वातावरण

बाघले मान्छे मारेका स्थानमा पुनः बाघ देखिएपछि स्वचालित क्यामेरा जडान

इकागज |
बैशाख २१, २०८० बिहीबार १०:४२ बजे

कैलाली - मान्छे मारेको क्षेत्रमा पुनः बाघ देखिएपछि नेपाल-भारतको वन सीमा क्षेत्रमा स्वचालित क्यामेरा जडान गरिएको छ । कंचनपुरको बेलौरी नगरपालिका–८ पचुईँ क्षेत्रमा बाघ निगरानीका लागि ६ वटा स्वचालित क्यामेरा जडान गरिएको हो। 

राष्ट्रिय प्राकृतिक संरक्षण कोष र शुक्लाफाटा राष्ट्रिय निकुञ्जको सहयोगमा डिभिजन वन कार्यालय कञ्चनपुरले बेलौरीको पचुईँ क्षेत्रमा बाघको निगरानी बढाउन ६ वटा स्वचालित क्यामेरा जडान गरिएको डिभिजन वन कार्यालय कंचनपुर अन्तर्गत कुण्डा सब डिभिजन वन कार्यालयका बन अधिकृत दिनेश कुमार यादवले बताए ।


बाघ अझैपनी उक्त क्षेत्रमा देखिएको भन्दै वन अधिकृत यावदले जंगल क्षेत्रमा नजान र जंगल नजिकै रहेको खेतबारीमा जादा समेत सावधानी अपनाउन आग्रह गरे । 

बैशाख ८ गते घाँस काट्न गएकी बेलौरी नगरपालिका–८ पचुईकी गंगा चन्दको बाघको आक्रमणबाट मृत्यु भएको थियो। सो क्षेत्र नजिक घाँसपात काट्न जान र खेतीपाती भित्र्याउन समेत त्रास भएको स्थानीयले बताएका छन ।


Author

थप समाचार
x