७७/७८ मा ८९ हजार २ सय २५ मेट्रिक टन सिमेन्ट उत्पादन भएकोमा १७ लाख ८४ हजार ५ सय १ बोरा सिमेन्ट उत्पादन गर्दै उक्त सिमेन्टको बिक्रीबाट १८ लाख ५३ हजार ७ सय ६४ रुपैयाँ प्राप्त गरेकोमा १७ करोड ४ लाख ४० हजार ६ सय ६९ रुपैयाँ घाटामा उद्योग देखिन्छ । आर्थिक वर्ष २०७८/०७९ मा ८१ हजार १ सय ९३ मेट्रिक टन सिमेन्टको उत्पादनबाट १६ लाख २३ हजार ८ सय ६९ बोरा सिमेन्ट बिक्रीबाट १६ लाख १३ हजार ९ सय ६९ रुपैयाँ प्राप्त भएकोमा १० करोड ६९ लाख २४ हजार ९ सय ९३ रुपैयाँ घाटा देखिन्छ । साथै आर्थिक वर्ष आर्थिक वर्ष २०७९/८० मा १० करोड घाटामा गएको देखिन्छ ।

युवाहरू विदेश पलायन हुँदा दक्ष शक्ति पलायन भएको पीडा बढिरहेको बेला झण्डै २२२ जना रोजगार रहेको सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट बन्द हुने अवस्थामा आइपुगेको हो ।

आर्थिक संकटको कारण निर्माणको काम ठप्प हुँदा सिमेन्ट बिक्री ठप्प भएको कारण सिमेन्ट बिक्रीबाट आम्दानी हुन नसकेको र कोइला खरिद बापतको ऋण तिर्न नसक्दा उद्योगले उत्पादन बन्द गरेको हो । निजी क्षेत्रको लगानीमा सुरु गरिएका उद्योगहरू प्राय: स्थापनाकै समयबाट नाफाको यात्रा सुरु गर्दछन् । यि उद्योगहरूको उद्देश्य नै नाफा कमाउने हुन्छन् । 

उद्योगमा ६ सय ५५ कर्मचारीको दरबन्दीमध्ये हाल २ सय २२ जना मात्रै कार्यरत छन् । पर्याप्त जनशक्ति नहुँदा पनि उद्योग चलाउन कठिनाइ भएको छ । स्वीकृत दरबन्दी बमोजिमको कर्मचारी कार्यरत नहुँदा मौजुदा कर्मचारीलाई ओभर टाइममा लगाउनु परेको छ । भदौ १५ गतेदेखि हालसम्मको ओभर टाइमको रकम भुक्तानी नहुँदा कर्मचारीको कार्यगत क्षमतामा समेत कमी आएको छ ।

पुराना उपकरण र प्रविधिको कारण क्षमता अनुसार उत्पादन गर्न नसकेको र लागत बढी परेको भन्दै नयाँ प्लान्ट जडान गर्ने हेटौंडा सिमेन्टको उद्योगको सवालमा बेला बेलामा नयाँ योजना बन्ने गरेका छन् तर ति योजना कहिल्यै कार्यान्वयनमा आएनन् । घाटा पूर्तिका लागि उद्योग मातहतमा रहेको सरकारी जग्गा बिक्री गर्ने र नयाँ प्रविधि जडान गरी उत्पादान बढाउने प्रस्ताव १ वर्षयता चर्चामा छ । तर, यो प्रस्ताव योजना अनुसार अघि बढ्न सकेको छैन । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमै फाइल अड्किएपछि जग्गा बिक्री गर्ने योजनाबाट पछि हटेको उद्योगका महाप्रबन्धक बसन्तकुमार पाण्डेले जानकारी दिए । मन्त्रालयले नै जग्गा बिक्रीको अनुमति दिने सम्बन्धको फाइल अगाडि नबढाएको पाइएको छ । उद्योग मन्त्रालयले जग्गा बिक्री गर्ने सम्बन्धमा रोक लगाएपछि हेटौंडा सिमेन्ट उक्त योजनालाई तत्काल स्थगित गरेको पाण्डेले बताए । उद्योगको रातोमाटेस्थित करिब १२ बिघा जग्गा खरिद गर्न राष्ट्र बैंक इच्छुक रहेको तर प्रक्रिया अहिले स्थगित रहेको महाप्रबन्धक पाण्डेले बताए ।

जग्गा बिक्रीबापत आएको रकमबाट उद्योगमा नयाँ प्लान्ट जडान गरी निजी क्षेत्रका उद्योगसँग प्रतिस्पर्धा गर्ने क्षमताको बनाउन खोजेको पाण्डेले बताए । पछिल्लो समय लगातार घाटामा चलिरहेको हेटौंडा उपमहानगरपालिका ९, लामसुरेस्थित उद्योगले आफ्नो खाली जग्गा बेच्ने तयारी गरेको थियो । 'हाम्रो सिमेन्टको गुडविलले मात्रै थोरै बजार धानेको छ, विगतमा भन्दा बजार माग घटेको अवस्थामा हेटौंडा सिमेन्टले निजी उद्योगसँग प्रतिस्पर्धा गर्नै सकेन,' उनले भने । 

उद्योगसँग प्रयोग नभएको जमिन धेरै भएको कारण केही बेचेर व्यवस्थित गर्न खोजिएको दाबी समेत छ । प्रदेशको राजधानी हेटौंडा भएपछि यहाँ राष्ट्र बैंकले जग्गा खोजी गरिरहेको छ । 'हाम्रो प्रयोग नभएको करिब १२ बिघा जति जमिन अर्को सरकारी निकायलाई बेच्न सक्यौं भने केही अर्ब रकम आउँछ र केही सरकारले सहयोग गर्दा नयाँ प्लान्ट जडान गर्न सकिन्छ भन्ने थियो,' पाण्डेले भने । हाल उद्योग नियमित सञ्चालनका लागि ८० करोडदेखि १ अर्ब खर्च लाग्ने अनुमान गरिएको छ । उद्योगमा नयाँ प्लान्ट जडान गर्न ५ देखि ८ अर्ब खर्च लाग्ने छ ।

लिलाम बिक्री गरेर पूँजीको जोहो गर्ने प्रक्रिया

कोइला खरिदमा आर्थिक समस्या झेल्दै आएको सिमेन्ट उद्योगले जीर्ण अवस्थामा रहेको आफ्नो रोप–वे बिक्री गर्न मूल्यांकन समिति बनाएको छ । हेटौंडा सिमेन्ट उद्योगका भण्डार शाखा प्रमुखको संयोजकत्वमा मूल्यांकन समिति बनाइएको छ । समितिमा कोष तथा लेखा नियन्त्रक, जिल्ला प्रशासन र सडक विभागबाट १/१ जना र उद्योगबाट २ जना प्रतिनिधि हुने व्यवस्था गरिएको उद्योगका महाप्रबन्धक पाण्डेले बताए । 

मकवानपुरको हेटौंडाबाट भीमफेदी गाउँपालिकाको भैंसेखानीसम्म करिब २०/२१ किलोमिटर छ । विगतमा चुनढुंगा ओसार्न प्रयोग भएको भएता पनि लामो समयदेखि प्रयोगविहीन रहेको र पुनः प्रयोगमा ल्याउन सक्ने अवस्थामा पनि छैन । उक्त सामानहरू हटाउन स्थानीयले उद्योगमा धेरैवटा निवेदन दिएका छन् । 

यता उद्योगले घाटामा गएर टाट पल्टने स्थिति आएपछि उद्योगमा रहेका जीर्ण उपकरणहरूलाई विस्थापन गर्दै नयाँ उपकरण जोड्न भन्दै उद्योगले १ अर्ब ६० करोडको माग गरेको छ । उद्योग राम्रोसँग सञ्चालनमा ल्याउन नयाँ मेसिनहरूको जडान आवश्यक रहेकाले उक्त रकमको माग गरेको महाप्रबन्धक पाण्डेले बताए । प्लान्ट अडिटिङमा तीनवटा चरण समावेश गरेको छ । पहिलोमा हाल भएको उपकरणहरूलाई व्यवस्थित गरेर चलाउने, दोस्रोमा उद्योगमा हुने अनावश्यक खर्च कटौती र तेस्रोमा दीर्घकालीन योजना समेटेर मन्त्रालयमा पठाएको छ ।

लामो समयदेखि उद्योग परिसरमा रहेका कवाडी सामान लिलाम गरेर केही पुँजी बढाउने प्रक्रिया अघि बढाइएको छ । हाल उद्योग ऋणमा रहेको छ । अत्यावश्यक रहेको कच्चा पदार्थ र मेसिन समेत मर्मतमा समस्या आइरहेको छ ।

यो उद्योगका चारवटा चुनढुंगा खानी छन् । धादिङको जोगिमारा खानीबाट सबैभन्दा स्तरीय चुनढुंगा निस्कन्छ । यसका ५० प्रतिशत ढुंगा सिमेन्ट बनाउन योग्य हुन्छन् । तर, यो खानी लामो समयदेखि नवीकरण नहुँदा बन्द छ । यस्तै, मकवानपुरको ओखरे, मजुवा, र भैँसे गरी ३ वटा खानी छन् ।  हाल ओखरे र मझुवा खानीबाट चुनढुंगा ल्याइएको छ ।

प्रतिबोरा ७ सय ४६ रुपैयाँ ९३ पैसामा बिक्री भएको सिमेन्टको उत्पादन लागत नै करिब ९ सय रुपैयाँ छ । बजारमा भने अन्य कम्पनीले हेटौंडाभन्दा कम मूल्यमा सिमेन्ट बिक्री गरिरहेका छन् ।


Author

थप समाचार
x