उद्यम

इँटा​ उद्योगीहरूको गुनासो : उद्योग चलाउने स्थिति छैन

इकागज |
माघ ६, २०८० शनिबार २१:३ बजे

भैरहवा- रुपन्देहीका इँटा उद्योगी व्यवसायीहरूले उद्योग बन्द हुने अवस्था आएको बताएका छन् ।​ निर्माणजन्य काममा आएको गिरावट र स्थानीय इँटाको प्रयोग कम हुन थालेपछि रुपन्देहीको इँटा उद्योग धराशायी हुने अवस्थामा पुगेको भैरहवामा लुम्बिनी इँटा उद्योग व्यवसायी संघले पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् ।

एकातर्फ बजारमा माग न्यून छ, तयार भएका इँटा बिक्री हुन सकेको छैन भने बैंक र करका लागि पटक-पटक ताकेता हुँदै गएको र उद्योग सञ्चालनमा समस्या सृजना भएको उद्योगीहरूको भनाइ छ । चर्को ब्याजदर, कर माथिको कर, कच्चा पदार्थको अभाव लगायतको समस्याले पनि यो व्यवसाय धरापमा परेको उद्योगीहरूले गुनासो गरेका छन् ।


संघका अध्यक्ष अजयकुमार गुप्ताले अहिले मुख्य सिजन भए पनि उद्योगीहरू निराश भएको बताए । गत वर्ष २५ प्रतिशत उद्योगले मात्रै उत्पादन गरेकोमा ति इँटा अहिलेसम्म पनि बिक्री नभइसकेकाले उत्पादन नगर्ने पक्षमा रहेको उनले जिकिर गरे । 'यहाँ ५२ वटा उद्योग छन् तर अधिकांश उद्योगको अवस्था त्यस्तै रहेको छ । अहिले २-३ वटा उद्योगहरू बाहेक अन्य सबै उद्योगहरू उत्पादन नगर्ने मनसायमा छन्,' उनले भने ।

जिल्लामा अहिले करिब ८ करोड गोटा मात्र इँटा मौज्दात रहेका छन् । यस पटक रुपन्देहीको हिरो इँटा उद्योग, एभरेष्ट इँटा उद्योग र जेएम इँटा उद्योगले मात्र उत्पादनका लागि तयारी गरेका छन् । चार महिना काम गरेर वर्ष दिन व्यवसाय गर्ने उधाेगीहरू भने अहिले दुविधामा छन् ।

'देशको आर्थिक मन्दीको कारण अहिले आर्थिक क्षेत्र चलायमान हुन सकेको छैन, जसले माग घटाएको छ,' संघका अध्यक्ष गुप्ताले भने । उद्योगहरू धराशायी बनेको अवस्थामा बैंक ब्याज तिर्न नसकेको उनको भनाइ छ ।

'सरकारले निर्माण व्यवसायीहरूको रकम भुक्तानी नगरेको कारण बिक्री भएको रकम पनि असुल हुन सकेको छैन । यस्तो अवस्थामा मूल्य अभिवृद्धि कर लगायत बुझाउन सकिएको छैन, नतिजा त्यहाँ पनि हर्जाना बुझाउनु परेको छ,' गुप्ताले भने, 'यस्तो अवस्थामा स्थानीय तहहरूले माटो लगायतमा पनि रोयल्टी बढाएको छ, यस्तै भए हामी कसरी उद्योग चलाउने ?'

उनले अहिलेको अवस्थामा सरकारले मूल्य अभिवृद्धि करमा लाग्ने हर्जाना तथा स्थानीय तहहरूले बढाएको विभिन्न कर हटाइदिन आग्रह समेत गरे ।

संघका महासचिव दीपक पौडेलले भएको मौज्दात इँटाहरू बैंकहरूको दबाबका कारण सस्तोमै बेच्नु परिरहेको बताए । उनले भने, '८ देखि १० वटा इँटा उद्योगहरू लिलामीमा चढेको अवस्था छ ।'

रुपन्देहीमा उत्पादन हुने इँटा पाल्पा, गुल्मी, पोखरा, काठमाडौँलगायत विभिन्न स्थानमा जाने गर्दछ ।

प्रत्येक वस्तुको बीमा हुने गरे पनि सरकारको नीतिका कारण काँचो इँटाको बीमा नहुने हुँदा बर्सेनि करोडौँ रुपैयाँको नोक्सानी बेहोर्दै आएको नेपाल इँटा उद्योग व्यवसायी महासंघका सल्लाहकार हरिप्रसाद अधिकारीको भनाइ छ । व्यवसायीहरूले आफ्नो तरिका अनुसार काँचो इँटा जोगाउन खोजे पनि त्यो लगानी जोगाउनका लागि पर्याप्त हुन नसकेको अधिकारीले बताए ।

व्यवसायीहरूले काँचो इँटाको बीमाबारे प्रदेश र संघीय सरकारलाई पटक-पटक आग्रह गरे पनि यसबारे कुनै ठोस निर्णय नभएकाले व्यवसायी मारमा परिरहेको उनको भनाइ छ । न्युजकारखाना


Author

थप समाचार
x