वातावरण

निकुञ्जले अतिक्रमण गरी बनाएका २२ टहरा हटायो

इकागज |
असोज ३, २०८० बुधबार १६:३१ बजे

फाइल फोटो

चितवन - चितवन राष्ट्रिय निकुञ्जले अतिक्रमण गरी बनाइएका २२ टहरा भत्काएको छ । माडी नगरपालिका– ९ स्थित कुसुमखोलामा नेपाली सेना र निकुञ्जका कर्मचारीले हात्ती समेतको प्रयोग गरी टहरा भत्काएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार हात्तीसहित पुगेका सेना र निकुञ्जका कर्मचारीले ती टहरा भत्काएका हुन् । पहिलेदेखि नै सोही ठाउँमा रहेका काजीमान प्रजाको एउटा घरटहरा भने निकुञ्जले भत्काएको छैन । 


मध्यवर्ती क्षेत्रको जंगल अतिक्रमण गरेर विभिन्न ठाउँबाट आएका व्यक्ति बसोबास गर्ने क्रम बढ्दै गएको र उनीहरुलाई घरटहरा नबनाउन पटकपटक आग्रह गर्दासमेत नरोकिएपछि बाध्य भएर भत्काउनु परेको तिवारीले बताए । टहरा निर्माण गरी वरपरको क्षेत्रमा खेतीपातीसमेत गर्न थालेको उनको भनाइ छ ।

विगतका वर्षहरुमा पनि टहरा बनाउने कार्य भएपछि निकुञ्जले पटक–पटक भत्काउँदै आएको थियो । कुसुमखोलामा चितवन र मकवानपुरका विभिन्न स्थानबाट आएका चेपाङ परिवारहरुले टहरा बनाएको तिवारीले जानकारी दिए । अन्यत्र घर भएकाहरुले समेत टहरा बनाएको उनको भनाइ छ ।  रासस


Author

थप समाचार
x