उद्यम

लगानीको वातावरण सिर्जना गर्ने मुख्य चुनौती कायमै  छ : अध्यक्ष मल्ल

इकागज |
फागुन ६, २०८० आइतबार १३:१४ बजे

फाइल तस्बिर

फागुन - नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकमा लगानीको वातावरण सिर्जना हुन नसक्नु अर्थतन्त्रका लागि मुख्य चुनौती भएको बताएका छन् । लगानी योग्य रकम अधिक तरलता  हुँदा समेत लगानी हुन नसक्नु र व्यापार व्यवसाय फस्टाउन नसक्नु आर्थिक समृद्धिका लागि बाधक रहेको अध्यक्ष मल्लले बताए । 

राष्ट्रिय व्यापार संघको साधारणसभालाई सम्वोधन गर्दै अध्यक्ष मल्लले भने, ‘बैंक वित्तीय संस्थामा झण्डै ५ खर्ब रुपैयाँ लगानीयोग्य रकम थुप्रिएर बसेको छ, सरकारले पुँजीगत खर्च गर्न सकेको छैन । अधिक तरलता भएर पनि लगानीको वातावरण बन्न सकेको छैन, ।’


सरकारको पूँजीगत खर्च अपेक्षा अनुसारको हुन सकेको भए अर्थतन्त्र चलायमान हुने अध्यक्ष मल्लले बताए । बैंक वित्तीय संस्थामा उच्च ब्याजदरकै कारण लगानी आकर्षित हुन नसकेको अध्यक्ष मल्लको भनाई छ । अर्थतन्त्रको बाह्य सूचकमा सुधारका केही संकेत देखिएपनि आन्तरिक तर्फ सुधार हुन नसकेको भन्दै उनले पुँजी चलायमान बनाउने गरी आर्थिक र वित्तीय नीति पुनरावलोकन हुनुपर्नेमा जोड दिए । 

पूँजीगत खर्च समयमै हुने गरी समयवद्ध तालिका निर्धारण गर्नुपर्ने अध्यक्ष मल्लले बताए । उनले भने, ‘चालु आर्थिक वर्षको ७ महिना पुरा भइसक्दा समेत विकास खर्च २१ प्रतिशतमा सीमित छ । शुरूमा महत्वकांक्षी बजेट ल्याउने खर्च गर्न नसकेपछि संशोधन गर्ने परिपाटीलाई अन्त्य गरिनुपर्दछ, ।’

साना तथा मध्यमखाले उद्योग व्यवसायमा ऋण विस्तार गर्ने गरी राष्ट्रबैँकले वित्तीय नीति ल्याउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । ‘आन्तरिक उत्पादन हुन नसक्दा व्यापार घाटा ‘चालु आर्थिक वर्षमा ६ खर्ब ९३ अर्ब रुपैयाँ पुगिसकेको छ, अध्यक्ष मल्लले भने, मुलुकको विद्यमान व्यापार घाटालाई कम गर्नका लागि कृषि, ऊर्जा, पर्यटन र सूचना प्रविधि क्षेत्रमा लगानी विस्तार हुने गरी वित्तीय नीति अवलम्वन गर्न आवश्यक छ, ।’

उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गर्न सकिए बेरोजगारी दरलाई केही हदसम्म नियन्त्रण गर्न सकिने अध्यक्ष मल्लले बताए । 


Author

थप समाचार
x