उद्यम

उद्योगमा काटिएको लाइन दुई दिनभित्र जडान गर्न माग

इकागज |
पुस १८, २०८० बुधबार १७:० बजे

फाइल फोटो

काठमाडौँ - बुटवल–भैरहवा औद्योगिक करिडोरका उद्योगीले डेडिकेटेड र ट्रंकलाइनको महसुल नतिरेको भन्दै उद्योगमा काटिएको लाइन दुई दिनभित्र जडान गर्न माग गरेका छन् । 

नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रले घराना फुड्स र सिद्धार्थ पेटप्लाष्ट उद्योगमा गत शुक्रबार राति लाइन काटेको थियो । त्यस क्षेत्रका उद्योगी तथा व्यवसायीहरुले पुस २० गतेसम्म विद्युत जडान नभएमा करिडोरका १९ वटै उद्योग बन्द गरेर आन्दोलनमा उत्रिने जनाएका छन् । प्राधिकरणको भैरहवा वितरण केन्द्र र नयाँ मल वितरण केन्द्रमा ज्ञापनपत्र बुझाउँदै उद्योगीहरुले आफूहरूले ट्रंकलाइन माग नगरेको, आपूर्ति पनि नभएको र प्रयोग पनि नगरेको हुँदा काटिएको लाइन जडानको माग गरेका हुन् ।


उद्योगीहरुले आफूहरूले कानूनी उपचार खोजिरहेको र अदालतमा मुद्दा विचाराधीन रहेका बेला प्राधिकरणले रुपन्देहीका दुई वटा उद्योगको लाइन काट्नु अन्याय पूर्ण व्यवहार भएको भन्दै पुस २० गतेसम्म लाइन जडान गर्न माग गरेका हुन् । सिद्धार्थ उद्योग बाणिज्य संघको ऐक्यबद्धता रहेको भन्दै संघका अध्यक्ष ठाकुर श्रेष्ठले उद्योगीले डेडिकेटेड र ट्रंक लाइन माग गरेको, विद्युत आपूर्ति गरेको र उद्योगले खपत गरेको लिखित प्रमाण पेस गर्न प्राधिकरणको वितरण केन्द्रसँग माग गरे । 

प्राधिकरणको भैरहवा वितरण केन्द्रले २०७४ चैत १४ मा आफ्नो आन्तरिक लोड भार मिलान गर्ने क्रममा १३ वटा उद्योगहरूको कनेक्सन जडान भएदेखि नै लोडसेडिङ खेप्दै आएको उद्योगीहरुले जनाएका छन् । ज्ञापन पत्र बुझ्ने क्रममा प्राधिकरणले उद्योगीको माग माथिल्लो निकायमा पठाउने जनाएका छन् ।

प्राधिकरणले यस क्षेत्रका उद्योगले २०७२ भदौदेखि २०७६ मंसिरसम्म ट्रंकलाइनमार्फत विजुली उपयोग गरेको भन्दै वक्यौता भुक्तानी गर्न भनेको थियो । तर उद्योगीले प्रयोग नै नगरेको ट्रंकलाइन महसुल तिर्न नसक्ने जनाउँदै आएका छन् । 


Author

थप समाचार
x