वातावरण

कालीगण्डकी र म्याग्दीमा फोहोर फाल्नेलाई जरिवाना

इकागज |
साउन १६, २०८० मंगलबार १६:११ बजे

फाइल फोटो

 म्याग्दी - बेनी नगरपालिका–७ स्थित कालीगण्डकी र म्याग्दी नदी तथा सार्वजनिकस्थलमा फोहोर फाल्नेलाई जरिवाना तिराउन थालिएको छ । सात नं वडा कार्यालयले वडा भेलाबाट भएको निर्णयअनुसार खोलामा फोहोर फाल्नेलाई जरिवाना तिराउने नियम बनाएको हो । जिल्ला सदरमुकाम रहेको बेनी बजारको उक्त वडा भएर बग्ने म्याग्दी र कालीगण्डकी नदीको दोभान पनि छ । 

धार्मिक एवम् पर्यटकीय महत्वको कालीगण्डकी र म्याग्दी नदीको जैविक विविधता संरक्षण एवम् प्रदूषण न्यूनीकरण गर्न फोहोर फाल्नेलाई जरिवाना तिराउने नियम बनाइएको वडाध्यक्ष रमेश श्रेष्ठले जानकारी दिए । “नगरपालिकाले घरघरमा गाडी पठाएर कुहिने र नकुहिने फोहोर विभाजन गरेर संकलन गर्ने व्यवस्था मिलाए पनि अटेरी गरेर खोलामा फोहोर फाल्ने समस्या रहेकाले त्यसलाई हटाउन वडा भेलाबाट जरिवाना तिराउने नियम बनाएका हौ,” उनले भने,  “फोहोर फाल्ने व्यक्ति र सम्बन्धित घरधनीलाई जरिवाना तथा सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरेका छौँ ।” 


फोहोर फाल्ने भाडावालालाई पहिलोपटक  रु एक हजार र दोस्रो पटक  रु दुई हजार, घरधनीलाई पहिलो पटक रु दुई हजार र दोस्रो पटक रु चार हजार जरिवाना तोकिएको छ । तेस्रो पटक पनि फोहोर फालेको भेटिएमा घरधनीलाई छ महिना वडाले दिने सुविधा रोक्का राख्ने नियम बनाएर बेनी बजारको सार्वजनिक स्थलमा टाँसिएको छ । 

सूचना दिने व्यक्तिलाई जरिवानाको ५० प्रतिशत रकम पुरस्कार दिने पनि व्यवस्था मिलाइएको छ । हिन्दू धर्मावलम्बीहरुले भगवान् विष्णुका रूपमा पूजा गर्ने शालग्रामको शिला पाइने विश्वको एकमात्र कालीगण्डकी नदीमा सिधै फोहोर फालिँदा प्रदूषणको चपेटामा पर्दै आएको थियो । 

कालीगण्डकी नदीमा स्नान गर्ने भक्तजन तथा जलयात्रा गर्ने पर्यटकहरु फोहोर तथा प्रदूषणका कारण पीडित भएका थिए । वडा कार्यालयले बर्खामा कालीगण्डकी र म्याग्दी नदीले बगाएर ल्याउने दाउरा संकलन गरी विपन्न परिवारको दाहसंस्कारमा निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाएको छ । रासस


Author

थप समाचार
x