वातावरण

रेडपान्डा जोगाउन कुकुर–बिरालोलाई रेबिजविरुद्धको खोप

इकागज |
असोज ११, २०८० बिहीबार १८:५ बजे

फाइल फोटो

फुङ्लिङ - विश्वमै दुर्लभ वन्यजन्तुको सूचीमा रहेको रेडपान्डा संरक्षण गर्न ताप्लेजुङमा कुकुर र बिरलालाई रेबिजविरुद्धको खोप लगाएका छन् । कुकुर र बिरालोको आक्रमणका कारण दुर्लभ रेडपान्डाको अस्तित्व थप संकटमा पर्दै गएपछि हिमाली संरक्षण मञ्च ताप्लेजुङले कुकुर नियन्त्रण गर्नका लागि खोप, भिटामिन र बन्ध्याकरण अभियान प्रत्येक वर्ष सञ्चालन गर्दै आएको छ ।

रेडपाण्डा बासस्थान नजिकै रहेको बस्तीमा रहेका कुकुरको आक्रमणबाट रेडपान्डा असुरक्षित बन्दै गएको पाइएपछि कुकुर र बिरालोलाई रेबिजविरुद्धको खोप, भिटामिन र बन्ध्याकरण अभियान थालिएको हिमाली संरक्षण मञ्चले जनाएको छ । रेडपान्डा पाइने क्षेत्र वा बासस्थान नजिकका गाउँघरमा रहेका घरपालुवा तथा सामुदायिक कुकुरबाट रेडपान्डामाथि आक्रमण हुने गरेको छ ।


रेडपान्डाको संरक्षणमा क्रियाशील संस्थाहरू रेडपान्डा नेटवर्कको आर्थिक सहयोगमा हिमाली संरक्षण मञ्चले कुकुरको बन्ध्याकरण अभियान विगतदेखि नै गर्दै आएको हिमाली संरक्षण मञ्चका सचिव विवश केदेमले बताए । 

रेडपान्डाको संरक्षण गर्नलाई कुकुर नियन्त्रण गर्न आवश्यक देखिएपछि स्थानीय तहसँग समन्वय गरेर विगत छ वर्षअघिदेखि नै बन्ध्याकरण अभियान थालेको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए । रेडपान्डा नेटवर्कको आर्थिक सहयोगमा सुरु गरिएको अभियानअन्तर्गत हालसम्म करिब ८५ वटा कुकुरको बन्ध्याकरण गरिएको राईले बताए । 

बन्ध्याकरणसँगै कुकुरलाई रेबिजविरुद्ध खोप र भिटामिन पनि खुवाउन थालिएको छ । कुकुरलाई दिइने खोप र भिटामिनले पनि रेडपान्डा संरक्षणमा सघाउ पुग्ने मञ्चले जनाएको छ । कार्यक्रम संयोजक राईका अनुसार कुकुरको शरीर स्वस्थ भई मोटाउने र भद्दा हुने भएपछि सिकार गर्न नरुचाउने हुँदा रेडपान्डा संरक्षणमा सहयोग पुग्नेछ । रेडपान्डा पाइने नजिक क्षेत्रका गाउँमा रहेका कुकुर र बिरालोसमेतलाई रेबिजविरुद्धको खोप लगाउनका साथै भिटामिन खुवाउन थालिएको राईले बताए । 

राईका अनुसार गत सातामात्र पाथीभरा याङ्वरक गाउँपालिका–२ थेचम्बु २० र ३ तिरिङ्गेमा ६८, सिरिजङ्गा गाउँपालिका–३ सिकैँचागाउँमा एक सय ११ कुकुरलाई रेबिजविरुद्धको खोप लगाएको छ । फुङ्लिङ नगरपालिका–९ बुङकुलुङ गाउँमा ५१, वडा नं १० फुरुम्बो एक सय १३ र वडा नं ११ फावाखोलामा ७१ वटा कुकुरलाई खोप र भिटामिन दिएको मञ्चले जनाएको छ ।

गत साता सम्पन्न भएको अभियानमा मात्र चार सय १४ वटा कुकुर ३७ वटा बिरालोलाई रेबिजविरुद्ध खोप र भिटामिन उपलब्ध गराइएको छ । उक्त क्षेत्रमा केही बिरालोलाई पनि रेबिजविरुद्ध खोप लगाएको र भिटामिन खुवाएको मञ्चले जनाएको छ । राईका अनुसार रेबिजविरुद्ध खोप लगाएको र भिटामिन खुवाएका अधिकांश कुकुर घरपालुवा छन् भने केही सामुदायिक कुकुर छन् । गत वर्ष चार सय १४ वटा कुकुर, १९ वटा बिरालोलाई रेबिजविरुद्ध खोप र भिटामिन उपलब्ध गराइएको थियो । हिमाली मञ्चले संकलन गरेको तथ्यांकानुसार ताप्लेजुङमा करिब एक सय ३४ रेडपान्डा रहेको अनुमान छ ।
रासस


Author

थप समाचार
x