वातावरण

जलवायुले पारेको असर बुझ्न उपसभामुख र न्यायाधीशको टोली फोक्सुण्डोमा

इकागज |
बैशाख २४, २०८० आइतबार ७:५४ बजे

डोल्पा- उपसभामुख इन्दिरा रानामगर, सर्वोच्च अदालतका न्यायधीश सपना प्रधान मल्ल्सहितको टोली जलवायु परिवर्तनले स्थानीयमा पारेको असर बुझ्न डोल्पाको फोक्सुण्डो क्षेत्रमा पुगेको छ । 

सदरमुकाम दुनै हुँदै माथिल्लो भेग फोक्सुण्डो ताल क्षेत्र पुगेर टोलीले स्थानीयसँग भेटघाट र अन्तरक्रिया गरी त्यहाँको समस्या केलाएको छ । से फोक्सुण्डो गाउँपालिकाका पदाधिकारी, स्थानीय समुदायबीच भएको अन्तरक्रियामा बोल्दै उपसभामुख रानामगरले जलवायु परिवर्तनले बाढी पहिरो गएको, कृषि र पर्यटनमा प्रत्यक्ष असर पुर्याएको तर स्थानीयवासीलाई त्यसबारे पर्याप्त जानकारी नभएको बताइन् । 


यो भेगमा जलवायु परिवर्तनले जनजीवनमा ठूलो समस्या छ । प्रकृतिको संरक्षण हुन सकेको छैन । त्यसले पर्यटनलाई प्रभावित बनाएको छ । यसलाई रोक्न सबै मिलिजुली सहकार्य गर्नुपर्छ, वातवरणीय न्यायको क्षेत्रमा काम गर्दै आएको साथसाथै फाउण्डेशनले शुक्रबार फोक्सुण्डो ताल परिसरमा आयोजना गरेको कार्यक्रममा रानामगरले भनिन् । 

कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले प्रकृतिको संरक्षित हुने अधिकार रहेको र नेपालको अदालतले यसबारे विभिन्न निर्णय गरेको जानकारी गराइन् । 

प्रकृतिको पनि आत्मसम्मान हुन्छ । त्यहाँका समुदाय, जातजातिको भावना अनुसार संरक्षित हुने अधिकार हुन्छ । यो विषय पनि जलवायु न्याय सँग जोडिएको छ, नेपालको हिमाल, ताल जोगाउनु नेपालीका लागि मात्र नभै विश्व समुदायको लागि आवश्यक भन्दै न्यायाधीश मल्लले सरकारले विशेष रुपमा यसतर्फ ध्यान दिनुपर्ने बताइन् । 

राष्टिय सभाका सांसद एवं पूर्व परराष्ट मन्त्री डा.विमला राई पौडेलले डोल्पा यात्राबाट जलवायु परिवर्तनले फोक्सुण्डोसहितका क्षेत्रमा परेको प्रत्यक्ष असर बुझ्ने अवसर मिलेको भन्दै अब न्यायका लागि संसदबाट आवाज बुलन्द गर्ने बताइन् । 

से फुक्सुण्डो गाउँपालिकाका अध्यक्ष दावा सन्दुक गुरुंग, सोही गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष निमा लामासहितले केन्द्रबाट गएको टोलीले ताल संरक्षण गर्नुपर्ने, जग्गाको मुआब्जा पाउनुपर्ने, पदयात्रा व्यवस्थित बनाउनुपर्ने,  पहिरोलगायत जोखिम न्यूनीकरणमा राज्यले ध्यान दिनुपर्नेलगायतको माग सहित ज्ञापनपत्र पेस गरेको थियो ।

वन मन्त्रालय,  से फुक्सुण्डो गाउँपालिका, नेपाल टेलिकम, नेपाल, दूरसञ्चार प्राधिकरण, केटिके बेल्ट, ढब्लुडब्लुएफसहितको सहकार्य र समन्वयमा भएको उक्त कार्यक्रममा स्थानीय वासीले जलवायु परिवर्तनका असर र समस्या राखेका थिए ।

आयोजक साथसाथैका अध्यक्ष प्रजिता कार्कीले स्थानीय जनताले भोग्नुपरेका समस्यालाई सुझावका रुपमा लिई सरोकारवाला निकायको ध्यानाकर्षण गराउने र यस्ता कार्यक्रमलाई निरन्तरता दिने समेत बताइन् । 


Author

थप समाचार
x